कोरोनाले छुटायो ‘घरदैलो विद्यार्थी भर्ना कार्यक्रम’

अन‌ि यो पनि

–किशोर खनाल
भरतपुर । शिक्षा मन्त्रालयको निर्देशनअनुसार चितवनमा असार १ गतेदेखि स्कुल (नर्सरीदेखि नौसम्म) भर्नाको अभियान चलिरहेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण यसवर्ष वैशाखमा हुने भर्ना अभियान असारमा आइपुगेको छ ।
शिक्षा विकास समन्वय समितिका अनुसार चितवनले जिल्लाका सातै पालिकाहरुले अनलाइन प्रविधिबाट विद्यार्थी भर्ना चलाइरहेका छन् । कोरोनाका कारण यसपटक पनि विद्यालयहरुले ‘घरदैलो भर्ना कार्यक्रम’ चलाउन पाएनन् ।

शिक्षा विकास समन्वय समिति चितवनका प्रमुख भूमिलाल सुवेदीले कोरोनाका कारण यसपटक पनि घरदैलो गरेर विद्यार्थी भर्ना गर्न नपाइएको बताए । उनले भने, ‘कोरोनाको सङ्क्रमण अझै कायमै छ, विगतका वर्षहरुमा शिक्षकहरु घरघरै गएर विद्यार्थी भर्ना गर्थे, तर यसवर्ष पनि कोरोनाका कारण घरघरै गएर भर्ना गर्न सक्ने अवस्था भएन ।’

उनले कोरोनाका कारण विगत दुई वर्षदेखि घरदैलो भर्ना कार्यक्रम रोकिएको बताए । प्रमुख सुवेदीले भने, ‘असार १५ सम्म भर्ना अभियान चल्छ, १० गतेसम्म त निषेधाज्ञा छ, त्यसपछि पनि के हुन्छ थाहा छैन, अवस्था सहज भए असार १६ गतेबाटै कक्षा चलाउनुपर्छ ।’

उनका अनुसार सातै पालिकाका विद्यार्थीहरुले अनलाइनमार्फत धमाधम विद्यार्थी भर्ना गरिरहेका छन् । आफ्नै स्कुलमा पढेर उत्तीर्ण भएका विद्यार्थीहरुका विद्यालयहरुले सीधै नाम टिपाएर भर्ना गरिरहेका छन् । असार ७ गतेसम्म चितवनमा पहिलो चरण र असार १५ गतेसम्म दोस्रो चरणको भर्ना अभियान चल्ने शिक्षा विकास समन्वय समितिले जनाएको छ ।

भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका अधिकृत ऋषि शर्माले फेसबुक, म्यासेन्जर, मेललगायतका प्रविधिबाट भर्ना अभियान चलाइएको बताए । उनले भने, ‘भौतिकरुपमा विद्यार्थीलाई उपस्थित नगराई वैकल्पिक अनलाइनको माध्यमबाट सबै विद्यालयले भर्ना गरिरहेका छन् ।’

रत्ननगर नगरपालिकाका शिक्षा शाखाका प्रमुख बद्रिनारायण शर्माले अनलाइनबाट भर्नाको फाराम भर्न लगाएर विद्यार्थी भर्ना गरिरहेको बताए । उनले भने, ‘विगतमा जसरी घरघरै गएर विद्यार्थी भर्ना गर्ने कार्यक्रम यसवर्ष हुन सकेन, त्यसकारण अनलाइनबाट भर्ना गरिएको छ ।’

खैरहनी नगरपालिकाका शिक्षा शाखा प्रमुख राजु बानियाँले सबै विद्यालयमा इन्टरनेटको पहुँच भएका कारण अनलाइनबाटै विद्यार्थी भर्ना सम्भव भएको बताए । उनले भने, ‘खैरहनीका सबै वडामा इन्टरनेट पुगेको छ, कुनै विद्यार्थीको घरमा इन्टरनेटको पहुँच नभए छिमेकमा या पहुँच भएको ठाउँमा गएर भर्नाको फाराम भर्न सुझाव दिएका छौँ ।’

राप्ती नगरपालिकाका केही वडामा इन्टरनेटको पहुँच नभएका कारण सो ठाउँमा फोनबाटै भर्ना अभियान चलाइएको छ । राप्ती शिक्षा शाखाका प्रमुख शम्भु पौडेलका अनुसार राप्ती–१०, ११, १२, १३ नम्बर वडामा इन्टरनेटको पहुँच छैन, सो ठाउँमा अनलाइनबाट भर्ना सम्भव छैन । उनले भने, ‘इन्टरनेटको पहुँच नभएको ठाउँमा फोनबाट नाम टिपाएर भर्ना गरिएको छ, अन्य ठाउँमा अनलाइनबाट गरिएको छ ।’

कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि सबै ठाउँमा इन्टरनेट नहुँदा फोनबाट नाम टिपाएर भर्ना गरिएको शिक्षा शाखाले जनाएको छ । कालिका नगरका शिक्षा शाखा प्रमुख नारायण वाग्लेले वैकल्पिक प्रविधिबाट भर्ना गरिएको बताए । माडी नगरपालिकाले पनि अनलाइनबाटै विद्यार्थी भर्ना अभियान चलाइरहेको छ ।

इच्छाकामना गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गा खड्काले इच्छाकामनामा अनलाइनबाट भर्ना अभियान सम्भव नभएको बताइन् । उनले भनिन्, ‘धेरै ठाउँमा इन्टरनेटको पहुँच छैन, पुगेको ठाउँमा पनि सबैले इन्टरनेट जोडेका छैनन् । त्यसैले, फोनबाट भर्ना अभियान चलाइएको छ ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया