कोरोना महामारीको असर : सौराहाका गाइडहरुको गुम्यो रोजगारी

अन‌ि यो पनि

–होमनाथ सापकोटा
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहाका नेचर गाइडहरुको रोजगारी गुमेको छ । कोरोना महामारीका कारण सौराहाको पर्यटन बन्द भएपछि यहाँ कार्यरत ३०० जना गाइडहरुको रोजगारी गुमेको हो ।

कोरोनाको दोस्रो लहर सुरू भएपछि वैशाख १६ गतेदेखि सौराहाका होटलहरु बन्द रहेका छन् । सौराहा बन्द भएपछि ४०० मध्ये सक्रियरुपमा पेसामा आबद्ध ३०० गाइडहरुको रोजगारी गुमेको हो । चितवनमा ७०० जना गाइडहरु रहेका छन् ।

कोरोनाको पहिलो लहर कम भएपछि २०७७ साल कार्तिक महिनाबाट सौराहामा आन्तरिक पर्यटक आउन सुरू भएको थियो । कार्तिकदेखि वैशाखसम्म ६ महिना सौराहाको पर्यटन सुचारू भएको थियो । ढेड वर्षदेखि करिब २०० गाइडहरुको रोजगारी गुमेको थियो ।

लामो समयदेखि पर्यटन क्षेत्र बन्द हुँदा गाइडहरु पलायन हुने क्रम सुरू भएको नेचर गाइड एसोसिएसन चितवनका अध्यक्ष राजेन्द्र धामीले बताए । रोजगारी गुम्यो भने गुजारा चलाउनै समस्या हुने गाइडहरुको संख्या करिब १०० जना रहेको छ । सौराहाको पर्यटन बन्द भएर रोजगारी गुमेपछि गाइडहरुलाई जीविकोपार्जनमै समस्या भएको छ ।

दिनभर पर्यटक घुमाएर आएको पैसाले दाल, चामल किनेर परिवार पाल्दै आएका गाइडहरुलाई संकटमा परेको अध्यक्ष धामीले बताए । सौराहाको पर्यटन व्यवसाय बन्द भएपछि कामविहीन बनेका गाइडहरु अहिले गाउँघरमा ज्याला मजदुरी गर्ने, कृषि क्षेत्रमा श्रम गर्ने गरेका छन् ।

लामो समयदेखि सौराहामा गाइड पेसा गर्दै आएका रोजगारी गुमेपछि मदन निरौलाले जंगलबाट निउरो बेचेर गुजरा चलाउँदै आएका छन् । ‘पर्यटकलाई प्रकृति देखाएर कमाएको पैसाले परिवार पाल्दै आएको थिएँ, निरौलाले भने, ‘सौराहामा काम गर्न नपाएपछि निउरोलगायतका तरकारी बेचेर जेनतन गुजारा गर्दै आएको छु ।’

तरकारी बेच्न नपाएको दिन उनको घरको चुलो बल्दैन । आफूहरु पर्यटन विकासको पहरेदार रहेको भन्दै उनले दुःखको बेला राज्यले केही नगरेको गुनासो गरे । २० वर्षदेखि सौराहाको पर्यटनमा आबद्ध रामगिर चौधरी बेकामे बनेका छन् । उनको जीविकोपार्जनको आधार नै सौराहाको पर्यटन हो ।

‘ढेड वर्षदेखि राम्ररी काम गर्न पाइएको छैन’, चौधरीले भने, ‘६ महिनामा कहिलेकाहीँ काम पाइयो, अहिले काम पनि छैन, पैसा पनि छैन ।’ सौराहामा क्रियाशील ३०० गाइडहरु होटलमा जागिरे, गाइड अफिसमा आबद्ध तथा स्वतन्त्ररुपमा पर्यटकलाई सेवा प्रदान गर्ने गरेका छन् ।

सफारी पर्यटनको लागि नेचर गाइड मह¤वपूर्ण जनशक्ति हो । गाइडहरु स्वदेशी तथा विदेशी पर्यटकहरुलाई निकुञ्ज सफारी, जीप सफारी, वनबास (टावर नाइट), डुंगा सयर, कल्चरल टुर गराउने गरेका छन् । नेचर गाइडहरु पर्यटकको सुरक्षा कबज हुन्, एसोसिएसनका अध्यक्ष धामीले भने, ‘पर्यटनको विकासका लागि ज्यान जोखिममा राखेर सेवा गरेका गाइडहरु पलायन हुने अवस्था आउनु दुःखद् हो ।’

रोजगारी गुमेका गाइडहरुलाई वन तथा वन्यजन्तु संरक्षणको काममा क्रियाशील गराएर रोजगारी सिर्जना गर्न आफूले निकुञ्जमा प्रस्ताव गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ । सौराहाको पर्यटन सुचारू भएपछि पनि लामो समयसम्म सबै गाइडहरुले काम पाउन सक्ने अवस्था छैन । सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउन सुरू भएपछि करिब ३०० जना नेचर गाइडहरु आवश्यक पर्छ ।

संकटको बेला गाइडहरुलाई संरक्षण गर्न सकिएन भने चाहिएको बेला जनशक्ति अभाव हुन सक्ने एसोसिएसनका अध्यक्ष धामीले बताए । ‘अहिले गाइडहरुको निकुञ्ज प्रवेशको लागि दिइएको अनुमति पत्र नवीकरण गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘कम्तीमा पनि नवीकरण शुल्क मिनाह गर्न सके केही राहत हुने थियो ।’

नेचर गाइड सम्मानित र जिम्मेवार पेसा हो । सौराहाका होटलहरुकै कारण यो पेसा धराशयी बनेको छ । होटलमा काम गर्ने सबै गाइडहरुलाई बिदा दिइएको छ । महामारीको बेला होटल सञ्चालकले जीविकोपार्जनको आधार नदिएका कारण गाइडहरु पलायन भएको अध्यक्ष धामीले बताए ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया