नारायणी नदी व्यवस्थापन आयोजना : २४ अर्बको आयोजनालाई २० करोडमात्रै विनियोजन !

अन‌ि यो पनि

–दिपेन्द्र/रामशरण
भरतपुर । नारायणी नदी व्यवस्थापन आयोजनामा आगामी आर्थिक वर्षका लागि १९ करोड बजेट विनियोजन भएको छ । डिपिआरसमेत तयार भई कार्यान्वयनको अवस्थामा रहेको यस आयोजनामा कुल लागत २३ अर्ब ५८ करोड उल्लेख छ । जसमा चितवनतर्फ ९ अर्ब १५ करोड र नवलपरासीतर्फ १४ अर्ब ४३ करोड आवश्यक भनी डिपिआरमा उल्लेख छ ।

तर, चितवन जिल्लातर्फ ३५ किमी काम गर्नुपर्ने ठाउँमा ९ करोड १५ लाख रूपैयाँ बजेट आएको नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख रूक्माङ्गद खनालले बताए । त्यस्तै, नवलपरासीतर्फ ५५ किमीमा काम गर्नका लागि ९ करोड ७५ लाख विनियोजन गरिएको छ । दुवैतर्फको बजेट जोड्दा १९ करोड ९० लाख हुन्छ । तत्काल २९ करोड ८० लाखको काम रहेको उनले बताए ।

आफूले ३ वर्षका लागि ५ अर्बको योजना मन्त्रालयमा पेश गरेको तर बजेट भने नगन्य मात्रामा आउँदा अचम्मित भएको प्रमुख खनालले बताए । केही दिनअघि २ करोड प्राप्त भएको र त्यो पनि गत फागुनमा गरिएको टेन्डरको पैसा रहेको उनको भनाइ छ ।

नारायणी नदी व्यवस्थापनमा बजेट मुख्य विषय भए पनि अन्य सहायक समस्याहरु पनि चोटिलो रहेको प्रमुख खनालले बताए । वर्षमा जम्मा ६ महिना काम हुने, निकुञ्जका कारण नदीजन्य वस्तु प्रयोग गर्न नपाइने र नदीका बीच भागमा रहेका जंगलका टापुहरुको कारण समस्या जटिल रहेको उनको भनाइ छ ।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा जनता तटबन्ध कार्यक्रम ल्याएको बताउँदै पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्डले त्यसपछि पुनः दोस्रोपटक प्रधानमन्त्री हुँदा प्राथमिकता दिएको तर अरु सरकारको पालामा नारायणी नदी व्यवस्थापनको काम बेवास्तामा परेको टिप्पणी गरे । ‘रिङरोडसहितको नदी तटबन्धको डिपिआर बनेको छ’, प्रचण्डले भने, ‘तर नारायणीको जोखिम बढ्दै जाँदा बजेट भने कम हुँदै जानु दुःखद विषय हो ।’

चितवन क्षेत्र नम्बर ३ ‘क’ का प्रदेश सांसद् कृष्ण भूर्तेलले जनताको गुनासो र समस्यालाई बेवास्ता गर्न नहुने बताए । आफूले प्रदेश र केन्द्र सरकारसँग नदी व्यवस्थापनबारे जानकारी गराएको भन्दै ठोस काम नभएको असन्तुष्टि उनले जनाए ।

प्रचण्डको गुनासो

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले चितवनलाई बेवास्ता गरेको गुनासो गरेका छन् । चितवनको विकासप्रति सरकार सकारात्मक नभएको उनको भनाइ छ । चितवनमा विकासका कामहरु भए भने त्यसको फाइदा प्रचण्डलाई हुन्छ भनेर हालको सरकारले कुनै पनि विकासका कामहरु गर्न नदिएको उनले आरोप लगाए ।

पटकपटक विभिन्न समस्याका बारेमा छलफल र जानकारी भए पनि सरकारले अटेर गरेको उनको भनाइ छ । नारायणी नदी कटान क्षेत्रको अवलोकन गर्न चितवन आइपुगेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले भने, ‘सधैँ रात रहिरहन्न, उज्यालो पनि आउँछ ।’ नारायणी नदीमा बाढीबाट हुने कटानको स्थायी समाधानका लागि आफूले पहल गरे पनि सरकारले बेवास्ता गरेको उनको भनाइ छ ।

नेता प्रचण्डले नदीको डुबान तथा कटानको समस्या भएका स्थानहरुमा स्थायी समस्या समाधानका लागि पहल गरिने बताए । नारायणी नदी प्रभावित क्षेत्रको अनुगमन गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले विस्तृत गुरूयोजना बनाएर स्थायी समाधानका लागि काम गर्न पहल गरिरहेको आश्वासन दिएका हुन् ।

समस्या समाधानका लागि अर्थ मन्त्रालयसँग बजेटबारे छलफल भइरहेको उनको भनाइ छ । नारायणी नदीआसपासका क्षेत्रमा बसोवास गर्नेहरुले बर्सेनि कटान र डुबानको समस्या भोग्दै आएका छन् । तर, निर्वाचित जनप्रतिनिधिले भने वर्षैपिच्छे अनुगमन गरेर आश्वासन दिने काममात्रै गर्दै आइरहेका छन् । यसवर्ष असार पहिलो साता आएको बाढीका कारण पश्चिम चितवन क्षेत्र डुबानमा परेको थियो ।

विशेषगरी, बाढीले भरतपुर महानगरपालिकाको वडा नं–३ को दोभान चोक, वडा नं–१६ को झनझने र वडा नं–२६ को सिसैआसपासका क्षेत्रमा करिब २५० घर र एक सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबाएको थियो । सोही क्षेत्रमा केही दिनअघि बागमती प्रदेश सांसद् रीना गुरूङ पनि अनुगमनमा गएकी थिइन् ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया