दिपेन्द्र अधिकारी
भरतपुर । चितवन प्रहरीको त्रिवर्षीय अपराध तालिकाअनुसार गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी संख्यामा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आ.व.०७०÷०७१ मा हालसम्मकै सबैभन्दा बढी संख्यामा मुद्दा दर्ता भएको हो ।
प्रहरीबाट उपलब्ध अपराध तालिकाअनुसार गत आव ०७०÷७१ मा मुद्दा दर्ता संख्या ७४३ रहेको छ । अघिल्लो आव अर्थात् ०६९÷०७० मा यो संख्या ६७४ मात्र रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा १३१ वटा मुद्दा बढी दर्ता भएका छन् । आव ०६८÷०६९ मा भने मुद्दा दर्ता संख्या ६२३ मात्र रहेको थियो ।
त्यस्तै गत आवमा ८५७ जना विभिन्न आपराधिक घटनामा संलग्नहरु पक्राउ परेका छन् । अघिल्लो आवमा ७०७ जना रहेको त्यसअघिको आवमा ६५९ जना आपराधिक वृत्तका मानिस पक्राउ परेका चितवन प्रहरीले जनाएको छ ।
गत आवमा मानव हत्याका १२ वटामात्र मुद्दा दर्ता भएका छन् । अघिल्लो आवमा यो घटनामा दर्ता मुद्दा संख्या १८ रहेको थियो । गत वर्ष मानव हत्यामा संलग्न पाँचजना महिला पक्राउ परेका थिए ।
प्रहरी सक्रियता आधारमा नियन्त्रण गर्न सकिने अपराधहरु जस्तै मानव हत्या र चोरी मुद्दा घटेको पाइएको छ । त्यस्तै सामाजिक रुपमा विकराज समस्याका रुपमा रहेको लुकेको अपराध लागूऔषध कारोवार, केही सार्वजनिक अपराध (केसाअ)भने बढेको छ । त्यस्तै गत वर्ष ४० जना फरार अभियुक्त पक्राउ गरिएको छ ।
गत वर्ष ३०६ वटा केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता भएको छ । त्यसअघि जम्मा १८७ वटा रहेका थिए । ३०६ घटनामा ५१८ जनामाथि कारबाही चलाइएको थियो । अघिल्लो वर्ष ३२१ जनामाथि केसाअ मुद्दा चलाइएको थियो । दुई वर्षको अन्तरमा केसाअसम्बन्धी ११९ मुद्दा बढ्नुका साथै १९७ जना पक्राउ परी कारबाही चलाइएको प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले बताए ।
गत वर्ष सार्वजनिक अपराधअन्तर्गत २५ महिलामाथि कारबाही चलाइएको छ । लागूऔषध कारोवारमा गत आवमा ६४ वटा मुद्दा दर्ता भएको छ । यस मुद्दामा १११ जना पक्राउ परी कारबाही अघि बढेको चितवन प्रहरीले जनाएको छ । अघिल्लो आवमा ३८ वटामात्र मुद्दा दर्ता भएकोमा ६१ जनामाथि मुद्दा चलाइएको थियो । यस अपराधमा तीनजना महिलालाई पनि मुद्दा चलाइएको छ ।
लागूऔषध कारोवारीहरुको साथबाट दुई हजार २७३ एम्पुल डाइजेपाम, दुई हजार ४५९ एम्पुल बु्रफिनर्फिन, एक हजार ४७६ एम्पुल फेनारगन, ६ एम्पुल फेनारमिन, ८.५ ग्राम खैरो हिरोइन, ३३४ किलो गाँजा, ३० किलो चरेस र एक हजार १० ट्याबलेट नाइटोजेपाम बरामद गरिएको प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिए ।
त्यस्तै चोरी सिकारी अनुमानित मूल्य रु.३९ लाख ७५ हजार बराबरको सामान बरामद् गरी राजस्व अनुसन्धान विभाग पथलैया बारामा बुझाइएको कार्कीले बताए । अवैध मदिरा नियन्त्रणतर्फ विभिन्न मितिमा १७ हजार ५ सय लिटर मदिरा बरामद् गरी राजस्व अनुसन्धान कार्यालय चितवनमा बुझाइएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै गत वर्ष १३६ जनाले आत्महत्या गरी ज्यान गुमाएका छन् । जसमा ६८ पुरुष, ५५ महिला, तीन बालक र १० बालिका रहेका छन् । अघिल्लो आवको तुलनामा आत्महत्याको मुद्दा १८ ले बढेको छ । अघिल्लो वर्ष पाँच बालिका र एक बालकले आत्महत्या गरेकोमा गत वर्ष आत्महत्या गरी मर्ने बालक तीनजना र बालिका १० जना रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post