‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

अन‌ि यो पनि

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न नसक्ने सुस्तः श्रवणहरु सहाराविहीन भएका छन्’ भरतपुर १० चितवन माविका प्रधानाध्यापक मुक्तिनाथ लामिछानेले यसो भनिरहँदा उनी भावविह्वल भएका थिए ।

चितवन माविका सुस्तः श्रवण इकाइ प्रमुख भरतपुर–४ निवासी रामजी अधिकारीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएपछि त्यहाँ अध्ययनरत ३२ जना सुस्त श्रवणहरुले अभिभावक गुमेजस्तो महसुस गरेका प्रधानाध्यापक लामिछाने बताउँछन । उनी भन्छन्, ‘सरको निधन भएको खबर जब सुस्तः श्रवण तथा बहिरा बालबालिकाहरुले थाहा पाए, नरुने कोही भएनन् ।’

प्रअ लामिछाने रामजी सरको निधनले चितवन माविअन्तर्गत चलेको सुस्तः श्रवण विद्यार्थीको लागि सञ्चालित संस्था नै बन्द हुने हो कि भन्ने डर लागेको बताउँछन् । ‘सहयोगी दाताहरु खोज्ने, शिक्षकलाई तालिम दिने, सुस्तः श्रवणहरुको स्याहारसुसारदेखि पढाउनेसम्मको सबै भूमिका रामजी सरले गर्नुभएको थियो, ‘उनले भने, ‘रामजी सरको निधनले स्कुललाई ठूलो क्षति भयो, त्यो भन्दा पनि बढी सुस्तः श्रवणहरुको लागि टेक्ने लौरी भाँचियो । वास्तवमा सुस्त श्रवण बालबालिकाका लागि उज्यालो दिने तारा हुनुहुन्थ्यो रामजी सर, कोरोनाले चुँड्यो ।’

चितवन माविद्वारा सञ्चालित सुस्त श्रवणलाई पढाउने त्यो संस्था आज टहुरो भएको स्कुलका अर्का शिक्षक अचुत पौडेलले बताए । उनले भने, ‘३२ जना सुस्त श्रवण विद्यार्थी रामजी सरको निधनबाट अभिभावकविहीनजस्ता भएका छन् ।’

२०४२ सालमा लेखा कर्मचारीको रुपमा चितवन मावि प्रवेश गरेका अधिकारी २०४५ सालमा प्रावि शिक्षकको दरबन्दी पाएका थिए । २०६० सालमा स्थायी शिक्षक भएका थिए । उनी चितवन माविको सुस्त श्रवण विद्यार्थीको स्रोत शिक्षक हुन् । हाल प्रावि द्वितीय श्रेणीमा रहेका अधिकारीको पहलमा चितवन माविमा सुस्तः श्रवण विद्यार्थीलाई पढाउने काम थालिएको हो, उनीहरुलाई खाने, बस्ने सुत्ने आवास भवन बनाइएको हो ।

‘चितवन माविमा मात्र होइन, जिल्लामा यस्ता सुस्त श्रवणलाई पढाउने अहिले सात वटा स्कुल भएका छन्, यसमा पनि उहाँकै योगदान छ । शिक्षकलाई तालिम दिने, स्रोत सामग्री जुटाउने उहाँ नै हो’ प्रअ लामिछानेले भने, ‘चितवनका मुख्य विद्यालयमा सुस्त श्रवण विद्यार्थीलाई पढाउने अभियान लाग्नुभएको थियो, ती सपना उहाँको अधुरो भयो’ प्रअ लामिछानेले भने, ‘हाम्रो संस्था अब कसले धान्ला, ती सुस्तः श्रवणलाई अब कसले पढाउला ? जो पाए त्यसले पढाउन सक्दैनन्, तालिम र विशेष क्षमता चाहिन्छ । चितवन माविको आवासमा २२ जना सुस्त श्रवण छन्, उनीहरुको अभिभावक अब को बन्ला ?

स्काउट शिक्षकसमेत रहेका अधिकारीको चितवन माविलाई उचाइमा पु-याउन ठूलो भूमिका रहेको पूर्वशिक्षक धु्रब पोखरेल बताउँछन् । उनी भन्छन्, ‘बिहानदेखि बेलुकासम्म मात्र होइन,  राति पनि सुस्तः श्रवण विद्यार्थीको हेरचाह र स्याहारसुसारमा लाग्नुहुन्थ्यो । उनीहरुको हेरविचारमा जुट्नुहुन्थ्यो ।

२८ दिनको भरतपुर अस्पतालको उपचारपछि रामजी अधिकारीको ५६ वर्षको उमेरमा कोरोना भाइरसको संक्रमणबाट सोमबार निधन भएको हो । उनी नेपाली कांग्रेस पार्टीमा विद्यार्थी कालदेखि नै आबद्ध भएका हुन् । उनको पार्थिव शरीरमा नेपाली कांग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठले पार्टीको झन्डा ओढाएर अन्तिम श्रञ्द्धान्जली प्रकट गरेका थिए । उनले सञ्चा, कर्मठ, इमान्दार, बफादार कार्यकर्ता पार्टीले गुमाएको बताए ।

ट्रेड युनियन कांग्रेस चितवनका कोषाध्यक्ष, राष्ट्रिय महाधिवेसन प्रतिनिधि, नेपाल शिक्षक संघका जिल्ला हुँदै क्षेत्रीय अध्यक्षसमेत भइसकेका अधिकारीको निधनले पार्टीलाई समेत ठूलो क्षति पुगेको नेपाली कांग्रेस चितवनले जनाएको छ । अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया