खैरहनीको नीति तथा कार्यक्रम : विद्युतीय भुक्तानीदेखि करदातालाई प्रोत्साहन

अन‌ि यो पनि

खैरहनी । चितवनको खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरवासीले तिर्नुपर्ने करको बारे पूर्वजानकारीसमेत गराएर विद्युतीय भुक्तानी (इ–पेमेन्ट) सेवाको विस्तार गर्ने नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सेवाग्राहीहरुको सहजताका लागि कर तिर्न यस्तो सेवा विस्तार गर्ने नीति लिइएको नगरप्रमुख लालमणि चौधरीले बताए ।

कोभिड–१९ महामारीको बढ्दो प्रभावलाई मध्यनजर गर्दै राजस्वमा छूट र सहुलियतको व्यवस्था, आन्तरिक आय परिचालनमा सुधार ल्याउन र राजस्व प्रक्षेपणलाई यथार्थपरक र वैज्ञानिक बनाई, बजेट तर्जुमा प्रक्रियालाई थप व्यवस्थित गर्न खैरहनी नगरपालिकाको राजस्व सुधार कार्ययोजना तर्जुमा गरी अघि बढाईने नीति तथा कार्यक्रममा उल्लेख छ ।

राजस्वका विभिन्न विधाका असल करदातालाई प्रोत्साहन र पुरस्कृत गर्ने कार्यक्रम सञ्चालनमा ल्याइने नगरप्रमुख चौधरीले बताए । नगरपालिकाले सुशासन तथा संस्थागत विकासका लागि नागरिकको चासो र गुनासोलाई तत्काल सम्बोधन गर्ने वातावरण बनाउने जनाएको छ । चासो र गुनासो सुन्नेमात्र नभई नगरपालिकालाई सबैभन्दा उत्तम र रचनात्मक सुझाव प्रदान गर्ने नगरवासीलाई पुरस्कृत गरिने समेत नगरप्रमुख चौधरीले बताए ।

कोभिडको महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुका साथै कृषकहरुको उन्नति तथा विकासका लागि कृषि र पशुपालनको क्षेत्र, उद्योग तथा वाणिज्यको क्षेत्रलाई पनि प्राथमकिता दिने जनाइएको छ ।

नगरसभामा आर्थिक विकास समितिको तर्फबाट संयोजक कारीराम चौधरी, सामाजिक विकास समितिबाट संयोजक मनेजर महतो, सार्वजनिक सेवा तथा क्षमता विकास समितिबाट संयोजक टीकादत्त इटनी, पूर्वाधार समितिबाट संयोजक होमकुमार पुन, लेखा समितिबाट संयोजक टीकाराम तिमल्सीना, वन, वातावरण तथा विपद व्यवस्थापन समितिबाट संयोजक भूमिप्रसाद कँडेल, विधायन समितिबाट संयोजक देवबहादुर बस्नेत र न्यायिक समितिबाट सदस्य गोमादेवी भुजेलले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया