सडक दुर्घटनामा सजगता

अन‌ि यो पनि

–सन्तोष पन्त

सडक दुर्घटना भन्नेबित्तिकै प्रायः सबैको आङ सिरिङ्ग हुन्छ । कति क्षति हुने भन्ने यकिन नभएको र ज्यानै जाने, अङ्गभङ्ग हुने वा सामान्य घाइते हुने आदि जे पनि हुन सक्ने भएकोले सडक दुर्घटनाको खबर सुन्नासाथ मान्छे प्रायः आत्तिने गर्छ । कहिलेकाहीँ दुर्घटनामा पर्ने पीडितलाई केही नहुँदा पनि बेहोस हुने वा अत्यधिक चोट लाग्दा पनि एकछिन केही नभएको जस्तो गरी अस्वाभाविक व्यवहार देखाउने गरेका घटनाहरु पनि देखिन्छन् । कहीँकतै त दुर्घटनाको खबरले मात्र पनि परिवार वा नजिकका व्यक्तिमाथि अर्को घटना घटाएको पनि सुनिन्छ । तसर्थ, सडक दुर्घटनाबाट बच्न र बचाउनका लागि चाहिने सजगता आफ्नो ठाउँमा मह¤वपूर्ण त छ नै, त्यसका अतिरिक्त दुर्घटनाको खबर गर्दा, जानकारी गराउँदा, समाचार सम्प्रेषण गर्दा र सबुद संकलन तथा यथार्थ चित्रण नभएसम्म दुर्घटनास्थलको सुरक्षाका लागिसमेत सबैले सजगता अपनाउनुपर्ने हुन्छ ।

विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको तथ्याङ्कअनुसार विश्वमा प्रतिवर्ष करिब १३ लाख ५० हजार मानिसले सवारी दुर्घटनाबाट ज्यान गुमाएको देखिन्छ भने करिब ५ करोड मानिस घाइते भई कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशतले असर गरेको बताइएको छ । नेपालमा पनि सडक दुर्घटनाका कारण प्रतिवर्ष करिब ३ हजार जना मानिसको मृत्यु हुने गरेको छ भने १५ हजारजति मानिस घाइते भएको तथ्याङ्क रहेको छ । चितवन जिल्लाको मात्र कुरा गर्ने हो भने पनि प्रत्येक वर्ष करिब १५० जना मानिसको मृत्यु हुने र ५०० भन्दा बढी घाइते हुने गरेका छन् । बढ्दो अवैज्ञानिक सडक सञ्जाल र अनियन्त्रित तथा अव्यवस्थित सवारीको चापका कारण प्रत्येक वर्ष सडक दुर्र्घटना र घाइतेको संख्या बढ्दो दरमा छ । सडक दुर्घटना न्यूनीकरण गर्दै जनधनको क्षति हुन÷गर्न नदिन तयार गर्नुपर्ने पूर्वाधारहरु र अवलम्बन गर्नुपर्ने विभिन्न मापदण्डहरुको पालना क्रमशः सरकारको प्राथमिकतामा सुरक्षित सडक परी सडक प्रयोगकर्ताहरुको मानसिकतामा सकारात्मक विकास तथा सडकमा स्वअनुशासन पालना भएसँगै विकास हुँदै जाला, तर दुर्घटना भइहालेमा पनि सही सजाय र क्षतिपूर्तिसहितको न्यायका लागि सम्बद्ध सबैले संयमित भई आवश्यक सजगता अपनाउनुपर्छ ।

हाम्रो नजिकमा भएका अधिकांश सडक दुर्घटनाका दुर्घटनास्थलको अवलोकन गर्दा यस्तो भएको भए दुर्घटना टर्न सक्थ्यो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । दुर्घटनापछि सम्बन्धित चालकसँग औपचारिक तथा अनौपचारिक कुराकानी गर्दा अधिकांश चालकले आफ्ना कमजोरीलाई लुकाउने र अर्काको मात्र कमजोरी देखाउने गरेको भएता पनि केही चालकले यस्तो भएको भए दुर्घटना हुने थिएन, यत्रो क्षति हुने थिएन भन्ने गरेको पाइन्छ । करिब ६० प्रतिशतभन्दा बढी दुर्घटना चालकले सावधानी अपनाएका खण्डमा टर्ने देखिएको छ । तसर्थ, दुर्घटना भएपछि के गर्ने भन्नेभन्दा पनि दुर्घटना हुनै नदिन के गर्ने र के–के गर्न सकिन्छ भन्नेसम्बन्धमा सबैले बुझ्नु र सडकको प्रयोग गर्दा व्यवहारमा उतार्न आवश्यक छ । सबै उपाय तथा सजगता अपनाउँदाअपनाउँदै पनि हुन गएको दुर्घटनामा को पीडित हो र को पीडक हो ? दुर्घटना कसरी हुन गयो ? भन्नेसम्बन्धमा सबैले यथार्थ जानकारी पाउनुपर्छ भने पीडितले क्षतिपूर्तिसहितको न्याय र पीडकले कानुनबमोजिमको सजाय पाउनु त कानुनी राज्यको आधारभूत पक्ष नै हुन् ।

कुनै सवारीले कुनै दुर्घटना गरी मानिसको जीउज्यानमा कुनै किसिमको खतरा वा चोटपटक पर्न गएको रहेछ भने सो सवारीको चालक, परिचालक, सुरक्षाकर्मी वा सो सवारीमा काम गर्ने अन्य कर्मचारीले त्यस्तो मानिसको उपचारका लागि तुरून्त आवश्यक व्यवस्था गर्नुपर्छ । दुर्घटनास्थलमा कुनै प्रहरी नभएमा चालकले तुरून्त सो दुर्घटनाको जानकारी तथा विवरण नजिकको प्रहरी कार्यालयलाई दिनुपर्छ र प्रहरीले दुर्घटनाका सम्बन्धमा सम्बन्धित सवारी चालकसँग कुनै कुराको सोधपुछ गरेमा निजले सोधिएको सबै बताउनुपर्छ भनी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३३ मा दुर्घटना भएमा चालकको कर्तव्य भनी स्पष्ट उल्लेख गरेकोले प्रत्येक चालकले आफूले दुर्घटनास्थलबाट नभागेमा आफुमाथि आक्रमण भई आफ्नो ज्यानै जान सक्ने अवस्थाको सृजना भएकोेमा बाहेक दुर्घटनास्थल छोडेर भाग्नुहुँदैन । भाग्नैपर्ने अवस्थामा पनि यथाशीघ्र नजिकको प्रहरी कार्यालयमा पुगी घटनाको यथार्थ जानकारी गराउनुपर्छ ।

यसका अतिरिक्त सडक दुर्घटना भएपश्चात् चालकले मौसम कस्तो थियो, प्रकाशको अवस्था कस्तो थियो ? सडक चिप्लो, भिजेको थियो/थिएन, म आफ्नो लेनमा छु वा छैन, लेनमा पनि कुन भागमा छु, मेरो सवारीको गति कति थियो र म कुन गियरमा थिएँ, मैले सडक दुर्घटना हुने सम्भावनाको आँकलन कतिखेर गरेँ र दुर्घटनाबाट जोगाउनका लागि मैले के–के गरेँ, त्यस्तो के कारण प¥यो र आफू सडक दुर्घटनामा सहभागी भइयो भन्ने कुरामा समेत स्पष्ट हुनुपर्छ । सडक दुर्घटनाका कारण मानिस वा जनावर सवारीले च्यापिएको वा तत्कालै सवारी नहटाउँदा थप जनधनको क्षति हुन सक्ने अवस्थामा बाहेक सवारीलाई यथास्थानमा छोडी नजिकको प्रहरीलाई सूचना गर्नुपर्छ । घटनास्थलबाट सवारी हटाउनु परेको अवस्थामा सवारीको अवस्था र अवस्थिति स्पष्ट देखिने गरी यथासम्भव फोटो खिची स्थानीयस्तरमा पाइने कुनै चिन्ह वा संकेत सडकमा राखेर, कोरेर प्रहरी नआउञ्जेल यताउति सर्न नपाउने गरी व्यवस्थित गर्न सके अनुसन्धानमा सहयोग पुग्छ ।

सडक दुर्घटनाका कारण मानिस घाइते भएमा तत्कालै उद्धार गर्न, अस्पताल पठाउन जो जे गर्नुपर्छ, आमसर्वसाधारण सबैले गर्नुपर्छ तर तत्कालै नगरेर पनि हुने कार्य गर्न÷गराउन भने हुँदैन । प्रहरीले घटनास्थलको मुचुल्का तथा रेखा चित्रण नगर्दासम्म दुर्घटनामा संलग्न सवारीसाधन, सवारीले ब्रेक लगाउँदा सडकमा सवारीको टायर घिस्रेर बनेका चिन्हहरु, सवारीका फुटेका सिसा, मानिसको रगत बगेको भए उक्त रगत, सवारी ठोक्किँदा सवारीको केही भाग चोइटिएको भए सो भाग, सवारीको रंग कुनै स्थान वा वस्तुमा लागेको भए सो रंग आदि सबै सुरक्षित गरी राख्नुपर्छ । दुर्घटनामा संलग्न सवारी नहटाउँदा सवारी आवागमन अवरूद्ध हुने तर हटाउँदा दुर्घटनाको नाप जाँच फरक पर्ने, सबुद नष्ट हुने भएमा केही समय आवागमन अवरूद्ध भए पनि सवारी हटाउन हुँदैन, बरू प्रहरी आउने बाटो नै ब्लक हुने गरी सवारी नरोकी एक लेनमा लामबद्ध भएर बस्नुपर्छ । किनभने, सवारी दुर्घटनाग्रस्त भई कुनै मानिस, जनावर वा सम्पत्तिको हानिनोक्सानी भएकोमा चालकले सवारी रोक्नुपर्ने भनी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को १३२ मा स्पष्ट व्यवस्थासमेत छ ।

सडक दुर्घटना अनुसन्धानको मह¤वपूर्ण पक्ष घटनास्थल, चालक र साक्षी हुन् । प्रहरी घटनास्थलमा नआइपुगुञ्जेलसम्म उद्धारका लागिबाहेक दुर्घटनास्थलमा कोही पनि प्रवेश नगरी सबुद हुन सक्ने सम्भावित इलाकाभन्दा बाहिर बस्नुपर्छ भने फोटो वा भिडियो लिँदा पनि सुरक्षित दूरीबाटै लिनुपर्छ । अनधिकृत मानिसको घटनास्थलमा प्रवेश नहोस् भन्नका खातिर घटनास्थललाई सम्बन्धित स्थानमा पाइने चीजवस्तुले छेका लगाई घटनास्थलको सुरक्षित इलाका छुट्टयाएर राख्न सकिन्छ, तर घटनास्थलभित्रका प्रमाण बन्न सक्ने चीजवस्तुलाई छुन वा उठाउन हुँदैन ।

सडक सञ्जाल पुगेको इलाकामा अहिले प्रहरीसँग पनि सवारीसाधन छ, कुनै पनि घटना, दुर्घटनाको जानकारी पाउनासाथ यथाशीघ्र घटनास्थलमा पुग्नु प्रहरीको कर्तव्य हो भन्ने कुरामा जानकार छ नेपाल प्रहरी । नेपाल प्रहरीको आधारभूत तालिममै घटना दुर्घटनाको जानकारी पाउनासाथ घटनाको प्रकृति हेरेर तयार गर्नुपर्ने जनशक्ति तथा औजारहरु तयार गर्दा केही समय लाग्न सक्छ भनेर पहिला उपस्थितिका लागिमात्र भए पनि एक÷दुई जना प्रहरी कर्मचारी खटाई पठाउने र उक्त टोलीले जतिसक्दो छिटो घटनास्थलमा पुगेर सुरक्षा गर्दै यथार्थ विवरण जानकारी गराउने भन्ने सिकाउने गरिन्छ र व्यवहारमा पनि त्यसै हुन्छ । सडक दुर्घटनाको अनुसन्धान गर्ने प्रहरीले घटनास्थलको रेखा चित्रण गर्छ भने घटनामा चालकको मनसाय थियो, लापर्बाही थियो, हेलचेक्र्याइँ थियो वा दुर्घटना हो भन्ने कुराको यकिन गर्छ ।

तसर्थ घटनास्थलमा प्रहरी पुगेपछि सचेत नागरिकहरुले सुरक्षित घटनास्थल प्रहरीलाई जिम्मा लगाई आफूले देखेका कुराहरु यथार्थ भनिदिनुपर्छ । घटनास्थलको अनुसन्धान गर्ने प्रहरी टोली दुर्घटनास्थलमा पुगेपछि दुर्घटनास्थलको नाप जाँच गर्छ, भौतिक सबुदहरु संकलन गर्छ, घटनास्थलमा उपस्थित भएका मानिसहरुसँग बुझ्ने तथा घटना विवरण कागजसमेत गर्न सक्छ । यस्तो समयमा आफूले देखेका कुरा प्रहरीलाई भन्ने र आवश्यक परेमा कागजसमेत गरी कानुनी कार्यविधि कार्यान्वयनमा सहयोग गर्नु नागरिक कर्तव्य हो ।

त्यसका अतिरिक्त सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १२९ मा कुनै सवारी दुर्घटनामा परी हताहत वा घाइते भएका यात्री तथा सवारीमा काम गर्ने कुनै व्यक्तिलाई पिट्न वा तिनीहरुको मालसामानको हिनामिना गर्न, खोस्न वा तिनीहरुलाई कुनै पनि किसिमले हानिनोक्सानी पु¥याउन हुँदैन भनी उल्लेख गरेकोले सडक दुर्घटनामा संलग्न पीडित, आफन्तजन वा अन्य स्थानीय व्यक्तिहरु यससम्बन्धमा विशेष सजग हुनुपर्छ । आवेशमा आएर चालकलाई आक्रमण गर्ने, सवारीलाई तोडफोड, आगजनी गर्ने, घटनास्थल भताभुङ्ग पार्ने आदि गर्दा सबुद नष्ट भई अनुसन्धानले सही दिशा लिन सक्दैन । जसका कारण चालकको मनसाय, लापर्बाही, हेलचेक्र्याइँ वा दुर्घटना के हो ? त्यो पत्ता लाग्दैन र कानुनबमोजिमको सजायको कारबाहीसमेत हुँदैन । तसर्थ, समग्र सडक प्रयोगकर्ता सडक दुर्घटना हुनुुअघि सुरक्षाका लागि र दुर्घटनापश्चात् सफल अनुसन्धानका लागि सजग हुन जरूरी छ ।

(सेवानिवृत्त प्रहरी र हाल लाइसियम स्कुल रत्ननगरका प्रबन्ध निर्देशक)

[email protected]

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया