बागमती प्रदेशमा अबन्डामा सांसदलाई २ अर्ब ४२ करोड विनियोजन

अन‌ि यो पनि

-अमृत चिमरिया
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट बढाए पनि सामाजिक क्षेत्रका गत वर्षका अधिकांश कार्यक्रमहरु कटौती गरिएका छन् । प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गत बजेट खर्च गर्ने गरी चालू आर्थिक वर्ष ०७७/७८ मा ल्याएको युवा, महिला तथा लक्षित वर्गको बजेटमा व्यापक कटौती गरेको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ मा राखेको सामुदायिक विद्यालय सुरक्षित विद्यालय, प्रदेश सरकार शिक्षालय सहकार्य कार्यक्रम, बागमती प्रदेशको सरोकार, महिलालाई अवसर र अधिकार, लैंगिक तथा यौनिक अल्पसंख्यकको संरक्षण, मानवअधिकारको प्रवद्र्धन र लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलता नीति, समुदायमा आधारित पुनःस्थापना कार्यक्रम, युवा वैज्ञानिक प्रोत्साहन कोष, नवप्रवर्तन कोष, पूर्वाधार आत्मनिर्भर रोजगार कार्यक्रम समावेश भएको देखिँदैन ।

यस्तै, स्वास्थ्यका लागि खेलकुद, कृषि अनुसन्धानको मूल आधार अनुसन्धान शिक्षा र प्रसार, उद्यमीको हात प्रदेश सरकारको साथ, आफ्नै स्रोत आफ्नै उद्यम, समुदायको सहभागितामा वन, द्वन्द्वपीडितको साथमा प्रदेश सरकारलगायत कार्यक्रम समावेश नगरिएको हो ।

अबन्डाबाट दुई अर्ब सांसद्लाई

संघीय सरकारले खारेज गरेको सांसद् विकास कोष विभिन्न नामले प्रदेशमा पनि दिँदै आएको थियो । प्रदेश सरकारले चालू आर्थिक वर्षमा ‘प्रदेश पूर्वाधार कोष’को नामबाट सांसद्हरुले खर्च गर्नेगरी बजेट रहेको थियो । तर, प्रदेश सरकारले उक्त शब्द हटाएर आगामी आर्थिक वर्ष ०७८/७९ मा पनि प्रदेश सांसद्हरुमार्फत खर्च गर्नेगरी अबन्डामा ठूलो बजेट छुट्याएको पाइएको छ ।

असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशसभामा ‘प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवद्र्धन तथा कोभिड पुनःस्थापना साझेदारी कार्यक्रम’ को नाममा एकमुष्ठ २ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेका हुन् । बजेट वक्तव्यमा कोभिडको प्रभाव न्यूनीकरण गर्दै जनताको स्वास्थ्य प्रवद्र्धन गर्न ‘प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवद्र्धन तथा कोभिड पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन गरिने’ उल्लेख छ । उक्त शीर्षकमा अबन्डामा बजेट छुट्याइएको हो ।

चालू आर्थिक वर्ष ०७७/७८ मा प्रत्यक्ष निर्वाचित सांसद्को नेतृत्वमा योजना छनोट गरी कार्यान्वयन गर्नेगरी प्रतिसांसद् ३ करोडका दरले ६६ वटा प्रत्यक्ष निर्वाचित सांसद्लाई एक अर्ब ९८ करोड रुपैयाँ छुट्याइएको थियो । आगामी आर्थिक वर्षदेखि भने समानुपातिक सांसद्हरुलाई समेत एक करोडका दरले रकम छुट्याइएको छ ।

प्रदेशका ६६ वटा निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद्को लागि ३ करोडका दरले एक अर्ब ९८ करोड र ४४ जना समानुपातिक सांसद्हरुको लागि एक करोडका दरले ४४ करोड गरी २ अर्ब ४२ करोड रुपैयाँ बजेट अबन्डामा विनियोजन गरिएको हो ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया