गीत गाएरै संगीत दिवस मनाउँदै चितवनका संगीतकर्मी

अन‌ि यो पनि

–तुलमान गुरूङ
नारायणगढ । संगीतबिना जीवन अधुरो हुन्छ । संगीतले मानिसको दुःख, पीडा र तनावलाई पनि बिर्साउँछ । त्यसैले त भनिन्छ, ‘संगीत सुख,दुःखको साथी हो ।’ विगतका वर्षहरुलाई सम्झिने हो भने संगीत दिवसको अवसर पारेर राजधानीमा विशेष कार्यक्रम हुन्थे । तर, विगत दुई वर्षदेखि कुनै कार्यक्रम हुन सकेको छैन ।

लोक तथा दोहोरी गायक मिलन लामाका अनुसार संगीत दिवसको दिन राजधानीमा कार्यक्रम भए पनि मोफसलमा विशेष कार्यक्रम हुने गरेको देखिँदैन । तर, मोफसलमै बसेर पनि संगीत साधनामा सक्रिय उनले संगीत दिवसको अवसरमा गीत लेखनी, रेकर्ड या सार्वजनिकमध्ये कुनै एक काम गर्दै आएका थिए ।

तर, अहिले अवस्था फरक भएकोले पहिलेको जस्तो काम गर्न नपाएको उनले बताए । ‘काठमाडौँमा जस्तो मोफसलमा भएको त पाइँदैन, तर मचाहिँ केही न केही गरौँ भन्ने हिसाबले नयाँ कामको थालनीमा लाग्थेँ’, करिब दुई दशकदेखि लोकदोहोरी गीत/संगीतको क्षेत्रमा निरन्तर लागिरहेका गायक लामाले भने, ‘यसपालि पनि घरै बसेर केही न केही काम गरेर दिवसलाई सम्झिने योजनामा छु ।’ कोरोना भाइरस र देशको राजनीतिक परिस्थितिसम्बन्धी गीत कोरेकाले त्यसैलाई गुनगुनाएर दिवस मनाउने तयारीमा रहेको उनले बताए ।

‘वर्तमान अवस्थामा कोरोनाले सताएको विषय र अब आउने निर्वाचनलक्षित गीत बनाएको छु’, उनले भने, ‘त्यसैलाई दिवसको दिन पारेर घरमै गुनगुनाएर दिवस मनाउँछु, किनकि कसैसँग भेटघाट गर्ने र तयार भएका गीत रेकर्ड गर्न स्टुडियोसम्म पुग्न सकिने अवस्था रहेन ।’ देशमा राजनीतिक खिचातानी बढ्दै गएकोले गीत/संगीतमार्फत दल तथा नेताहरुलाई खबरदारी गर्ने प्रयास गरिएको उनले बताए । यसअघि पनि उनले राजनीतिक विषय र राष्ट्रिय भावका गीत/संगीत दर्शक तथा स्रोतामाझ ल्याइसकेका छन् । लोक तथा दोहोरीको क्षेत्रमा उनी चर्चित छन् ।

२०१९ मा स्थापना भएको नारायणी कला मन्दिरले संगीत दिवसको रुपमा ठूला कार्यक्रम नगरे पनि हरेक वर्ष कार्यसमिति र पूर्वअध्यक्षहरुको उपस्थितिमा सामान्य कार्यक्रम गरेर मनाउने गर्दै आएको छ । यसवर्ष पनि सोहीअनुसार केही पूर्वअध्यक्षहरुको उपस्थितिमा आन्तरिक कार्यक्रम गरेर मनाउने तयारी भइरहेको अध्यक्ष उद्वव जोशीले जानकारी दिए । निषेधाज्ञाका कारण गत वर्ष केही नगरे पनि यसवर्ष भने कला मन्दिरले पूर्वअध्यक्षहरु दीपक प्रधान, सहनलाल प्रधान, विज्ञानलाल श्रेष्ठ, दिलीप पिया र निवर्तमान अध्यक्ष अमरदेव प्रधानसहितको उपस्थितिमा सामान्य खालको सांगीतिक कार्यक्रम गरेर दिवस मनाउने उनले बताए ।

गीतकार तथा कला मन्दिरकै पूर्वअध्यक्ष विज्ञानलाल श्रेष्ठ भने दिवसकै दिन आफ्नो नयाँ गीतको ‘लिरिकल’ भिडियो सार्वजनिक गरेर दिवस मनाउँदैछन् । ‘देखेपछि तिमीलाई’ बोलको गीतमा कला मन्दिरकै पूर्वअध्यक्ष तथा उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्षसमेत रहेका गायक तथा संगीतकार सहनलाल प्रधानको स्वर तथा संगीत सुन्न सकिन्छ । भिडियो बनाउन नभ्याइएको हुँदा लिरिकल भिडियोमात्रै सार्वजनिक गरेर दिवस मनाउने योजना बनाएको गीतकार श्रेष्ठले बताए ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया