धनी देश, गरिब देश र विचारका गरिब मान्छेहरु

अन‌ि यो पनि

–वीरेन्द्रमणि पौडेल

कोही धनी कसरी हुन्छ वा कोही गरिब कसरी हुन्छ, मनमनमा प्रश्न त धेरैले सोधेका हुन सक्छन् तर सबैले सही जवाफ पाउन सकेका हुन्नन् । किनकि, धेरैलाई सही जवाफ थाहा नहुन सक्छ र थाहा हुनेले नभनिदिएको पनि हुन सक्छ । दुनियाँले मनमनै चाहेका सही जवाफचाहिँ यही हो कि जुन व्यक्तिको विचार धनी हुन्छ त्यो व्यक्ति धनका हिसाबले पनि धनी हुन्छ । त्यस्ता धनी विचारका मान्छेहरुको समाज र देश पनि त्यही धनी विचारका कारणले धनी हुन्छ । आज विश्वका संयुक्त राष्ट्रसंघको सदस्यता लिएका कुल १९४ देशमध्ये अमेरिका, क्यानडा, अस्ट्रेलियालगायतका देशलाई धनी देशको रुपमा लिइएको छ । यी देशहरु धनी हुनुमा ती देशका जनताको विचारलाई नै कारण मानिएको छ । ती देशका मान्छेहरु व्यक्ति धनी हुने कुरालाई बेवास्ता गर्छन्, देश धनी बनाउने कुरालाई मात्रै वास्ता गर्छन् । जब कि, देश धनी हुँदा देशभित्रका जनता सबै धनी हुने हिसाब तिनले राम्ररी बुझेका, पढेका छन् ।

एउटा ठूलो घ्याम्पोमा पहिले सबैजना मिलेर पानी भर्ने, जतिबेला जसलाई तिर्खा लाग्यो त्यतिबेला तिर्खाएकोले गिलासले उगाएर पानी पिउने, जब पानी घट्छ फेरि सबै मिलेर घ्याम्पो भर्ने हो भने कहिल्यै पनि कोही पनि तिर्खाले छटपटिन पर्दैन । एउटा देश सबै जनता मिलेर धनी बनाउने र जम्मा भएको धन र सुविधा मिलेरै उपभोग गर्ने हो भने कोही गरिबीको चपेटामा पर्नुपर्दैन । घ्याम्पोमा मिलेर पानी नभर्ने र सबैजना हातहातमा गिलास बोकेर पानी खोज्न हिँड्ने हो भने पहिलो कुरा त एक–एक गिलास पानीमा नै झगडा हुन्छ, दोस्रो कुरा पाएको खण्डमा पनि गिलासमा भएको पानी सकिएपछि फेरि पानी खोज्नका लागि कुद्न पर्ने अवस्था आइलाग्छ । यसरी जीवनभरि हातमा गिलास बोकेर पानीका लागि भौँतारिनुपर्छ । धनको हिसाबमा पनि एक्लाएक्लै वा एक–एक परिवारले आफ्नो लागिमात्रै धन बटुल्ने र देशका लागि संयुक्तरुपमा जम्मा नगर्ने वा देशलाई धनी बनाउनेतर्फ नलाग्ने हो भने यस्तो देशका जनता सधैँभरि धनका हिसाबले गरिब नै भइरहने अवस्था आउँछ । यस्तो सबैका लागि फाइदा हुने र सुविधा प्राप्त हुने फर्मुला अपनाउनेहरुको त्यो खालको विचारलाई धनी विचार भनियो र एक–एक गिलास पानी खोज्न हिँड्ने वा आफ्नो लागिमात्रै धन बटुल्न हिँड्ने जनताको विचारलाई गरिब विचारवाहक भनियो ।

यसरी स्पष्ट देखियो कि आज संसारका जुन–जुन देश धनी भए ती देशका जनता पनि स्वतः धनी भए । धनी विचारकै कारण उनीहरु धनी भए । एक्लै बाँच्न अभ्यास गर्ने देशका जनताहरु सधैँभरि गरिबीको चपेटामा परिरहे । यसो हुनुमा त्यही गरिब विचारलाई जिम्मेवार ठह¥याइयो । हुन पनि हो, संसार विचारले चल्छ । कुनै पनि देश कुनै विचार वा सिद्धान्तको भरोसामा अडिएको हुन्छ । सिद्धान्त र विचार राजनीतिले बोक्छ । राजनीति र सही विचारवाहकहरु राजनीतिज्ञहरु हुन् । जतिबेला घोषित सिद्धान्त र विचारलाई बोक्ने राजनीतिज्ञ सिङ्गो देशका लागि सिद्धान्त र विचारलाई केन्द्रभागमा राखेर गतिशील हुन्छ त्यतिबेला सिङ्गो देश धनी र सम्पन्नशाली हुन्छ, तर जब नेतृत्व तहमा रहेको राजनीतिज्ञले राजनीति र सिद्धान्तलाई एक गिलास पानीको पाराले उपभोग गर्ने प्रयास गर्छ, व्यक्ति वा सानो परिवारका लागिमात्रै प्रयोग गर्ने चेष्टा गर्छ तब देश ओरालो लाग्न थाल्छ र यस्तो अवस्थामा सम्पन्नतातिर होइन देश अधोगतितिर ओरालो लाग्न थाल्छ ।

सबैभन्दा पहिला नेपालको तीनतिर सिमाना जोडिएको छिमेकी देश भारततिर हेरौँ । यतिबेला भारतको राजनीतिको केन्द्रभागमा भारतीय जनता पार्टी छ र त्यही पार्टीबाट प्रधानमन्त्री निर्वाचित हुनुभएको छ, नरेन्द्र दामोदरदास मोदी । मोदीले लोकतान्त्रिक व्यवस्थालाई जस्ताको तस्तै सम्मान त गर्नुभयो नै, उहाँले व्यक्तिलाई धनी बनाउनेतिरभन्दा आफ्नो पूरा ध्यान सिङ्गो देशलाई धनी र समृद्धशाली बनाउनेतिर लगाउनुभयो । गुजरातको तीनपटक मुख्यमन्त्री हुँदैमा सिङ्गो देशका लागि काम गर्नुपर्छ भन्ने उच्च विचार प्रस्तुत गर्नुभएका उहाँ प्रधानमन्त्रीको दोस्रो कार्यकाल सम्हालिरहनुभएको छ । आफूमात्रै धनी हुने वा सुविधा भोग गर्ने वा आफ्ना परिवारका सदस्यलाई मात्रै सुविधा दिलाउने गरिब विचार यदि उहाँले प्रस्तुत गर्नुहुन्थ्यो भने त्यो असम्भव पनि थिएन । तर, एक राजनीतिज्ञले निर्वाह गर्नुपर्ने सम्पूर्ण कर्तव्य निर्वाह गर्दै न त आफू निजी स्वार्थको चास्नीमा डुब्नुभो, न धन बटुल्नतिर लाग्नुभो, न त आफ्ना नातापाताका मान्छेहरुलाई नै खुसुक्क सुविधा र धन दिनतर्फ लाग्नुभयो । आज पनि उहाँका दाजुभाइहरु गुजरातमा मेहनत मजदुरी गरेर, पाखुरा बजारेर खान्छन् । कोही चना चटपट बेच्छन् त कोही पानीपुरी बेचेर गुजारा चलाउँछन् । यता, आफ्नो सहोदर दाइ देशको प्रधानमन्त्री हुनुहुन्छ तर उता भाइ चना चटपट बेचेर खाइरहेको छ । भाइ देशको प्रधानमन्त्री हुनुहुन्छ, उता दाइ सडकमा पसिना बगाइरहनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले छिमेकी देशहरुसँग कत्तिको गुलियो सम्बन्ध राख्न सक्नुभयो÷भएन त्यो बेग्लै पाटो हो, तर आफैँले नेतृत्व सम्हाल्नुभएको देश भारतको हित हेर्ने सवालमा भने उहाँ अब्बल ठहरिनुभएको छ । सिङ्गो भारतलाई आर्थिक समृद्धिको दिशातर्फ जुरूक्कै उचाल्ने प्रयास गरिरहनुभएको छ । उहाँको विचार पहिले पूरै घैँटो भर्नेतर्फ उन्मुख देखिन्छ ।

उत्तर छिमेकी चीनका राष्ट्रपति सी जिन पिङले त झनै चमत्कार देखाउनुभएको छ । उहाँको वचन र व्यवहारले त यस्तो संकेत गरिरहेको छ कि प्रत्येक नागरिक आफ्ना लागि पछि र राष्ट्रका लागि पहिला बाँच्न प्रेरित गरिरहेको छ । नीति र सिद्धान्त मान्छेको जीवनका लागि हो, जीवन सिद्धान्तका लागि होइन भन्ने स्पष्ट व्यवहारबाट उहाँले देखाउनुभएको छ । अघिल्ला राष्ट्रपतिहरु जियाङ जेमिन र हु जिन्ताओको पालादेखि चीनले दह्रो आर्थिक पखेँटा जडान गरेर उड्न सुरू गरेको अवस्थालाई अझै मजबुतीका साथ अघि बढाउँदै राष्ट्रपति सी जिन पिङले मंगल ग्रहमा समेत यान पु¥याउने काममा सफलता दिलाउनुभएको छ । चीनको यस्तो प्रगति हुनुमा नेता तथा राष्ट्रपति सीको समग्र देशको प्रगतिलाई ध्यान दिने, निजी कुरालाई पूरै बेवास्ता गर्ने चिन्तन नै मुख्य कारण हो, यो सत्य आजको विश्वले राम्रैसँग थाहा पाएको छ ।

तर, अब जब नेपालको सवाल आउँछ यहाँको राजनीति डो¥याउने नेतृत्व पंक्ति सिङ्गो राष्ट्रहित हेर्नबाट चुक्यो । सिद्धान्त र विचारको पोको राजनीतिलाई निजी र पारिवारिक हितमा मात्रै हाम्रा नेताहरुले उपभोग गर्नुभयो । विश्वका धेरै देशमा बढीमा दुईपटक प्रधानमन्त्री वा राष्ट्रपति बन्ने संवैधानिक व्यवस्था भएकोमा नेपालमा जतिपटक पनि वा प्राण नगइन्जेल पदमा रहन मिल्ने संवैधानिक व्यवस्था गरियो । अरु राष्ट्रमा उपल्ला राजनीतिज्ञहरुलाई आफ्ना परिवारका लागिमात्रै नभई सिङ्गो राष्ट्रका लागि कार्यसम्पादन गर्न सिकाइयो, प्रेरित गरियो तर नेपालमा आफ्ना परिवारका सदस्यहरुलाई मात्रै सुविधा दिने र आफूमात्रै जीवनभरि सुखसुविधा लिएर बाँच्ने सानो र गरिब विचारबाट बाहिर आउने अवस्था सिर्जना गरिएन । परिवार र नातापाता, पार्टी र पार्टीका कार्यकर्तालाई पालनपोषण गर्ने तर सिङ्गो राष्ट्रको समस्यालाई बेवास्ता गर्ने यो देशको रोग कहिल्यै निको भएन ।

नीति र सिद्धान्तलाई आफ्नो निजी स्वार्थ पूर्तिका लागि यो वा त्यो नामका नेता भन्नै परेन, अपवादलाई छाडेर सत्ताको बागडोर सम्हाल्ने मौका पाउनुभएका अधिकांश नेताहरुले देशको भन्दा आफ्नो र आफ्नो परिवार अनि नातापाता र नजिकका कार्यकर्ताहरुको भलाइमा आफूलाई समर्पित गर्नुभयो र यही कारण जनताको नजरबाट कोही चाँडो गिर्नुभयो त कोही ढिला गिर्नुभयो, तर गिर्ने कामबाट अपवादलाई छाडेर कोही नेता जोगिनुभएन । झन्डै एक दशकअघिसम्म राजनीतिक नेता/कार्यकर्ता भन्दा थोरै जनताले भए पनि नमस्कार गर्थे । गिरेर भुइँमै नेताजीहरु बजारिनु हुँदा यतिबेला यो देशमा राजनीतिज्ञहरुको इज्जत खिइन गयो । कुनै एक जमाना यस्तो थियो, जिल्लामा राष्ट्रिय झन्डा हल्लाएर गाडीमा मन्त्रीज्यूहरु आउनुहुन्थ्यो । जनता सडकको किनारामा उभिएर मन्त्रीज्यूलाई हेर्न तँछाडमछाड गर्थे । अहिले त्यो इज्जतमा धमिरा लाग्यो । हिजोआज झन्डा हल्लाएर जोसुकै आओस्, जनतालाई कुनै वास्ता छैन । झन्डावाला गाडीको अगाडि एक गाडी पुलिस र पछाडि अर्को गाडी पुलिसलाई छाडेर जनताको आँखा झन्डावाला गाडीतिर जान छाड्यो । कुनै राष्ट्रियस्तरको नेता चितवन आउँदा नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्म जनताको भीड हुन्थ्यो, आफ्नो नेताको अनुहारमात्रै भए पनि हेर्न । आज तिनै नेता चितवन आउँछन्, तर एक जना नागरिकले ती नेतालाई पुलुक्क पनि हेर्दैन । त्यतिमाथि पुग्नुभएको नेता गल्र्यामगुर्लुम ढलेर तलै आइपुग्नुभएको छ । यसो हुनुको कारण अरु हुँदै होइन, पवित्र मनले राष्ट्रहितमा लाग्दाको सुरूवातको राजनीतिक चिन्तन स्खलित हुँदै निजी र पारिवारिक हितमा सीमित हुन पुग्दा जनविश्वास गुम्दाको परिणाम हो, अरु होइन ।

हाम्रो राजनीतिले यसरी गरिब विचारलाई अँगाल्यो । गरिब विचारले देशलाई गरिब बनायो । आज धनी विचार लिने, फराकिलो विचार अँगाल्ने, अरु बाँचे म बाँच्छु भन्ने सङ्लो विचार ग्रहण गर्नेहरुले आआफ्नो मुलुकलाई समृद्धशाली बनाए, मुख्य इन्जिनरुपी राजनीतिलाई डो¥याउने हाम्रा आदरणीय नेताहरुचाहिँ निजी स्वार्थ र परिवारको मायाजालमा फस्न पुग्नुभो, विचारलाई साँघुरो घेरामा बन्द गर्नुभो, परिणाम मुलुक गरिब भयो र पछौटेपनको सिकार भयो । अरु चीज प्राकृतिकरुपमा आफैँ परिवर्तन हुन्छ, तर गलत विचारलाई ठीक विचारमा परिवर्तन भने मान्छे आफैँले गर्नुपर्छ । हामी नेपालीसँग सबथोक छ, तर सबै खाले समृद्धिका लागि चाहिने ठीक विचारको ठाउँमा गलत र गरिब विचार छ । आवश्यकता विचार परिवर्तनको हो । हामी हाम्रो निजी स्वार्थ हेर्ने गलत विचारलाई सही विचारमा मात्रै परिवर्तन गरौँ । दस वर्ष लाग्दैन, नेपाल संसारमा कुनै देशभन्दा कमजोर हुनेछैन, कुनै पनि हालतमा हुनेछैन ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया