मनसुनी विपद्-बारे सचेतना

अन‌ि यो पनि

यसवर्ष जेठ २८ गतेबाटै मनसुन भित्रिएको छ । मनसुनजन्य विपद्का कारण देशका विभिन्न नदीखोलाहरुमा बाढी आउने र पहिरा जाने क्रम बढिरहेको छ । यसवर्ष मनसुनको सक्रियता सुरू भएसँगै बाढीपहिराका कारण १७ जनाको मृत्यु भएको छ भने २३ जना सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार करिब दुई हजार जना विस्थापित भएका छन् । वर्षाका कारण दर्जनौँ स्थानमा सडक अवरोध भएका छन् । मौसम विज्ञान विभागले यसवर्ष मनसुनको समयमा १८ लाख बढी मानिस प्रभावित हुनसक्ने प्रक्षेपण गरेको छ । यस कारण विभागले मनसुनी वर्षा सुरू भएसँगै नदीखोलामा बाढी आउन सक्ने, पहिरो जान सक्ने र तराईका जिल्लाका अधिकांश नदीवरपरका बस्तीहरु डुबानमा पर्न सक्ने पूर्वानुमान गरी सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । विपत्तिलाई कसैले पनि रोक्न नसकिए पनि त्यसको पूर्वानुमान गरेर सचेतना अपनाउने हो भनेमात्र पनि सम्भावित जनधनको क्षति कम गर्न सकिन्छ ।

मानवीय कमजोरीका विविध कारणहरुले नै विपत्ति निम्तिएका हुन हुन्छन् । वनजंगलको विनास, नदीखोलाको अस्वाभाविक दोहन, विकास र सडक खन्ने नाममा अस्वाभाविकरुपमा चलाइएका डोजरका कारण पनि बाढीपहिरो अचाक्ली गइरहेको पाइन्छ । यसबाहेक मानिसले कमजोर भूबनोट भएका ठाउँमा बस्ती बसाउँदा पनि पहिराको चपेटामा परेर मानवीय क्षति हुँदै आएको छ । विडम्बना ! प्रकृतिले बारम्बार विपद् निम्त्याउँदा पनि अझैसम्म भिरालो र कमजोर माटो भएका ठाउँमा बस्ती बस्ने क्रम जारी नै छ । यसपटक पनि सिन्धुपाल्चोकमा बाढीपहिरोले वितण्डा मच्चाएको छ । खासगरी २०७२ सालको भूकम्पपश्चात त्यहाँका नागरिकहरु प्राकृतिक प्रकोपबाट नराम्रोसँग प्रभावित बन्दै आएका छन् । भूकम्पको समयमा पनि सिन्धुपाल्चोकमै सबैभन्दा धेरै मानिसको ज्यान गएको थियो भने त्यसयता बाढीपहिरोका कारण कैंयो मानिसको ज्यान गइसकेको छ । यसवर्षको मनसुनजन्य विपद्को सुरूवातमा पनि सिन्धुपाल्चोकबाटै दुखद् खबर सुन्नुपरेको छ । मेलम्चीमा आएको बाढीले सात जनाको निधन भइसकेको छ भने २० जना बेपत्ता छन् । दुःखका साथ भन्नुपर्दा सिन्धुपाल्चोकमा भएको क्षति मानवीय कमजोरीकै कारणले भएको हो । भूकम्पको समयदेखि नै जोखिमयुक्त बस्ती भनिएको ठाउँमा खोला नै अतिक्रमण गरेर, खोलामै जोडेर बस्ती बसाउने जुन मनोविज्ञान छ, त्यो नै विपत्तिको कारक बन्न पुग्यो ।

जुनसुकै हिसाबले पनि प्रकृतिमाथि अतिक्रमण नरोकिएसम्म यस्ता प्राकृतिक विपत्तिहरुको सामना गर्नुपर्ने हुन्छ । अहिले वर्षा टरिसकेको छैन । अहिले जे जति क्षति प्रकाशमा आएका छन्, त्यो सुरूवाती अवस्थामात्रै हो । अहिले पनि देशका पूर्वदेखि पश्चिमका विभिन्न नदीमा पानीको बहावको खतरा बढ्दै गएको पाइएको छ । कन्काई, कोशी, कमला, बागमती, नारायणी, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढ्न गई खतराको सूचक नाघिसकेको छ । केही दिनअघि नारायणी नदीको सतह इतिहासमै पहिलोपटक १०.४६ मिटर मापन गरिएको थियो । जबकि गत वर्ष वितण्डा मच्चाएको नारायणीको सतह ९.९१ मापन भएको थियो । नारायणी नदीमा ७.३ माथिको तहलाई खतराको तह मानिन्छ । मनसुनको सुरूवातमै नदीखोलाहरु खतराको तह पार गरिसकेको अवस्थामा साउनसम्म कस्तो स्थिति रहन्छ भन्ने अनुमान गर्न सकिँदैन । प्रकृतिलाई कसैले पनि आफ्नो वशमा राख्न सक्दैन । तर, आफू र वरपरका मानिसलाई सुरक्षित राख्न भने अवश्य सक्छ । त्यसैले समयमै सतर्कता अपनाऔँ । राज्यका निकायहरुले गर्ने पूर्वतयारी प्रकोपपछिको उद्धार र व्यवस्थापन भएकाले सबैले आआफ्नो ठाउँमा जोखिम अनुमान गरेर सुरक्षित बन्नु एकमात्र विकल्प हो । किनभने, सचेतनाले मात्र पनि सम्भावित जोखिमबाट बच्न र बचाउन सकिन्छ ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया