आजसम्म रुमल्लियौँ अब त बदलियौँ न !

अन‌ि यो पनि

रमेश भट्टराई ‘सहृदयी’

एकाथरी ओहोदा नभिरेर पनि आस्था भएकाहरूको जमघटमा बूढा मान्छे बोल्छन्: “खै, पञ्चायत ढालेँ भन्छन्, बहुदल ल्याएँ, राजा खेदाएँ भन्छन्, बहुमतको सरकार भयो अब नबाझी विकासकै मात्र कुरो हुन्छ पनि भन्थे । अहँ ! आज सबै नेताजस्ता । सत्तामा बस्नेमा गुट छ । मिल्यौँ भन्छन् तर भागबण्डा पुरानै मुखतिर ताकेर खेमाबन्दी हुँदो रहेछ । कर्मचारी भागबण्डामा चल्ने । हैकमवादी देखिन्छ । प्रतिपक्षी पनि कमजोरी खोजेर लडाउने र भत्काउनेबाहेक बनाउने सपनै देख्दैन । कुर्सीको मोह हिजोकै जस्तो । अस्थिर विचार उस्तै । स्थानीय जनताले अधिकार त पाए, नीति पनि बने तर अब त काजमै बस्ने हुन् कि खै ?” अर्काले दूध चियाको तर पन्साउँदै भन्छ– अहँ, यो बहुमतको सरकार भएर पनि स्पष्ट भिजनै भएन । बाझेकै छन्, भ्रष्टाचार घटेकै छैन । युवा खाडीमा भासिएकै छन् । स्वरोजगारको अभाव र शिक्षितहरू बेरोजगार बनिरहेकै छन् ।”

चिया चौतारी फुर्सदका गफ हुन् । कतै रमाइला हुन्छन्, कतै मुक्कामुक्की गर्दै जुध्छन् । आँखा मिच्दै देशको बहस मच्चिन्छ । हो, आजभोलि यसो महिलाले पनि कान थाप्न थालेका छन् । समावेशी सम्बोधन नहुने पो हो कि भनी बीचमा अचार थप्दै गर्छन् । गफमा बहस चर्कियो– ‘एकताबाट निर्मित नवीन इतिहास कोरेको पार्टीले मखुन्डो मात्रै भिरेर सौदाबाजी त गर्दै छैन ?’ मलाई दर्शक/स्रोता बनेर सुनिरहन मन लाग्यो । मजस्ता कान थाप्नेमा कोही समर्थक, कोही ठुटे नेताका पुच्छर त कोही स–सानाका अघि गफ लडाएर चिया खाने दाउमा थिए– मैले मनन गरेँ । नेपालीहरूमा शङ्का र राम्रो कुरालाई नराम्रै बनाउने आदत पनि छँदै छ– सोचेँ ।

हुन त धेरैले भन्ने गर्छन्– नेपाली जनता भेडा हुन् । विश्लेषण र समर्थन गर्ने तरिका पनि अन्धो प्रवृत्तिको छ । चाकडीबाजको शैली र स्वार्थको आशा बोकेर खेमाबद्ध हुनेको लर्को विद्वान् भनिएका व्यक्तित्वमा पनि हुँदो रहेछ । अर्को अचम्मको कुरा आपूm समर्थकको जेजस्ता घटना भए पनि, जति जघन्य र खराब कार्य भए पनि सल्ट्याएर आपूm माथि पर्ने होड चल्दो रहेछ । कसैले भन्दै थिए– यो मखुन्डो भिरेको एकता हो । माओवादीले दशाँै वर्ष युद्ध ग¥यो आज हेरौँ त जनताको त्याग र भोगेका वेदनामाथि प्रहार ? सत्य हो ! मान्छेमा बहस छन् तर खेमाबन्दीका छाँट । पहिला पार्टीको समर्थन त्यसपछि पार्टी भित्रकै– खेमाबन्दीको । कुरो गहिरो छ, निष्कर्षचाहिँ कुर्सीको । कोही हातको भाउ लगाउँदै बोल्दै थिए– ‘यो दुई दिने मखुन्डो भिरेर पुरानै शैलीमा एक भएका छन् । अब दुईचार दिनमा आपसमा तुष जन्माएर भिड्छन् । नेपालमा स्थायी सरकारले काम गर्ने जोग नै छैन । खै, विश्वास छैन ।’ कोही चाहिँ –‘यो सबै स्वार्थ र गोजी भर्ने खेल हो । जनताको आँखामा छारो हालेर स्वार्थ पूरा गर्ने प्रपञ्च हो’ आशङ्काकै भावमा दुःख मान्दै थिए ।

केन्द्र र टेबल गफ न हुन् । स्कुलै जान नपाएका र राजनीतिको ‘र’ नै नबुझेको हिमालको एउटा गरिब किसान या गोठालो भनौँ । जनता र नेता, नेता र सत्ताधारी नेतृत्व, प्रतिपक्षी र समकक्षी आपसमा विरोधाभास त हुन्छ । भाषण र व्यवहारमा भनिने र व्यावहारिक प्रयोजनका पाटामा मुलुकले परिवर्तनलाई कसरी बुझ्दै छ । एउटा नवपुस्ता छ, जसले कोरियन भाषा पढ्दै छ । जापानिज, हिब्रु, अङ्ग्रेजी आदि सिकेर या त आइल्स दिएर विदेशतिरै होमिने सपना बोकेको छ । अमेरिकाको डि.भि. भर्नेको लर्को, शिक्षा र पैसाको अपेक्षाको खज्मजिएको संसारमा समृद्धिका गफ ? मान्छेको पेट भर्ने समस्यामा घोत्लिनुपर्दैन र ? कम आय हुनेको अवस्थाप्रति सोच्नुपर्ने कुरा पहिला कि अन्या योजना ? अब बहस्, नहोस् पनि कसरी ?
दुःखद् कुरा, जनताले विश्वास गरेर काम गर भन्दै जिताएपछि घरी यता घरी उता गर्ने हक नेतालाई हुने कि नहुने ? नत्र जनप्रतिनिधि कसरी हुन्छ ? जनतासँग आश्वासन बाँड्ने, सत्ता र कुर्सीमा लड्ने अनि झोँक चल्यो अर्कातिर लाग्ने । नेताले जनताको भोट पाएर जितेपछि आफ्ना शुभचिन्तक जनतालाई एक शब्द राय नलिई, भोट माग्दा वाचा गरिएका कामै नगरी पार्टीबाट छोड्ने हो भने कसरी जनप्रतिनिधि हुन्छ ? जनताको अभिमतबाट चुनिएको प्रतिनिधिले विचारलाई बाँढ्दा आफ्नो हैसियतलाई भुल्न पाइन्छ र ? कम्तीमा जनताको मागलाई सम्बोधन गर्ने वा चित्त बुझ्दो कारण वा त काम गरेर देखाउन पनि त जान्नुपर्छ । काम गर्नभन्दा पनि ओहोदाका नाममा, भ्रष्ट चरित्रको नाम र मनोविज्ञानमा स–साना बखेडाभित्र उल्झिएर आजको हाम्रो राजनीतिक नेतृत्व भौँतारिइरहेको देखिन्छ । नेता चुनाव लड्ने र जित्ने केही समयका लागि होइन उसको कार्यकाल र क्षमता रहेसम्मका लागि हो । तिनले गल्ती गर्नु, समृद्धिको पाइलामा भाँजो हाल्नु, नेता यताउता गर्दा जनताको मन भाँड्नु : वास्तवमा जनताको अभिमत माथिको अत्याचार होइन र ?

घरघरमा सिंहदरबार पुग्यो कि खाने मुखचाहिँ घरघरमा पुग्यो भन्नुपर्ने जटिलताले देशमा पीडा भएको हो । ७७ जिल्लाका २९३ नगरपालिकाभित्र रहेका ४६० वटा गाउँपालिकामा कार्यरत कर्मचारी निकायलाई यदि मैले त जितेर आएको पार्टीका आडमा गुलामी गर्नुपर्छ भन्ने मात्र सोचले गाँज्यो र जताततै नातावाद चल्यो भने भ्रष्ट दरबार गाउँगाउँ पुग्यो भन्नुपर्ने हुन सक्छ । आज जुन देशमा मर्दाखेरि लास उठाउने मलामी पाउन छोडिएको छ, जुन देशमा राजनीति मात्रै ठूलो हो भन्ने शैली छ । जहाँ शिक्षा र शैक्षिक व्यक्तित्वको सम्मान हुँदैन, जहाँ विज्ञहरूले नेताको दैलो कुर्ने कुलीन परम्परालाई तोड्न सक्दैन भने परिवर्तन कसरी भयो ? सरकारी कामका लागि कर्मचारी आफन्तवादको खेमापन्थी चलाउँछन्, कर्मचारी नेताको पावर बोकेर कामचोर प्रवृत्तिमा हाबी बन्छ । क्षमता र योग्यताको उपहास भइरहन्छ भने सुशासन कहाँ कुन स्थानमा कसरी कायम रहन्छ ? हिजो सन् १९७० ताका जापानलाई चामल निर्यात गर्ने, दोस्रो विश्वयुद्धपछि खाद्यान्न बाँढ्ने हैसियत बोकेको नेपाल आज २०२१ सम्मको समयमा कति परजीवी बनेको छ ? आज हामी जापानभन्दा ५० औँ वर्षपछि रहेछौँ । आज यसको कारण अधोगति अधोमति भएका मुलुकमा अर्कालाई बझाएर, लडाएर आपूm उक्सिने प्रपञ्च मात्र रचिन्छ र राजनीति चलिरहन्छ । वास्तवमा दाता गरिब हुँदैन माग्नेलाई उन्नतिले छुँदैन भन्ने हुनुपथ्र्यो । हामीले आत्मनिर्भरता बिर्सिहाल्यौँ । अर्काको भाषा, अर्काको सामान, बोर्डिङ स्कुलमा अङ्ग्रेजी रटाउने, भान्साघरदेखि चर्पीसम्मका सामान आयातित अनि देशको उन्नति कसरी सम्भव हुन्छ ?

फ्रान्स सन् १९६७ ताका आज हाम्रो देशको जस्तै अन्योल र बेमेलको शैलीमा थियो । आज २०२१ मा हामी त्यसबेलाको फ्रान्स जसरी ५४ वर्ष पछाडि रहेछौँ । अब, दक्षिण कोरियातिर एउटा प्रोफेसरले बोल्दा, तिनका छेउमा पर्दा आफ्नो आसन छोडेर सादर सम्मान हुन्छ । हाम्रो देशमा नेताको दैलो कुर्ने लाजमर्दो प्रवृत्ति प्रबल हाबी बनेको छ । यदि यही विसङ्गतिपूर्ण चरित्र हाबी बन्दै जाने हो भने यो मुलुकमा अर्को पृथक क्रान्ति हुने खतरा रहेको देखिन्छ । यहाँबाट ठूलो सङ्ख्यामा युवाशक्तिको जमात बाहिरिनु भनेको एकदिन पृथक प्रकृतिको नेतृत्व जन्मनु हो । यसको जिम्मेवार हरेक सत्तापक्षी र विपक्षी नेतृत्व बन्नुपर्छ । विकासकै कुरा गर्ने हो भने २००७ देखि आजसम्म ७० वर्षको अन्तरालमा हाम्रो मुलुकले थुप्रै खाले सत्ताका प्रकृति पायो तर परिवर्तनलाई ठोस् आभाष गर्नै पाएन । कारण, हामीले स्पष्ट योजना र कार्यान्वयनको चरणलाई बोध गर्नै जानेनौँ । नीति बनायौँ, सुन्दर हुन्छ तर कार्यान्वयन र प्राप्तीको विवरणसँग दूरदर्शी बन्नै जानेनौँ ।

निष्कर्षतः देशले पहिलाको नेपाल र अहिलेको नेपाल हेरेर निराशाले जकडेको जनमानसलाई आशाले जोड्ने पहिलो आधार युवालाई अवसर र विकासको बाटोमा प्रयोग गर्नु नै हो । सम्भाव्यता खोतलेर युवाशक्तिका क्षमतालाई स्वदेशमै सम्मान गर्ने हो भने धेरै समस्या हल हुन्छ । विकासे मार्ग अघि बढ्न बेर पनि लाग्दैन । पद, पैसा र पावरको धाकले देशको शासन व्यवस्थामा प्रहार हुन्छ त्यसैले आदर्शवादी व्यवहारको विकासवादी समृद्धि ल्याउन सक्नुपर्छ । विना भेदभाव व्यवहार र सबैलाई माया र प्रेम पस्कन थाल्ने र प्रतिपक्षीसँग पनि भाइचाराकै भावमा विकास र बाधक चिन्ने निकायलाई बलियो बनाइसक्दा देश बन्न युगौँसम्म कुरिरहनु नपर्ला । सबै समस्यासँग राजनीतिक कमजोरी नै जोडिन्छ तर विकासका क्षेत्रमा नवीन संरचना र व्यवस्थाको ज्ञानको अभाव हुनु पनि त हो । नयाँ व्यवस्था हो समय लाग्न सक्ला यद्यपि साना मान्छे, गरिब तर क्षमता भएकादेखि सुरू गर्नुपर्छ । सर्वहारा वर्ग र कम्युनिस्ट सिद्धान्तलाई केन्द्रमा राख्ने नै हो भने ठूला विकासलाई मात्रै विकास हो भन्ने संस्कारलाई बदल्न सक्नुपर्छ । अब आर्थिक समताको सिद्धान्तमा माथिल्लालाई नदबाइ तल्लालाई उकास्नुपर्छ । यो विषय जातिगत, लैङ्गिक ढाँचाबाट होइन आय र जेथोका आधारबाट मापन हुनुपर्छ ।

-ramesh [email protected]

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया