सविता भण्डारी मृत्यु प्रकरण : न्यायका लागि सयौँ व्यक्ति सडकमा

अन‌ि यो पनि

–रामशरण गैरे
शारदानगर । दुई महिनाअघि मृत भेटिएकी भरतपुर–१९, शारदानगरकी २८ वर्षीया सविता भण्डारीप्रति न्याय माग्दै उनकै गृहनगर शारदानगरमा कोरोनाको डरलाई बेवास्ता गरेर दैनिक सयौँ व्यक्तिहरु सडकमा उत्रिँदै आएका छन् । अदालतमा विचाराधीन मुद्दामा युट्युबरले पोष्ट गरेका अन्तर्वार्ता हेरेर धारणा बनाउने अनि गालीगलौच गर्ने क्रम तीव्र छ ।

सविताको मृत्युको खास कारण महिनौँदेखि भोग्दै आएको घरेलु हिंसा, यौन दुव्र्यवहार भएको स्थानीय महिला अगुवाहरुले आरोप लगाएका छन् । घरेलु हिंसा सहन नसकेर उनले आत्महत्याको बाटो रोजेको हुन सक्ने पूर्वसांसद् विष्णुमाया परियारको आशंका छ ।

घरपरिवारबाट हुने मानसिक तथा शारीरिक यातना सहन नसकेर उनले आत्महत्या गर्न बाध्य भएको उनको दाबी छ । सविता भण्डारीको घटना आमनेपाली महिलामाथि भएको दमन, शोषण, हिंसा र चुनौतीको प्रतिनिधि घटना भएको भन्दै यस्ता खाले घटनाहरु दोहोरिँदै जाने हो भने आपराधिक मानसिकता बोकेका व्यक्तिहरुलाई सांकेतिकरुपमा थप ऊर्जा प्रदान गर्ने उनले बताइन् ।

यो आत्महत्या दुरूत्साहनको घटना हो भन्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको र अन्तिम निर्णय अदालतबाटै हुने बताउँछन्, भरतपुर–१९ का वडाध्यक्ष कर्णबहादुर गुरूङ । चितवन जिल्ला अदालतले आत्महत्या दुरूत्साहन मुद्दालाई सामान्यीकरण नगरी यस घटनामा निष्पक्ष छानबिन गरेर एउटा उदाहरणीय र सार्थक सन्देश प्रवाह गर्ने कुरामा आशावादी छन् उनी ।

गत वैशाख ४ गते सविता आफ्नै घरको कोठाभित्र झ्यालमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । माइती पक्ष प्रहरीको भनाइ मान्न सहमत भएनन् । माइती पक्षका अनुसार लामो समयदेखि सविता पारिवारिक तनावमा थिइन् । विवाहमा दाइजो नल्याएको भन्दै सासू र नन्दले उनलाई यातना दिने गरेको उनकी बहिनी सजनी भण्डारीको आरोप छ । निरन्तर यातना दिएपछि सवितालाई परिवारका सदस्यले जबर्जस्ती मानसिक औषधि खुवाउने गरेको समेत उनले दाबी गरिन् ।

जेठी श्रीमतीले छोडेर गएपछि २०७१ साल वैशाख ३ गते योगेन्द्रले सवितासँग बिहे गरेका थिए । श्रीमान् योगेन्द्र वैदेशिक रोजगारीमा थिए । सासूआमा अस्पतालमा काम गर्ने कर्मचारी हुन् । घरमा पाँच वर्षीय छोरा, आफू र ७५ वर्षीय ससुरामात्रै थिए । वृद्ध ससुरालाई बुहारीमाथि यौन हिंसा गरेको आरोप छ । स्थानीय विद्यालयका शिक्षकसमेत रहेका ससुराले यसअघि पनि छोराकी जेठी श्रीमतीमाथि पनि त्यस्तै दुव्र्यवहार गर्ने गरेको सविताकी बहिनी सजनीको आरोप छ ।

‘आफूमाथि भएको हिंसाबारे दिदीले श्रीमान्लाई बताउँदा घरमा ठूलै झगडा परेको थियो’, उनले भनिन् । पारिवारिक टर्चर अति नै गरेपछि उनी माइतमै आएर बसेकी थिइन् । तर, अमाजूका श्रीमान् भोज ढकालले फोन गरेर यो घरभित्रको विवाद हो, बसेर समाधान गर्नुपर्छ, डिभोर्स गराइदिन्छौँ भनेर बोलाएका थिए । भोजले डिभोर्स गराउनमा सहयोग गर्ने र छोरालाई पनि उनकै जिम्मा लगाइदिने भन्दै घर बोलाएको उनी बताउँछिन् ।

लोग्नेले मादक पदार्थ खाएर मोटी भएकी, दाइजो नल्याएकी भनेर दुःख दिने गरेको, दुवईमा कमाएको पैसा अमाजूले नदिएको र ससुराले यौन हिंसासमेत गरेको विवरण खुलाई आत्महत्या दुरूत्साहनमा माइती पक्षको किटानी जाहेरी दिएका आधारमा प्रहरीले सविताका श्रीमान् योगेन्द्रकुमार धिताल, ससुरा रमेशकुमार धिताल र अमाजू भावना ढकाललाई पक्राउ गरेको थियो । उनीहरु सबै धरौटीमा छुटेका छन् । अदालतले कोरोना महामारीको कारण देखाउँदै धरौटीमा छोड्न आदेश दिएको थियो ।

अब वादी, प्रतिवादीहरुसँग अदालतले असार २८ गतेदेखि बयान लिनेछ । आत्महत्या दुरूत्साहन गरेको प्रमाणित भए प्रतिवादीलाई ५ वर्ष कैदसम्मको सजाय हुन्छ ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया