निदाइरहेको तिमी [कविता]

अन‌ि यो पनि

–अन्जान ढुङ्गाना

विचारको जङ्गल बढारेर
हुर्रिदै आएको एउटा आँधी
भर्खरै सुसेलेर गयो तिम्रो कानैछेउ
तिमी निदाइरहेका छौ ।

रहरको बेमौसमी झरीले
निथ्रुक्कै भिजेको एउटा सपना
चिप्लिएर लड्यो तिम्रो आँखाको डिलनेरै
तिमी बर्बराएका छैनौ ।

एकाकीको चिरन्तन पर्दालाई
हल्लाएर आएको एक झोक्का बतास
तिम्रो आलिङ्गन ताकेर
सुटुक्क छिरेको छ तिम्रो सिरकभित्रै
तिमी गुजुल्टिएका छौ ।

सृष्टिको मूल रसाएर
चुहिएको एक थोपा शीत
छचल्किएको छ
तिम्रो स्पर्शको करूवामा–
तिमी चलमलाएका छैनौ ।

झोलाभरि शारदीय कोसेली बोकेर
आकाङ्क्षाको एक गुच्छा पारिजात
ओइलाएको छ तिम्रो सिरानीमै
तिमीले मुख छोपेका छौ ।

युगीन आकासको टुकीबाट
उछिट्टिएको एक टुक्रा जून
रातभरको अमूर्त उज्यालो पोतिरहन्छ
तिम्रो घरको उडेको रोगनमाथि
तिमीले झ्याल थुनेका छौ ।

जीवनको बाँसुरी बोकेको
बिहानीको गीतको एक लय
खजमजिएको छ
तिमीले बिछ्याएको तन्नासँगै
तिमी कोल्टे परेका छौ ।

तिमी निदाइरहेका छौ,
अन्धकारको घोप्टिएको हत्केलामुनि
सोकेसमा सजाइएको
नशाको ब्रान्डेड बोतलको गोलाइभित्र
आवरण थोपरिएको
बुख्याँचाको कङ्काल योनिभित्र
गर्भपतन गराइएको
किशोरीको अवैध पाठेघरभित्र
व्यस्त सडकछेउमा
छूट बेचिरहेका अनेकन चिच्याहटभित्र
सहरले बिर्सिएको
बिरानो समयको सालिकको चिसो मुटुभित्र
धुवाँ÷धुलो÷र बादलले
थोत्र्याउँदै गएको झन्डाको खुइलिएको रंगभित्र
बाँझो खेतजस्तै जर्जर÷चर्चर
आफ्नै औँलाका किरिङमिरिङ रेखाहरुभित्र ।
जबदेखि
अतिशय भोकले रन्थनिएर
चरन खोज्दै निस्किएको थियो चेतना ।

जबदेखि
बसिआएको गुँड भत्किएर
रुखहरु खोज्न उडेको थियो पक्षी

जबदेखि
असीमित तिर्खाले बहुलाएर
हराएको गति खोज्दै फर्किएको थियो नदी

जबदेखि
अनवरत हिउँले कठ्याङ्ग्रिएर
स्वेटर किन्न क्षितिजबाट झरेको थियो घाम

जबदेखि
खडेरी र अभावले छटपटाएर
रोटी खरिद गर्न बजार छिरेको थियो माटो

जबदेखि
मौनताको मसानले आत्तिएर
च्यातिएको कविता खोज्न हिँडेको थियो अक्षर

तबदेखि
तिमी निदाइरहेका छौ


आमाको गर्भाशयबाट
यो सब हेरिरहेछु÷देखिरहेछु ।
जन्मिँदा
सायद, निदाएरै जन्मिन्छु कि !

[email protected]

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया