जुक्ति [लघु कथा]

अन‌ि यो पनि

–नवराज कोइराला

लकडाउनले थला पारेको थियो उसको व्यापारलाई । लकडाउन केही खुकुलो हुनासाथ ऊ गाउँतिर गयो र सबैलाई भन्यो, ‘म तपाईंहरुसँग खसीबाख्रा किन्न आएको, यो गाउँमा जति पनि खसी बाख्रा छन् ती प्रतिकिलो एक–एक हजारका दरले मलाई दिनुस् ।’
गाउँलेहरुले गाउँमा भएका केही खसीबाख्रा त्यहीँ ल्याए र उसलाई प्रतिकिलो रू. एक–एक हजारका दरले बेचे ।
केही महिनापछि त्यो व्यापारी फेरि त्यही गाउँमा आएर भन्यो, ‘अब म तपाईंहरुको खसीबाख्रालाई प्रतिकिलो रू. दुई– दुई हजारका दरले किन्न आएको ।’ गाउँलेहरुले गाउँमा रहेका नब्बे प्रतिशत खसीबाख्राहरु समातेर ल्याए र प्रतिकिलो रू. दुई–दुई हजारको दरले बेचे ।
क्रमिक रुपमा ऊ त्यही गाउँमा जान थाल्यो र भन्यो, ‘ अब म तपाईंहरुको सबै खसीबाख्रा प्रतिकिलो रू. पाँच–पाँच हजारका दरले किन्दै लानेछु, तर, म केही दिनका लागि घर जानुपर्ने भएको हुँदा म नआइन्जेल यो कामको जिम्मा मेरो कामदारलाई दिएको छु । तपाईंहरुलाई म घरबाट फर्किएपछि फेरि भेट्नेछु ।’ यति भनेर ऊ आफ्नो बाटो लाग्यो ।
केही दिनपछि कामदार त्यही गाउँमा गयो । कामदार आएको देखेर गाउँलेहरुले सोधे, ‘हामीहरुसँग भएका सबै खसीबाख्रा तपाईंको साहूजीलाई बेचिसकेका छौँ, अब हामीसँग अरु खसीबाख्रा छैनन् ।’ गाउँलेहरुको कुरा सुनेर कामदारले एउटा जुक्ति निकाल्यो र भन्यो, ‘ल सुन्नुस्, तपाईंहरुलाई एउटा जुक्ति दिन्छु । त्यो के हो भने मेरो साहूजीसँग भएका खसीबाख्रा तपाईंहरुले रू. चार–चार हजारका दरले किन्नुहोस्, अनि साहूजी आएपछि रू. पाँच–पाँच हजारका दरले बेच्नुहोस् । तपाईंहरु सबैलाई रू. एक–एक हजार फाइदा हुनेछ ।’
उसको जुक्ति सुनेर सबैको चित्त बुझ्यो । गाउँमा छलफल भयो । आफैँले एक–एक हजार र दुई–दुई हजारमा बेचेका खसीबाख्राहरु रू. चार–चार हजारमा किन्ने सोच बनाए ।
त्यसपछि हप्ता बित्यो, महिना बित्यो र वर्षौं बित्यो । गाउँमा न व्यापारी पुग्यो न कामदार नै । जता हेरे पनि खसी र बाख्रामात्रै देखिन थाल्यो !

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया