चिल पक्षीबाट सिकौँ

अन‌ि यो पनि

–नारायणप्रसाद रेग्मी

उमेर बढ्दै गएपछि चिल जीवन–मरणको दोसाँधको अवस्थामा गुज्रिन बाध्य हुन्छ । अस्वाभाविकरुपमा बढेका ठुँड र नङ्ग्राले चिल आहारा खोज्न असमर्थ हुन्छ । चिलमा बाँच्ने आशा भने जीवित रहन्छ । चिलले अग्लो पहाडको चट्टाने टाकुरामा पुगेर अनावश्यक असहजरुपमा बढेका नङ्ग्रा, ठुँड बेस्सरी रगड्छ । खिइएको नङ्ग्रा र ठुँडको पीडाको कारण चिल केही दिन आहार खोज्न सक्तैन । दिनहरु बित्दै जाँदा चिल जवान चिलमा रुपान्तरित हुन्छ र केही वर्षहरु सहजरुपमा गुजार्छ ।

असिनापानी, हावाहुरीका कारण थुप्रै चराचुरूङ्गी अकालमा मृत्युवरण गर्न बाध्य हुन्छन् । हुरीबतास, असिनापानी पर्दा चिल आकाश माथि माथि उड्छ । १० हजार फिटभन्दामाथि उड्न सक्ने चिल बादल, पानीभन्दा माथि पुगेर सहजैरुपमा सुरक्षित हुन्छ । बाज, काग, चिबे चराले दुःख दिँदा चिल तिनीहरुसँग प्रतिकार, प्रतिशोध र आक्रमण गर्दैन । आकासमा उचाइ बढाउँदै जाँदा चिललाई पछ्याउँदै गरेका चिबे, काग, बाज अक्सिजन कमीका कारण बेहोस भएर भुइँमा बजारिन्छन् ।

बचेराबचेरी हुर्काउन अत्यन्त सुरक्षित गुँड बनाउने चिलका भालेपोथीबीच असाध्यै प्रगाढ र आत्मीय सम्बन्ध हुन्छ । गुँड निर्माण र बचेराबचेरीको पालनपोषणमा भाले चिल र पोथी चिलको समान भूमिका रहन्छ । पोथी चिल ३५ दिन ओथारो बस्दा पोथीलाई आहाराको सबै चाँजोपाँजो भाले चिलले मिलाउँछ । एउटा पखेँटाबाट कुनै एउटा प्वाँख झर्दा सन्तुलनका लागि चिलले अर्को पखेँटाबाट पनि प्वाँख झार्छ । चिलले जीवनसाथी परिवर्तन गर्दैन । चिलका भालेपोथी जीवनभर सँगै रहन्छन् ।

चिलले स्याल, ब्वाँसो, गिद्ध, जनावर, पशुपक्षीले जस्तो अरु जनावरले सिकार गरेर मारेको सिनो कहिल्यै खाँदैन । चिलले आफ्नो आहार आफैँ जुटाउँछ र सधैँ ताजा खानेकुरा खान्छ । मानिसको भन्दा करिब पाँच गुणा बढी दृश्य शक्ति र तीस गुणाभन्दा बढी वस्तु समात्न सक्ने क्षमता मांशाहारी चिलमा निहित रहेको हुन्छ । करिब तीन किमी परको दृश्य सहजै ठम्याउन सक्ने चिल आकासमा उड्दै गर्दा सहजै आहाराको पहिचान गर्छ र प्रायः एकै प्रयासमा आहारा जुटाउन सफल हुन्छ ।

जङ्गलको सिंहजस्तै स्वाभिमानी चिल अर्ना, हात्ती, मृग, भँगेरा, सुगाजस्तै समूहमा हिँड्न मन पराउँदैन । आत्मविश्वासका कारण एक्लै रहँदा पनि अन्य पक्षीहरुभन्दा चिल सुरक्षित रहेको महसुस गर्छ । मेहनत गरेर बनाएको गुँडका घाँस, पात, छेस्का, भुत्ला, प्वाँख बचेरा हुर्कंदै जाँदा चिलले बिगार्दै लग्छ । मुलायम गुँड बिगार्दै असहज परिस्थितिमा हुर्कन बचेराहरुलाई प्रेरित गर्छ । चिलका बचेराहरु धराप बन्दै गएको गुँडबाट खस्ने डरमा आफ्ना पञ्जाहरुको पक्डने क्षमता बढाउँछन्, जसले गर्दा भविष्यमा सहजै जीवन जिउन सक्छन् ।

चीलले नङ्ग्रा, ठुँड घोटेर जवान बनेजस्तै योग, ध्यान, साधना, शारीरिक व्यायामबाट मानिसले आफूलाई बदल्न सक्छ । पानी, असिना पर्दा चिलले समस्याबाट नभागी अक्कल र जुक्ति निकालेजस्तै मानिसले पनि समस्यामा बुद्धिको अधिकतम प्रयोग गर्न सक्छ । चिलले जस्तै ताजा खानेकुरा आफैँ जुटाएर खान सके मानिस स्वच्छ र निरोगी बन्छ । सधैँ समूहमा बलियो र सुरक्षित रहेको अनुभव गर्नुभन्दा अन्तरयात्राबाट आफूमा रहेको अथाह क्षमता पहिचान गरी मानिसले चिलजस्तै एक्लै जीवन जिउन पनि सक्नुपर्छ । बच्चाबच्चीलाई सधैँ कमजोर र परनिर्भर नबनाई चिलले गुँड भत्काएर बचेरालाई साहसी बनाएजस्तै हामीहरुले पनि आफ्ना नानीबाबुहरुलाई जीवन जिउने कला सिकाउनुपर्छ । सफलता, डाहा, ईष्र्या, अवरोध गर्नेप्रति खनिएर होइन, चिलजस्तै उचाइ बढाएर अर्थात् सफलता चुमेर कुभलो चिताउनेहरुलाई पछि पार्न सकिन्छ । चिलले प्वाँख झारेर सन्तुलन कायम गरेझैँ पारिवारिक सन्तुलन कायम गर्न सक्ने, पारिवारिक सम्बन्धलाई प्रगाढ पार्न सक्ने र सहयोग एवं सद्भाव एकआपसमा बाँड्न सक्ने हो भने मानवको जीवन पनि सहजै धन्य बन्छ ।
[email protected]

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया