खेलकुदमा प्रदेश सरकारको उपेक्षा, ०.५ प्रतिशत बजेट

अन‌ि यो पनि

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि तयार पारेको बजेट योजनामा खेलकुदलाई उपेक्षा गरिएको छ । प्रदेश सरकारले ५७ अर्ब ७२ करोड रूपैयाँबराबरको बजेट विनियोजन गर्दा खेलकुद क्षेत्रलाई भने ०.५ प्रतिशतमात्र बजेट छुट्याएको छ ।

गत असार १ गते मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारको आगामी आवको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको बजेटमा खेलकुदका विषयले राम्रो स्थान पाउन नसकेको हो । खेलकुदका लागि जम्मा २९ करोड रूपैयाँमात्र बजेट विनियोजन भएको उल्लेख छ ।

बजेट कार्यक्रमको बुँदा नं ७१ मा युवा तथा खेलकुद कार्यक्रमअन्तर्गत प्रदेशभित्र निर्माणाधीन खेलकुद पूर्वाधारको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्नका लागि २९ करोड रूपैयाँ छुट्याइएको उल्लेख छ । जुन कुल बजेटको ०.५ प्रतिशतमात्र हुन आउँछ ।

सो रकमबाहेक खेलकुदको क्षेत्रमा कुनै रकम तोकेर छुट्याइएको छैन । निर्माण सम्पन्न भइसकेका रङ्गशाला र कभर्ड हलहरुको संरक्षण, सञ्चालन र व्यवस्थापन प्रदेश खेलकुद विकास परिषद् र स्थानीय तहलाई जिम्मा दिएको छ । यस्तै बुँदा नं. ७० खेलकुदको विकास र विस्तारका लागि खेलकुद पूर्वाधारहरुको निर्माण, संरक्षण र सञ्चालनका साथै खेलाडी, रेफ्रि र प्रशिक्षकको क्षमता विकास गर्ने कार्यक्रम सञ्चालनमा जोड दिइने उल्लेख गरिएको छ । तर यसका लागि कति बजेट छुट्याइएको भनेर कुनै उल्लेख गरिएको छैन ।

अघिल्लो आवमाभन्दा केही कम रकम र खेलकुदका योजनाहरु पर्याप्त रुपमा नखुलाइए पनि आगामी आवमा खेलकुदमा छुट्याइएको बजेट प्रदेशको खेलकुद क्षेत्रको विकासमा पर्याप्त हुने बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी बताउँछन् । खेलकुदका निर्माणाधीन संरचनालाई पूर्ण गर्न रकम तोकिएको र आगामी योजनाका लागि बजेट नतोकिएको भए पनि खेलकुद क्षेत्रमा आवश्यक योजनाअनुसार विनियोजन हुन सक्ने उनले बताए ।

तोकिएको २९ करोड रूपैयाँसहित खेलकुदको विकासका लागि प्रदेश सरकारले कम्तीमा पनि ८० करोड रूपैयाँ बजेट प्रदान गर्नेमा आफू ढुक्क रहेको उनको भनाइ रहेको छ । प्रदेशले खेलकुदको विकासका लागि आवश्यक पर्ने बजेट विनियोजन नगरेको भन्दै मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानुकुमार लामाले असन्तुष्टि व्यक्त गरे । अहिलेको अवस्थामा खेलकुदको विकास अत्यावश्यक रहेको भन्दै प्रदेशले निकै कम बजेट राखेर खेलकुदको योजना ल्याउँदा खेलकुद क्षेत्रका पदाधिकारीहरुदेखि खेलाडीहरुसम्म सन्तुष्ट हुन नसक्ने उनले बताए ।

कोरोनाको कारण युवाहरुमा कुलतदेखि मानसिक समस्यासमेत देखिने भएकाले उनीहरुलाई स्वस्थ बनाउन तथा खेलकुद क्षेत्रमा सक्रिय खेलाडीहरुलाई समेत खेल क्षेत्रबाट विस्थापित हुन नदिन खेलकुदको क्षेत्रमा थप नयाँ योजनाहरु ल्याउनुपर्ने उनको भनाइ रहेको थियो । जसका लागि हाल विनियोजन भएको बजेट निक्कै कम हुने उनको जिकिर छ ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया