यस्तो हुन्छ, आदर्श घर [लक्ष्मणरेखा]

अन‌ि यो पनि

-आचार्य लक्ष्मण भण्डारी

घर भनेको केवल, माटोढुङ्गो, इँटाफलाम, सिमेन्ट बालुवाको थुप्रो मात्रै होइन, आडभरोसा र विश्वासको केन्द्र हो । व्यक्ति एक्लो जन्मिएको हुन्छ, तर जन्मनासाथ उसले आमा पाउँछ, घरपरिवार पाउँछ र जीवनको श्रीगणेश गर्दछ । घर नहुँदो हो त कस्तो हुँदो हो, मानिसको अवस्था ? सम्झँदै कहाली लाग्छ ।
प्रकृतिले सबै व्यवस्था गरेको छ । जन्मेका सबैले स्याहार, सुसार, हेरविचार र पालनपोषणको अवसर पाउँछन्, प्रायः । कहिलेकाहीँ जन्माउनेहरु आपैmँ मर्ने र नरहने अवस्था पनि आउन सक्छ । त्यतिबेला यदाकदा शिशुले दुःख पाउने अवस्था आउँछ, तर अधिकांश शिशुले मातृस्याहार पाउँछन्, प्रकृतिले त्यो व्यवस्था गरेको हुन्छ ।

आफूले जन्माएको शिशुलाई झाडीमा मिल्क्याएर हिँड्ने आमाहरु निकै कम हुन्छन् । पशुप्राणीमा त लगभग हुँदैन भन्दा पनि हुन्छ । कुनै कीटपतङ्गले जन्माउनासाथ बेबारिस पारेर आफ्ना सन्तानलाई छोड्दैनन् । आमाहरुले त्यसो गरे भने पनि त्यो मान्छेको समाजमा मात्रै हुन्छ । जन्मनासाथ एकातिर मिल्क्याएर आपूm भाग्ने, सुरक्षित हुने वा जिम्मेवारीबाट उम्कने आमाहरु हिजोआज बढ्दै गएका छन्, तर पशुसमाजमा आजसम्म त्यस्तो भएको छैन, मान्छेको समाजमा मात्र एकाध यस्तो भेटिन्छ ।

आमा अर्थात् प्रेमको पर्याय । हरेक घर आमाकै कारणले ‘घर’ बनेको हुन्छ, किनकि आमाले जत्तिकै प्रेम र स्नेह गर्ने अर्को पात्र पनि घरमा कोही हुँदैन । बाहिर अनेकसित कुराकानी, वादविवाद, झैझगडा हुन्छ तर घरमा आएपछि ती सबैबाट मुक्त भएर सुस्ताउने, ऊर्जा प्राप्त गर्ने र प्रसन्न हुने अवसर हामीलाई प्राप्त हुन्छ ।

हुन त घर पनि एउटा समाज नै हो । समाजमा धेरै मान्छे हुन्छन्, धेरै घर हुन्छन् । घर—घर मिलेर समाजको निर्माण भएको हुन्छ भने व्यक्ति—व्यक्ति मिलेर घर बनेको हुन्छ । घरमा मिलेर बसेको व्यक्ति समाजमा पनि राम्रोसित मिलेर बस्न सक्छ । त्यही घरबाट हामीले समाज, राष्ट्र र विश्वको सेवा गर्ने शक्ति र संस्कार सिकेका हुन्छौँ ।

सानन्दं सदनं सुताश्च
सुधियः कान्ता मनोहारिणी
सन्मित्रं सुधनं स्वयोषिति
रतिः सेवारताः सेवकाः ।
आतिथ्यं सुरपूजनं
प्रतिदिनं मिष्ठान्नपानं गृहे
साधोः सङ्ग उपासना च
सततं धन्यो गृहस्थाश्रमः ।।

(त्यो गृहस्थाश्रम धन्य छ, जसमा आनन्दमय घर, विद्वान् पुत्र, सुन्दरी स्त्री, असल मित्र, सा¤िवक धन, स्वपत्नीमा प्रीति, सेवापरायण सेवक, अतिथि—सत्कार, नित्य देवपूजन, मधुर भोजन, सत्सङ्गति र उपासना—यी सधैँ प्राप्त भइरहन्छन् ।)
हाम्रा ऋषिमहर्षि, विद्वान् विदुषी एवम् नीतिज्ञहरुले अत्यन्त विचार गरेर हाम्रो एक सय वर्षको आयुलाई चार मह¤वपूर्ण आश्रमहरुमा विभाजन गरेका छन् : ब्रह्मचर्य आश्रम, गृहस्थ आश्रम, वानप्रस्थ आश्रम र सन्न्यास आश्रम । यी चारै आश्रमका आआफ्ना विशेषता छन्, मह¤व र आवश्यकता छन्, तथापि गृहस्थ आश्रम आश्रमहरुमध्ये पनि थप मह¤वपूर्ण मानिन्छ ।
घरमा भाँडभैलो भयो भने समाजमा पनि त्यसको असर पर्दछ । परिवारका सदस्यका बीचमा एकता र आत्मीयता हुन अत्यन्त आवश्यक छ । त्यही पारिवारिक एकता र शक्तिका बलमा नै हामीले हाम्रा छिमेकीसितको सम्बन्ध निर्माण गर्ने हो । घर कमजोर छ, घरका सदस्यसित नै आत्मीयता छैन, परस्पर वैमनस्य छ, असन्तोष र असहमति छ भने घरबाहिर कहिल्यै शान्ति र आत्मीयताको वातावरण बन्न सक्दैन ।

मानवीय समाज, राष्ट्र र सभ्यतालाई जीवित राख्ने हो भने घरका मूल्यलाई जोगाउनुपर्दछ । परिवारका पनि मूल्यहरु हुन्छन् । घरपरिवारका प्रत्येक सदस्य ती मूल्यप्रति सचेत, जिम्मेवार र उत्तरदायी हुनुपर्दछ । जब मेरै मात्रै कुरा पूरा होस्, मैले भनेको कुरा मात्रै लागू होस्, परिवार सबै मेरो कब्जामा हुनुपर्दछ भन्ने संस्कार विकसित हुन्छ, अनि परिवारमा विग्रह पैदा हुन्छ ।

यो राष्ट्र एउटा विशाल परिवार हो । राष्ट्ररुपी परिवार चलाउनका लागि संविधानरुपी आदर्श आवश्यक प¥यो । त्यो संविधान बनाउँदा कति विवाद र बहस भयो, त्यो हामी सबैलाई थाहा छ । कुनै एउटा पार्टीको नीति, मूल्य र सिद्धान्त मात्रै त्यो संविधानमा छ त ? छैन । सबैका परेका छन्, तर अलिअलि मात्र । सबैका सबै कुरा राखेर देशले संविधान बनाउँछ ।
परिवार पनि एउटा सानो देश हो । परिवारमा पनि पारिवारिक समझदारी, घर चलाउने विधान र एउटा आदर्श रहेको हुन्छ, चाहे त्यो दृश्यरूपमा होस्, चाहे अदृश्यरूपमा नै किन नहोस् । परिवारका सबै सदस्य सम्मानित हुन पाउनुपर्दछ । सबैका रूचि, भावना, विचार, सपना र कर्तव्यको सहभागिता र सम्बोधन भएको घर नै आदर्श घर हो ।

कुनै पनि व्यक्ति राम्रो छ, उसलाई सबैले स्नेह, प्रेम र अनुकरण गरेका छन् भने त्यो उसको परिवारका कारण सम्भव भएको हो । उसले परिवारमा पाएको संस्कार, मूल्य र आदर्शलाई जीवनमा ल्याएका हुनाले नै आज ऊ सबैको प्रिय भएको हो भन्ने बुझ्नुपर्दछ ।

तर, आज घरहरु पनि घरजस्ता देखिँदैनन् । घरहरुमा प्राण नै नभएको जस्तो लाग्छ । पारिवारिक विग्रहको बढ्दो महामारीमा व्यक्ति एक्लो जीवन बाँच्नतिर अभिमुख हुँदै गएको देखिन्छ । ‘म मात्रै रमाऊँ, म मात्रै खाऊँ, म मात्रै मोज गरुँ’ भन्ने व्यक्तिगत प्रवृत्ति विकसित हुँदै जाँदा व्यक्तिहरु असाध्य मनोरोगका सिकार हुँदै जाने क्रम बढ्दो छ ।

मान्छेलाई घर नभई नहुने कुरा हो । घरविनाको मान्छेको भर हुँदैन भनिन्छ, तर आज व्यक्ति घर छोड्न पाउँदा सुखी हुन्छ । ठीक छ, घर छोड्नुपर्दछ, उन्नति प्रगतिका लागि, व्यक्तित्व विकासका लागि, आवश्यक विकास र समृद्धिका लागि, तर कहिल्यै नफर्किने गरी होइन, सबैलाई बिर्सने गरी होइन, एक्लो र अमर्यादित जीवन बाँच्नका लागि होइन ।

घरको जिम्मेवारी, परिवारका सदस्यबीचको छलफल र विवाद, समस्या र चुनौतीबाट भागेर शान्ति कहिल्यै पाइँदैन । आखिर मान्छे एक्लै बाँच्नै सक्दैन, जङ्गलमा जाने पनि होइन । यही समाजमा रहने हो, यिनै मान्छेको भिडमा सङ्घर्ष गर्ने हो । एउटा घर छोडे पनि अर्को कुनै न कुनै प्रकारको घर त बनाउनैपर्छ । त्यसोभए हुँदाखाँदाको घर र परिवार किन छाड्ने ?
कतिपय कथित साधु सन्न्यासीले पनि घरलाई तथानाम गाली गर्ने गरेको पाइन्छ । ‘गृहस्थहरु अपवित्र हुन्छन्, बिग्रिएका हुन्छन् । यिनीहरु पूरै भोग र रागमा चुर्लुम्म डुबेका हुन्छन्, धनसम्पत्ति र जमिन जायदातका गुलाम हुन्छन्’ भन्ने किसिमले प्रवचन गर्ने र मानिसहरुमा गृहस्थाश्रमप्रति नै अश्रद्धा सिर्जना गर्ने काम गर्दछन्, तर उनीहरु स्वयम् पनि यिनै गृहस्थहरुले कमाएका पैसा, धनसम्पत्ति, धानचामल र लुगाफाटोकै कारण अस्तित्वशील छन् भन्ने कुरा चटक्कै बिर्सन्छन् ।

हो, घर घरजस्तो भने अवश्य हुनुपर्दछ । घरमा बस्दा आनन्द आओस् । ढुक्क हुन सकियोस् । विमतिहरु सुमतिमा बदलिऊन् । प्रेम, विश्वास र भरोसामा बाँच्न सकियोस् । गहिरो निद्रा परोस् । काममा ऊर्जा मिलोस् । प्रत्येक सदस्यले म मेरो परिवारका लागि बाँचेको हुँ भन्ने ठानोस् । प्रत्येक सदस्यले आवश्यक प्रेम, सम्मान र सहयोग प्रदान गरोस् र जिम्मेवार सदस्यको भूमिका निर्वाह गरोस् । बाहिर जाँदा पनि कतिखेर घर पुगौँ भन्ने होस् ।

घर बस्न मन नलाग्ने, परिवारका सदस्यको अनुहार पनि देख्न नपरे हुन्थ्यो भन्ने, योसित त छुट्टिएर अलग बस्न पाए हुन्थ्यो भन्ने, मैले मात्रै किन गर्ने भन्ने भावना आउने भयो भने घर फेरि घर रहँदैन । जब परिवारमा आपसी विश्वास, भरोसा र जिम्मेवारीबोधको भावना हुँदैन तब त्यो परिवार केवल नामको मात्र परिवार हुन्छ । त्यहाँ कुनै प्राण हुँदैन, कुनै ऊर्जा हुँदैन ।
राजा भर्तृहरिले कल्पना गरेको घरका बारे एकछिन चिन्तन गरौँ । एउटा घरमा सबै सदस्यले आनन्द पाउनुपर्दछ । घरभन्दा आनन्दको सुन्दर स्रोत अर्को केही हुँदैन । त्यहाँ सबै हुन्छ, हुनुपर्ने । मुख्यतः आधारभूत भौतिक आवश्यकता आहार, निद्रा, भय र मैथुनको पूर्ति यही घरबाट हुन्छ । सबै सुख यहीँबाट पूर्ति हुन्छ । आनन्दपूर्ण घरमा नै शान्तिको वर्षा हुन्छ ।

जुन घरमा विद्वान् छोरो छ, त्यो घर पनि धन्य हुन्छ भनेका छन् भर्तृहरिले । यहाँ छोरो भने पनि छोरा र छोरी दुवैलाई भन्न खोजिएको हो । विद्वान् भनेको ठीक÷बेठीकको पहिचान गर्न सक्ने व्यक्ति हो । त्यही पात्रतालाई नै विद्वता भनेर भनिन्छ । छोराछोरी ज्ञानी भए भने समस्याहरुमा पनि उचित समाधान पाइन्छ । ज्ञानभन्दा ठूलो सम्पत्ति केही पनि छैन । त्यसैले, विद्वान् छोराछोरी भएको घर धन्य हुन्छ भनेर भनिएको छ ।

सुन्दर एवम् मनोहर स्त्री भएको घर पनि धन्य हुन्छ भनेर भनिएको छ । सुन्दरता केवल बाहिरी आवरणको होइन । चित्र र चरित्र दुवैमा सुन्दर जुन स्त्री घरमा हुन्छे, त्यो घर नै थप सुन्दर भएर जान्छ । सन्तानमा पनि त्यो सुन्दरता सर्दै जान्छ । संसारमा स्त्रीशक्तिसमान बलशाली अर्को शक्ति विरलै हुन्छ । त्यसमा पनि घरको प्राण सुन्दर स्त्रीशक्ति हो । स्त्री आपैmँ विरुप छे, फोहोरी छे भने उसको घरलाई कसरी सफा र सुन्दर राख्ली ? स्त्रीसँगै सुन्दर र आकर्षक पुरूष पनि घरको शोभा हो ।

घर त छ, तर मित्रहरु छैनन् भने के घर ! परिवारका सदस्य त कति नै हुन्छन् र ! ५, ७ जना । आज त झन् सानो परिवार हुनुपर्दछ भन्ने मान्यता विकास भएको समयमा ४ जनाभन्दा धेरै हुन नै छाडे । ४ जनाले मात्रै जीवन चल्दैन । मित्रहरु हामीलाई पलपल चाहिन्छन् । मर्दाका मलामी, जिउँदाका जन्ती तिनै मित्रहरु हुन् । जसका सहृदयी, सहयोगी मित्रहरुको सङ्ख्या धेरै छ, त्यो व्यक्ति र त्यो घर साँच्चै नै धन्य हुन्छन् । कहिलेकाहीँ साथीहरुलाई घरमा बोलाएर बसेर सर्वतपानी खान सकिन्छ, कागतीपानी पिउन सकिन्छ, दूधमही पिउन सकिन्छ । घरमा तरकारी फलेको छ भने साटासाट गर्न सकिन्छ । यी साना तर मित्रताका लागि ठूला र मह¤वपूर्ण विषय हुन् ।

घरमा सम्पत्ति पनि चाहिन्छ । धनविनाको घर बलियो हुन सक्दैन । पैसा पनि ठूलो मनोवैज्ञानिक शक्ति हो । तपाईं पैसा नलिई बजारतिर जानुभयो, पर्स घरमै छुट्यो भने पैसा नभएको त्यस अवस्थामा तपाईंले आपूmलाई कमजोर सोच्नुहुन्छ । तपाईंसित धन छ भने त्यसले छुट्टै उत्साह र प्रेरणा दिन्छ, तर त्यो धन सा¤िवक हुनुपर्दछ । मानिसलाई धेरै नाफा लिएर कमाएको, ठगेर आर्जन गरेको, दलाली गरेर वा अनावश्यक कमिसन खाएर जम्मा गरेको धनले घरलाई बिगार्दछ । व्यक्तिको मनमा पनि शान्ति हुँदैन । चाहिनेभन्दा धेरै कमिसन, नाफा र अनैतिक पुँजी सबै केही समयका पानीका फोका हुन् । हेर्दा भयानक देखिन्छन्, तर कमजोर हुन्छन्, बीचमै प्याट्ट फुटिदिन्छन् । ठगी गरेर कमाएको सम्पत्ति त घरमा राख्दा पनि घरकी लक्ष्मी दुःखी हुन्छिन् ।

जहिले पनि सत्कर्म, सदाचार र इमानपूर्वक आर्जन गरिएको सा¤िवक धन यदि कुनै घरमा छ भने त्यो घर धन्य हुन्छ भनेर भनिएको छ । खान नपाएर कुनै पशुप्राणीले आत्महत्या गरेका छैनन् भने मानिसलाई खानकै लागि ठग्न पर्दैन । कसैलाई नठगी, कुनै कमिसन नलिई, कुनै पनि दलाली नगरी पनि चराचुरूङ्गी, वनस्पति तथा पशुचौपायाले मस्तले खाइरहेकै त छन् नि ! अनैतिक आर्जन असा¤िवक हुन्छ र त्यसले घरको शान्तिसमेत भङ्ग गर्दछ ।

आफ्नै पत्नीप्रतिको प्रेम घरको अर्को शक्ति हो । घरमा श्रीमती त छन्, श्रीमान् पनि छन्, तर भोगका लागि अनेकतिर चाहार्ने लोग्ने मान्छे वा श्रीमती जुन घरमा हुन्छन्, त्यो घर घर हुन सक्दैन । त्यो भोगको यही कमजोर धरातलका कारण ध्वस्त भएर जान्छ । श्रीमतीहरु कति ठूलो बलिदान गरेर घरमा आएका हुन्छन् । उनीहरुले नाम, थर, पहिचान, बाबुआमा सबै छोडेर आफ्नो ‘घर’ बनाउँदै आएका हुन्छन् । उनीहरुको सर्वस्व नै ‘घर’ हो । पत्नीका लागि उसको घर भनेकै पति हो । पतिविनाको घर के घर पत्नीका लागि ।

तर, पति पत्नीलाई वास्तै गर्दैन । लुकीछिपी अनधिकृत चेष्टा गर्दछ भने त्यो घरमा कहिल्यै शान्ति आउन सक्दैन । घरमा शान्ति आउन नारी सम्मानित हुनुपर्दछ । ‘यत्र नार्यस्तु पूज्यन्ते, तत्र रमन्ते देवताः’ जहाँ नारीको पूजा हुन्छ, त्यहीँ देवता प्रसन्न हुन्छन् । नारीको पूजा भनेको उनीहरुप्रतिको विश्वास हो, निष्ठा हो । उनीहरुप्रतिको प्रेम हो । यसरी, भर्तृहरिले स्वपत्नीप्रतिको प्रेमले पनि घर धन्य हुने विचार व्यक्त गरेका छन् । आज घरहरु धन्य हुन नसक्नुका कारणमध्ये पतिको पत्नीप्रतिको प्रेम नहुनु र पत्नीकोे पतिप्रतिको प्रेम नहुनु पनि एक हो ।

घरमा सहयोगीहरुको पनि आवश्यकता महसुस गरिएको छ । घरमा आवश्यक काममा सघाउने व्यक्तिलाई आवश्यक पारिश्रमिक दिएर प्रसन्न तुल्याई सेवा लिन सक्दा पनि घर धन्य हुने कुरा भर्तृहरिले उल्लेख गरेका छन् ।
घरमा पाहुना आउँदा ढोका बन्द गरियो भने अनर्थ हुन्छ । हामीकहाँ त ‘अतिथि देवो भवः’ भन्ने संस्कार छ । बेलाबेलामा अतिथि आऊन्, उनीहरुको यथायोग्य सत्कार, सेवा गर्न पाइयोस् । कति राम्रो कुरा ! आजको अत्यन्त सङ्कीर्ण र स्वार्थी समाजमा पाहुनालाई बोझ ठानिन्छ । तर, हाम्रा पूर्वजले पाहुनाको सत्कारलाई अवसर मानेका छन् ।

यदि कुनै अतिथि हाम्रा घरमा आयो र हाम्रो सत्कारका कारण प्रसन्नतासाथ फर्कियो भने उसले बाहिर गएर पनि हाम्रै कीर्तिगान गर्दछ । उसको कीर्तिगानका कारण हाम्रो घरको प्रतिष्ठा पनि अझ बढेर जान्छ । हाम्रा घरमा सधैँ बस्न खोज्ने व्यक्ति पाहुना हुन सक्दैन, वर्षौंवर्षमा एकपटक आउँदा दुई, चार छाक खुवाउन र सुताउन पनि अप्ठेरो मान्यौँ भने हाम्रो सामाजिक दायित्व पनि रहँदैन र घरको गरिमा पनि घटेर जान्छ । यसैले, अतिथि सेवालाई पनि घर धन्य तुल्याउने कारण मानिएको छ ।

घरमा भगवान्को नित्य प्रार्थना होस्, देवीदेवताको पूजा होस्, घर कति दिव्य हुन्छ । हामीलाई प्रकृतिबाट वा भनौँ अस्तित्वबाट अथाह सहयोग र साथ मिलेको छ । केही त छ, जसले यो विशाल सृष्टि गरेको छ, साराको पालनपोषण गरेको छ, सबैभित्र ऊर्जाशील बनेर रहेको छ र सबैलाई प्रेरित पनि गरिरहेको छ ? उही शक्ति जसलाई परमात्मा, भगवान् भनिन्छ, उसप्रतिको कृतज्ञता हो देवपूजन । घरमा ती देवीदेवताको पूजाअर्चना वा वन्दना हुनु घरको गौरव बढेर जानु हो । त्यसले व्यक्तिलाई उदार बनाउँछ र सधैँ मानवीय बन्न प्रेरित गर्दछ ।

घरको अर्को शक्ति भनेको मीठो भोजन हो । घरको भोजनभन्दा मीठो के होला ? घरको चाहे जुन सदस्यले बनाएको होस्, त्यो भोजन अमृत हुन्छ । चाहे जति नै मीठो किन नहोस् दोकानमा, होटलमा बनेको परिकारले हामीलाई मानवीय रहन दिँदैन, किनकि व्यापारमा कहिल्यै पनि संवेदना हुँदैन, करूणा हुँदैन । तर, घरको भोजन कहिल्यै पनि संवेदना, करूणा र प्रेमहीन हुँदैन, किनकि प्रायः घरको भोजन करूणा र प्रेमकी देवी आमाले तयार पारेकी हुन्छिन् । आमाबाहेक अरु सदस्यले तयार पारे पनि हाम्रो हित नै होस् भन्ने भावले तयार पारेको हुन्छ । तसर्थ, घरको खाना, मीठो हुन्छ । अति पिरो, अति तिखो, अति मसलादार खानेकुरा मीठो भोजन होइन । जसले हाम्रो स्वास्थ्य पनि बिगार्दैन, खाँदा आनन्द दिन्छ र सा¤िवक तुल्याउँछ, त्यस्तो भोजनले पनि घरलाई धन्य तुल्याउँछ ।

घरमा बेलाबेलामा सत्सङ्ग होस् । जानेबुझेका मानिस आऊन्, साधुसज्जन आऊन् र हामीलाई जीवनका मूल्य, कर्तव्य र गरिमाका बारेमा प्रकाश पारुन् । हामीले बाटो बिराउँदै गरेका भए बाटो देखाइदिऊन् । सत्मार्गमा लाग्न प्रेरणा दिऊन् । समाज, राष्ट्र र आध्यात्मिक स्वार्थका बारेमा चर्चा होस् । प्रेम, दया, क्षमा र हार्दिकताको क्षेत्रमा रमाउन बल मिलोस् । बेलाबेलामा गरिने यस्तो किसिमको कार्यक्रम, भेटघाट वा भनौँ सत्सङ्गले पनि घरलाई धन्य तुल्याउँछ ।

र, घरलाई धन्य तुल्याउने भर्तृहरिको अर्को विषय भनेको उपासना हो । ईश्वरप्रतिको निष्ठा, तप, स्वाध्याय, शाश्वत चिन्तन, चर्चा, जप, ध्यान, प्राणायाम आदिलाई उपासना भनेर भनिन्छ । उप भनेको नजिक र आसन भनेको रहनु । अर्थात्, दिव्य शक्ति, ईश्वर—परमेश्वरहरु सत्तासित नजिक रहनुलाई उपासना भनिन्छ । अभैm स्पष्ट भन्दा ईश्वरीय साधना, उपासना, वन्दना वा कृत्य सबैलाई हामीले उपासना भनेर भन्दछौँ । घरमा यस्तो उपासनाको व्यवस्था पनि हुनुपर्दछ ।
यसप्रकार आनन्दमय घर, विद्वान् पुत्र, सुन्दरी स्त्री, असल मित्र, सा¤िवक धन, स्वपत्नीमा प्रीति, सेवापरायण सेवक,

अतिथि—सत्कार, नित्य देवपूजन, मधुर भोजन, सत्सङ्गति र उपासनालाई भर्तृहरिले एउटा आदर्श घरका गहना मानेका छन् । यी सद्गुणहरुले सम्पन्न घर वास्तवमै धन्य हुन्छ भनेर भनिएको छ । हामीले पनि भर्तृहरिले कोरेका घरलाई धन्य बनाउने लक्ष्मणरेखालाई सक्दो अवलम्बन गर्ने प्रयास गरौँ । घर हाम्रो प्राण हो, प्रण हो र प्रसन्नता हो । यसैले, यसलाई हाम्रा नीतिज्ञले भनेका लक्ष्मणरेखाभित्र रहेर मर्यादित तुल्याउने प्रयास गरियो भने आशा छ, हामी सबैको घर धन्य हुने छ । आजको यो आवश्यकता पनि हो, किनकि हाम्रा घरहरु ‘धन्य हुने’ आशामा प्रतीक्षारत छन् ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया