अनि पहाड उक्लने भयौँ… [कोरोना डायरी–१६ ]

अन‌ि यो पनि

–रमेशकुमार पौडेल

डायरी नियमित पढ्नेहरुले ख्याल गर्नुभएकै होला, बढ्दो कोरोना कहरलाई नियन्त्रण गर्न लकडाउन भएपछि कसरी पहिलोपटक घरबाट निस्केर बजार डुलियो । अनि, वन पनि घुमियो । घरबाहिर निस्कने क्रम बढेसँगै सयौँ किलोमिटर पैदलै हिँडेर घर पुग्नेहरुका कथाव्यथा पनि सुनियो । केही मह¤वपूर्ण मान्छेसँग समाचारका लागि भेटघाट गर्न पनि सुरू भयो । कोरोनाबाट जोगिने उपायहरु अपनाएर बैठकमा भाग पनि लिइयो । कोरोनासम्बन्धी जिल्लामा हुने गरेका केही कामहरुको अवलोकन पनि गर्न भ्याइएको थियो । अब बाँकी थियो पहाड उक्लन । पहाडमा सीमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय चेपाङको मुख्य बसोबास छ । पाखापखेरामा बस्ने हुनाले खेती गर्ने ठाउँ राम्रो छैन । आफ्नो बारीमा उब्जेको अन्नले ६ महिना खान नपुग्ने चेपाङहरु प्रशस्तै छन् । ज्याला मजदुरी नगरे किनेर खान सकिँदैन । गाउँघरमा निमेक मजदुरी गर्ने अवस्था छैन । घर छाडेर पर जानुपर्दछ । तर, लकडाउनले हिँडडुल ठप्प भएपछि कहाँ जाने ? चेपाङहरु पक्कै सङ्कटमा छन् होला भन्ने लागेर अब पहाड उक्लनुपर्दछ भन्ने सोच बन्यो ।

फोन सम्पर्कमा आएका प्रायः चेपाङ सर्वसाधारण र अगुवाहरुले गाह्रो हुँदै गएको बताएका थिए । फोनमा मात्रै बुझेरभन्दा गाउँमै जान उपयुक्त हुन्थ्यो । तर, कोरोनाको डरत्रासमा कसरी हिँड्ने ? लोथरको कान्दामा कान्देश्वरी आधारभूत विद्यालय छ । त्यहाँका प्रधानाध्यापक हुन् बालकृष्ण थपलिया । यी मास्टरको ठूलो कथा–कहानी छ । छुट्टै लेखे पनि सयौँ पेज सकिन्छ, तर उनको कथा बाँकी नै रहन्छ । यो बारेमा मौका मिले कुनै बेला भनौँला । यो बेला पहाड चढ्दा कस्तो हुन्छ भनेर सल्लाह लिने उपयुक्त पात्र उनी थिए । भण्डारा घर भएका उनी स्कुल निर्माणका सामग्रीहरु लिन यतै आएका रहेछन् । सामान लिएर जाँदा सँगै जाने प्रस्ताव उनले गरे । शिक्षकहरु बस्ने अलग्गै भवन रहेछ । त्यो भवनमा बस्ने यतिबेला कोही थिएनन् । दुई जनामात्रै बस्दा क्वारेन्टाइनमै बसेसरह हुने उनले बताए । ‘जाँदा मोटरसाइकलमा जाऊँला, जोगिएरै गाउँ डुलौँला नि जाऊँ जाऊँ’ भन्ने कुरा बालकृष्ण सरबाट आयो । हामी जाने कुरा कताबाट हो पत्रकार महासंघका तत्कालीन चितवन अध्यक्ष राधेश्याम खतिवडाको कानमा पनि पुगेछ । ‘म पनि जान्छु ल’ भन्ने प्रस्ताव राखिहाले ।

निकुञ्ज घुम्ने योजना बनाए पनि कार्यान्वयनमा नआएका कारण उनी पहाड जाने हुन् कि नजाने हुन् धुकचुक हुने नै भयो । ‘निकुञ्जजसरी पहाड घुम्ने योजना बिथोल्न पाइँदैन, जाने भए निस्किहाल्नुस्’ भनेर अल्लि कडा बोलियो । उनले ‘त्यस्तो हुँदैन जाने हो, जाने हो, पक्का जाने हो’ भने । अब पहाड जाने तीन जना भइयो । बालकृष्ण सरको स्कुलको सामान बोक्न मिनी ट्रक आउँदै थियो । ट्रक नै जाने भएपछि राहत पनि लिएर किन नजाने भन्ने कुरा चल्यो । कान्दाका लागि शिक्षा र अन्य सामाजिक कार्यक्रममा काम गर्दै आएको मितेरी फाउन्डेसनका अध्यक्ष रङ्गकर्मी÷कलाकार (पशुपतिप्रसादका हनुमान) रवीन्द्रसिंह बानियाँले कान्दाका लागि ७० बोरा चामल र नुन, तेल, दाललगायत जोहो गर्ने भए । पत्रकार महासंघ चितवन शाखाका तत्कालीन उपाध्यक्ष नारायणप्रसाद अधिकारीले लायन्स क्लबमार्फत केही खानेकुराहरुको जोगाड लगाए ।

यसरी हामी राहत र स्कुलका लागि जस्ता र ट्रस्टहरु बोकेर कान्दाका लागि बाटो लाग्यौँ, दिन थियो २०७७ साल जेठ २९ गते । कान्दा जाने प्रायः दुईवटा बाटो छ । एउटा वीरेन्द्रनगर या खुरखुरेबाट कोराकको समिटार, किरनटार, ठकुरीभञ्ज्याङ हुँदै कुहिभिर काटेर कान्दा छिर्ने । अर्को बाटो छ, भण्डाराबाट हात्तीढाप हुँदै कोराक ड्यामबाट बाँदर लड्ने भीर उक्लेर कान्दा पुग्ने । तर, योपटक भने अर्को बाटो जाँदै थियौँ । भण्डारा, हात्तीढाप, एउरेलीटार, भञ्ज्याङ हुँदै कालिटार पुगेर कान्दा उक्लने । कालिटारसम्म गाडी नै जान्छ । त्यहाँबाट कान्दा उक्लन उकालो त छ, तर कोराक ड्यामबाट ठाडो लाग्दा मुटु नै मुखमा आउनेजस्तो जब्बर ठाडो उकालो नभएको बालकृष्ण सरको भनाइ थियो । स्कुलका सामानहरु टन्नै थिए । स्कुल छाउने जस्ता २४ फुटका थिए । यस्तो जस्ता बोकेर ठाडो उकालो लाग्न सम्भव थिएन । त्यसैले, कालिटारको बाटो रोज्नु परेको थियो ।

नारायणगढमा जस्ता किन्ने भनेको पसलवालाले अन्तिममा आएर फोन उठाएन । धन्न हाकिमचोकमा एउटा पसल भेटियो र चाहिएको जस्ता पनि पाइयो । त्यहाँबाट जस्ता लोड गरेर भण्डारा राहत सामग्री राख्न गयौँ । ट्रकधनी राप्ती नगरपालिका–१३ का वडाध्यक्ष सूर्यबहादुर चेपाङ थिए । उनले जस्ता र चामल राख्दा ट्रकले धान्न सक्दैन भन्न थाले । अर्को बोलेरो गाडी खोजेर चामल राख्नुप¥यो ।

कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल राखेर जे–जसरी जाने योजना थियो बाटो लागेपछि त्यो सम्भव नहुने देखियो । बाटो लाग्नासाथ पानी पर्न थाल्यो, अब मोटरसाइकलमा कसरी जाने ? त्यसैले, गाडीमै बसियो । मास्क र स्यानिटाइजर बोकेका थियौँ । सुरक्षाको भरोसा यसैमा थियो । सामान लोड गर्दा फेरि अर्को गाडी खोजेर राख्दा भण्डारामा नै मध्यान्ह भयो । राति १० बजेयता गाउँ पुग्न सम्भव छैन भनेपछि खाना नै खाएर बाटो लाग्ने कुरा भयो । राप्ती नगरपालिका कार्यालयअगाडिको एउटा होटलमा तातो भात खाएर गाडीमा बस्यौँ । दिउँसो १ बजे बल्ल गाडी बाटो लाग्यो । दुईवटा गाडीमा एउटामा राधेश्यामजी र एउटामा म बस्यौँ । बालकृष्ण सर मोटरसाइकलमै आउने हुनुभयो ।

कोरोनाको जोखिमलाई छलेर गाउँ पुग्ने र डुल्ने जुन योजना थियो बाटो लागेपछि त्यो उल्लङ्घन हुन थाल्यो । मैले त झोलामा च्यादर र लगभग दुई दिनलाई पुग्ने दालमोठ, च्युरा खाँदेको थिए । कसैसँग नछोई काम फत्ते गर्न सकियोस् भनेर । तर, नहुने रहेछ । गाडी बाटो लाग्यो । गाउँ सुनसान थियो । तर, खेतमा मकैका पात हल्लन थालेका थिए । एउरेलीटारमा बारीभरि हर्लक्क बढेका हरिया मकैका बोट थिए । कालिटार आउने आउने बेलामा पाखाभरि मकै थिए । कालिटारमा मकै गोड्ने टन्नै खेतालाहरु थिए । महिलाहरु काखे बच्चा पिठ्युँमा बोकेर मकै खन्दै थिए । आमा काममा व्यस्त, बालबच्चा पिठ्युँमा मस्त निदाएका थिए । मकैको हरियालीले डेढ–दुई महिनापछि गाउँमा अन्नको अभाव नहुने सम्भावना देखाएको थियो । पहाडको मुख्य बाली नै मकै हो । मकै मौलाएको थियो । ‘खाए मकै नभए भोकै’ हुने ठाउँमा यस्तो दृश्य देख्नु सुखद हो ।

कालिटारभन्दा केही पर राहत बाँड्ने योजना थियो । बाटो भर्खर खनेको हुँदा गाडी जान सक्दैन भनेर चालकहरुले आनाकानी गरे । त्यसमाथि पानीले खोलेर ठूला–ठूला खाल्डा बनेका थिए । बालकृष्ण सरले माथि नै लगेर बाँड्न जोड गरे । जस्ता बोक्नका लागि कान्दाबाट ५०/६० जना तल झरिसकेका थिए । राहत पनि पाइने भएका कारण उनीहरु थप उत्साहित थिए । बालकृष्ण सरले ल है सबै मिलेर यो खाल्डामा ढुङ्गा भरौँ, हामीलाई नै सजिलो हुन्छ भनेपछि ह्वात्तहुत्तै ५०/६० जनाले त्यस्ता खाल्डा उत्तिनै खेर ढुङ्गाले भरिदिए । गाडी अप्ठ्यारो मानी मानी अगाडि बढ्यो । जहाँसम्म गाडी पुग्ने बाटो छ त्यहीँ गएर सामान झा¥यौँ । त्यो बेला घडीले पाँच बजाउँदै थियो ।

गाडी जहाँ रोकियो त्यहाँबाट कान्दाको पाखो छर्लङ्ग देखिएको थियो । बीचमा कान्दा खोला, दायाँबाँया हरिया डाँडा । त्यसपछि ठूलो पाखो । त्यो पाखाको शिरमा कामिनचुली । कामिनचुलीभन्दा तलको पाखोमा कान्दा । ‘हामी त हिँडेर घन्टा–डेढ घन्टामा पुग्छौँ । अब के थाहा सरहरु कतिबेर लगाउनुहुन्छ । हिँड्न नसके त चार घन्टा कसो नलाग्ला’, कान्दाका सीताबहादुर चेपाङले मुसुमुसु गर्दै भने । राहत बाँडेर सक्दा ६ बज्यो । घामलाई पहाडको पाखोले छेकिसकेको थियो । हामी चाँडै बाटो नलागे गाह्रो हुन्थ्यो । त्यसैले, फटाफट अगाडि लाग्यौँ । राहत बोकेर गाउँलेहरु पनि बाटो लागे । युवाहरु जस्ता गोलो पार्न कस्सिए । २४ फुटे जस्ता त्यसै बोक्न सजिलो थिएन, अनि गोलो बनाएर बाँध्न पनि सजिलो थिएन । एउटा जस्ता गोलो बनाएर बाँध्न चार–पाँच जना कस्सिएका थिए । पिठ्युँमा राहतको चामलको बोरा बोकेर अगाडि काखे बच्चा पछ्यौरीले बाँधेर युवतीहरु खाली खुट्टा बाटो लागे । हामी बिनाभारी पार गर्न गाह्रो हुने अप्ठ्यारो ठाउँमा उनीहरु भारी, बच्चा र खाली खुट्टा ठमठम हिँड्दै थिए । साँझ पर्न पर्न लाग्दा एउटा घरमा पुगियो ।

त्यो घरमा भित्र जाँतो घुमाएझैँ आवाज आएको थियो । बारीमा मकै भर्खर उम्रेका थिए । एउरेलीटार, कालिटारका जस्तो हर्लक्क हुर्केका थिएनन् । अँध्यारो गाढा हुँदै थियो । घरभित्र छिरेर हेरेको आगोको उज्यालोमा एक जना महिला जाँतो घुमाउँदै थिइन् । जाँतोआडमा नाङ्लामा मकै थिए । त्यहाँबाट झिक्दै उनी जाँतोमा मकै पिसिरहेकी थिइन् । ‘मकै सकिँदै गयो, त्यसैले नाङ्लोमा राखेको । नभए डालोमा हुन्थ्यो नि’ भनिन् उनले । मकै सकिन लागेका कारण उनले छाक गुजार्न गिट्ठाको जोहो गरेकी थिइन् । पिँढीमा डोकाभरि गिट्ठा रहेछ । बारीमा मकैले बल्ल भुइँ छाड्दै थियो, डालामा मकै सकिँदै थियो । अब यो गिट्ठाको भरमा गुजारा चलाउनु थियो । हामी धेरै टाढा जानु थियो, घामले डाँडो काटिसकेको थियो । त्यसैले, उनीसँग धेरै कुरा नगरी बाटो लाग्यौँ ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया