विराट मेडिकल ट्रष्टले दियो स्थानीय तहलाई स्वास्थ्य सामग्री

अन‌ि यो पनि

–कुलप्रसाद काफ्ले
भरतपुर । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि विराट नेपाल मेडिकल ट्रष्टले चितवनका स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । ब्रिटेन नेपाल मेडिकल ट्रष्ट युकेको आर्थिक सहयोगमा विराटले स्वास्थ्य कार्यालयमार्फत जिल्लाका सातवटै स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि आवश्यक पर्ने पिपिई, सर्जिकल मास्क, ग्लोब्स, पल्स अक्सिमिटर र स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री स्थानीय तहमा वितरण गरिएको हो । ६ लाख रूपैयाँबराबरको उक्त स्वास्थ्य सामग्री स्थानीय तहका स्वास्थ्य शाखाले स्वास्थ्य संस्थाहरुलाई वितरण गर्नेछन् ।

विराट नेपाल मेडिकल ट्रष्ट (बिएनएमटी)का परियोजना व्यवस्थापक पुष्करराज पौडेलले प्रदेश स्वास्थ्य निर्देशनालय, हेटौँडाका निर्देशक रमेशप्रसाद अधिकारीको उपस्थितिमा उक्त सामग्री स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीलाई बिहीबार हस्तान्तरण गरेका हुन् ।

पौडेलका अनुसार जुत्तासहितको पुनः प्रयोग गर्न मिल्ने पिपिई १५० सेट, सर्जिकल मास्क ७० बट्टा, सर्जिकल ग्लोब्स ५०० जोडी, केएन ९५ मास्क ५०० थान, फेससिल्ड ५०० थान, ह्यान्ड स्यानिटाइजर ५०० थान र पल्स अक्सिमिटर ३५ थान हस्तान्तरण गरिएको हो । यी सामग्री विभाजन गरेर स्थानीय तहहरुलाई वितरण गरिएको हो ।

चितवनमा लागू भइरहेको दोस्रो चरणको पाँचमहिने इमर्जेन्सी सपोर्ट एण्ड सस्टेनेन्स टु कम्युनिटिज एफेक्टेड बाइ क्राइसिस (सस्टेन) नामक परियोजनाअन्तर्गत स्वास्थ्य सामग्री वितरण गरिएको पौडेलले बताए । कोभिड–१९ नमुनाको छिटो र प्रभावकारीरुपमा परीक्षण गर्न विराटले यसअघि जिल्लाका विभिन्न तीनवटा प्रयोगशालालाई तीन जना ल्याव असिस्टेन्ट उपलब्ध गराएको उनले बताए ।

दोस्रो लहरको कोरोना महामारी नियन्त्रण गर्न विराटले चितवनलगायत मोरङ, महोत्तरी, मकवानपुर, बाँके, बर्दिया र प्युठानमा स्वास्थ्य सामग्री वितरण गरिसकेको छ । पहिलो लहरको कोरोना महामारीका बेला पनि विराटले स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।

कार्यालयमार्फत स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिँदा पारदर्शी हुने स्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारी बताउँछन् । आफूखुसी वितरण गर्दा एउटै स्वास्थ्य संस्थाले धेरैपटक स्वास्थ्य सामग्री पाउने सम्भावना हुने भन्दै उनले आवश्यकताका आधारमा र पारदर्शीरुपमा वितरणका लागि स्वास्थ्य कार्यालयमार्फत जान उनले दाताहरुलाई आग्रह गरे ।

प्राप्त स्वास्थ्य सामग्रीहरु आइसोलेसन सेन्टर र प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्राथमिकता दिएर वितरण गर्न उनले सुझाए । चाहेअनुसार खोप पाउन नसकिरहेको अवस्थामा महामारी नियन्त्रणका लागि प्राप्त सामग्रीको सही सदुपयोग गर्न स्वास्थ्य निर्देशनालय, हेटौँडाका निर्देशक रमेशप्रसाद अधिकारीले सुझाव दिए ।

क्षयरोगका बिरामीलाई पनि स्वास्थ्य सामग्री

क्षयरोगीको पहिचान र उपचारमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रष्टले क्षयरोगका बिरामीलाई पनि लक्षित गरेर स्वास्थ्य सामग्री वितरण गरेको छ । क्षयरोगका बिरामीका लागि एक सय सेट हाइजिन कीट स्वास्थ्य कार्यालयमार्फत स्थानीय तहलाई वितरण गरिएको बिएनएमटी नेपाल, जिल्ला कार्यक्रम संयोजक समिरा गौतमले बताइन् ।

गौतमका अनुसार प्रतिसेट २५ थान सर्जिकल मास्क र स्यानिटाइजर, हात धुने र नुहाउने साबुन, ब्रस र पेस्टलगायतका सामग्री वितरण गरिएको हो । बिएनएमटीले चालू आव ०७७÷७८ मा ४८ जना क्षयरोगी पत्ता लगाएको छ ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया