भरतपुर । आदिवासी जनजाति समुदायले अर्थपूर्ण सहभागिताको विषयमा वकालत गर्दा एकल जातीय पहिचानको आरोप लगाएको गुनासो गरेका छन् । समावेशीता र समानताको विषयमा आदिवासीले विगत लामो समयदेखि आवाज उठाएको भएपनि त्यसलाई विषयान्तर गरिएको उनीहरुको आरोप छ ।
भरतपुर नगर तामाङ समाज भरतपुरको आयोजना तथा तामाङ सञ्चार समूह चितवनको सहकार्यमा मंगलबारदेखि सुरू भएको उद्घोषण तथा व्यक्तित्व विकास तालिम कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै तामाङ सञ्चार समूहका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जगत दोङ तामाङले उत्पीडित आदिवासी जनजातिको सवालमा क्षेत्री बाहुन समुदायले पनि वकालत नगर्दाको अवस्थासम्म सामाजिक विकास सम्भव नभएको बताए । आदिवासी जनजातिको वास्तविक समस्याहरुलाई बङ्ग्याएर गलत सन्देश प्रचार गरेको भन्दै उनले यस्तो क्रियाकलाप रोक्नु आवश्यक रहेको बताए ।
कार्यक्रमका बोल्दै समाजसेवी आशबहादुर तामाङले सम्पूर्ण आदिवासी जनजातिको राजनीतिक, सामाजिक र आर्थिक अधिकारको स्थापना नभइन्जेलसम्म सामाजिक परिवर्तन असम्भव भएको औंल्याए । साथै उनले धर्मले अनुशासन सिकाउने भएकाले त्यसको संरक्षण र प्रबद्र्धनमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै भरतपुर नगर तामाङ समाजका अध्यक्ष गंगालाल तामाङले विस २०१२÷१३ सालदेखि चितवनमा बसोबास थालेको तामाङ समुदायको चेतनास्तर वृद्धिका लागि अभियानमुखी कार्यक्रम आवश्यक रहेको बताए । उनले सबैभन्दा धेरै कला, संस्कृति तथा परम्परा रहेको तामाङ समुदायको विकास भएको खण्डमा मात्रै सामाजिक बनोट फेरिने बताए ।
२२ जना तामाङ समुदायका युवाहरुको सहभागिता रहेको तालिममा तामाङ सञ्चार समूहका केन्द्रीय सदस्य मोहनचन्द्र रुम्बा, पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र बडुवाल र अधिवक्ता सूर्यबहादुर बोहोराले प्रशिक्षण दिएका थिए ।
तालिमको समापन समारोहमा नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमितिका अध्यक्ष मोहन लामा, नगर तामाङ समाजका पासाङ तामाङ, प्रशिक्षक मोहनचन्द्र रुम्बा, छेच्यु थर्पलिङ गुम्बाका अध्यक्ष पञ्चबहादुर तामाङ, सहभागीका तर्फबाट सविना तामाङ र पासाङ तामाङले बोलेका थिए ।
कार्यक्रम भरतपुर नगर तामाङ समाजका अध्यक्ष गंगालाल तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post