असारे विकासको पुनरावृत्ति

अन‌ि यो पनि

अहिले असारको पहिलो हप्ता पनि सकिइसकेको छ । गणना गरेर हेर्दा साउन र भदौलाई बर्सादका महिना भनेर परिभाषित गरिएको पाइन्छ । यद्यपि, असारलाई पनि बर्सादको महिनाबाट अलग राखेको भने देखिँदैन । पछिल्ला केही दिनयता बर्सादी ताण्डवले देशका धेरै ठाउँमा बाढीपहिरोहरु आइरहेका छन्, र ठूलो मात्रामा जनधनको समेत क्षति भैरहेको छ । मनसुन सुरू भैसकेको छ, र पनि हतारहतार बजेट सक्न विकासका कामहरु तीव्ररुपमा अघि बढाइएका छन् । हाल मानिसको दोहन गर्ने प्रवृत्तिका कारण प्रकृतिमाथि निरन्तर हस्तक्षेप भैरहेको छ, जसका कारण प्रकृतिले बेलाबेलामा रौद्र रुप देखाउने अवसरसमेत पाउँछ । यस्तो परिस्थितिमा धमाधम असारे विकासको प्रवृत्ति देशमा मञ्चन भैरहनुले पक्कै पनि शुभ सङ्केत गर्दैन । हाल ठाउँठाउँका सडकहरु रातारात बनाएर कालोपत्रे गर्ने हतारो देखिन्छ भने पुलपुलेसाहरुमा समेत धमाधम काम भैरहेको अवस्था छ । अन्य भौतिक विकासका संरचनाहरुको निर्माणमा समेत प्रतिकूल अवस्था भए पनि अनावश्यक सक्रियता देखिनु अस्वाभाविकमात्रै नभएर एकप्रकारले अनुचित पनि छ ।

साउनदेखि नयाँ आर्थिक वर्षको सुरूवात हुने हुनाले चालू वर्षका लागि अन्तिम महिनामा विकासको नाममा अरबौँको घोटाला गरिएको पाइन्छ । त्यसैको प्रतिफलस्वरुप अरु महिनाभन्दा असारमा आर्थिक चलखेल चाहिँदोभन्दा बढी भएको हो । अरु महिनामा सुस्तरुपमा काम अघि बढ्दा असारमा भने तीव्र गतिमा विकासका कामलाई किन अघि बढाइन्छ ? सोचनीय छ । यसवर्षका लागि विनियोजन गरिएको बजेट सक्न पनि यस्तो प्रवृत्ति हाबी हुनु देशका लागि गम्भीर चिन्ताको विषय हो । हतपतको काम लतपत हुनु स्वाभाविकै हो । जसरी पनि काम सक्ने नियतकै कारण समाज उँभोगति होइन अधोगतितिर गैरहेको छ । देशमा भौतिक सम्पत्तिको ठूलो क्षतिसँगै मानवीय क्षतिसमेतमा प्रायः असारे विकासलाई जिम्मेवार ठान्ने गरिएको छ । बजेट पचाउनकै लागि कमसलरुपमा जथाभावी निर्माण गरिएका भौतिक संरचनाहरु क्षतविक्षत हुँदा प्राकृतिक विपद्जन्य बाढीपहिरो, भूक्षय जाने कुरा अब आम भैसकेको छ ।

‘डोजरे विकास’का नाममा समेत बदनाम रहेको यो प्रवृत्ति असार लागेदेखि नै जोडतोडका साथ चलिरहेको छ । हतारहतार सक्ने नियत राखिएर गरिएको विकास निर्माणको काम दिगोरुपमा कति भरपर्दो र गुणस्तरीय हुन्छ भन्ने सवाल हुँदाहुँदै पनि त्यस सवाललाई अटेर गर्ने प्रवृत्तिकै अहिले बोलबाला छ । चाहे झरी परोस् वा प्राकृतिक विपद्जन्य बाढीपहिरो नै किन नआओस्, तत्कालका लागि काम देखाएर बजेट हसुर्ने मानसिकताको उपचार नुहुनु नै अहिले मूल समस्याको जड बन्दै गैरहेको छ । स्तरीय विकास निर्माणका कामहरुले नै समाजलाई सुविधासम्पन्नरुपले अघि बढाउँछन् भन्ने मान्यतामा निरन्तर असारे विकास प्रवृत्तिले सक्दो प्रहार गरिरहेको छ । यस स्थितिमाथि कतैबाट पनि सम्बोधन हुन नसक्नु निकै विडम्बनापूर्ण लाग्छ । अत्यावश्यकबाहेक दिगो भौतिक पूर्वाधारका लागि केही समयको प्रतीक्षा गरेर कामलाई टुङ्गो लगाउने संस्कार यतिखेरको खाँचो हो, ताकि असारे विकासको नाममा बजेटमाथि ब्रह्मलुट गर्ने नियत र प्रवृत्तिमाथि अङ्कुश लाग्न सकोस् । अब पनि यसबारेमा समयमै नचेत्ने हो भने त्यो प्रवृत्ति हामी सबैका लागि घातक सिद्ध हुने निश्चित छ ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया