प्रदेशको महत्त्वाकाङ्क्षी बजेट

अन‌ि यो पनि

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गरेका छन् । आगामी वर्षका लागि भनेर उनले ५७ अर्ब ७२ करोडभन्दा बढीको बजेट ल्याएका छन् । प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ २६ अर्बभन्दा बढी र पुँजीगत खर्चतर्फ २९ अर्ब ७० करोडभन्दा बढी रूपैयाँ विनियोजन गरिएको छ । बजेटलाई सरसर्ती हेर्दा सरकारले बजेटको स्रोतमध्ये राजस्व तथा करबाट करिब २४ अर्ब उठाउने लक्ष्य राखेको छ, जुन एक प्रकारले महत्त्वाकाङ्क्षी प्रतीत हुन्छ । बजेटमा धेरैभन्दा धेरै योजनाहरुलाई समेटिएको छ, एक हदसम्म प्रायः योजनाहरुलाई सम्बोधन गर्न खोजेको पनि देखिन्छ, तर आवश्यक योजनामा कम र अनावश्यक योजनाहरुमा बढी रकम विनियोजन गरिएको अवस्थाले पनि बजेटलाई महत्त्वाकाङ्क्षीमात्रै नबनाएर लोकप्रिय पनि बनाउन खोजिएको हो कि भन्ने प्रत्याभूति हुन्छ ।

बजेटमा प्रदेशभरिका जनतालाई कोभिड खोप निःशुल्क उपलब्ध गराउन बजेटको ठूलो हिस्साका रुपमा रहेको २ अर्ब रूपैयाँ विनियोजन गर्ने घोषणा गरिएको छ । खोपको उपलब्धता त्यति नभइरहेको अवस्थामा त्यसप्रति चासो र सरोकार राखेर त्यसलाई बजेटमा समावेश गरिनु कम से कम अहिलेको परिप्रेक्ष्यमा सकारात्मक रहेको मान्नुपर्छ, यद्यपि त्यसको कार्यान्वयन पक्ष भने निकै चुनौतीपूर्णसमेत रहेको कुरामा शङ्का छैन । त्यसरी नै कोरोनाबाट दुवै आमाबाबु गुमाएका बालबालिकालाई मासिक ३ हजार र अन्य कारणले आमाबाबु गुमाएका बालबालिकालाई मासिक दुई हजार भत्ता दिने घोषणा बजेटमा गरिएको छ । यसलाई बजेटको उल्लेख्य पाटोका रुपमा हेर्न सकिन्छ । त्यस्तै, खेलकुद पूर्वाधारका लागिसमेत भन्दै २९ करोड रूपैयाँ विनियोजन गरिएको छ, जुन प्रदेशभरको समग्र खेलकुदका लागि अपर्याप्त छ । बजेटमा समावेश भएको अर्को मह¤वाकाङ्क्षी योजनामध्ये बागमती प्रदेशभरि नै पूर्ण उज्यालो अभियान हो, जसका लागि २ अर्ब ४३ करोड रूपैयाँ छुट्टयाइएको छ । अरबौँको योजनाअन्तर्गत पर्ने भीमफेदी–कुलेखानी सुरूङमार्गका लागि केवल ७५ करोड रूपैयाँ विनियोजन गरिएको देखिनु भने आफैँमा अस्वाभाविक लाग्छ । कुन अभिप्राय बोकेर महँगो सुरूङमार्गको सपना त्यति सस्तैमा देखियो भन्ने सवाल भने अहिले टीकाटिप्पणीको केन्द्र भैरहेको छ । बजेटको अर्को आकर्षणको रुपमा रहेको प्रादेशिक सडकहरुको सञ्जाल अभियान हो, जसका लागि ३ अर्ब २५ करोड रूपैयाँ छुट्टयाइएको छ ।

प्रतिपक्ष दलहरुले कर्मकाण्डी बजेट ल्याएको भन्दै अहिले विरोधमा उत्रिएका छन् । सरकारको गुणगान गाउनका लागिमात्रै करोडौँ रूपैयाँ छुट्टयाएर मिडिया हाउस सञ्चालन गर्न खोजेको भन्दै आक्रोशसमेत प्रकट गरिरहेको अवस्था छ । समग्रमा हेर्दा सरकारका हरेक बजेटहरु लोकप्रिय र मह¤वाकाङ्क्षी नै हुने गर्छन्, र त्यसको विरोध प्रतिपक्षले गर्नु अस्वाभाविक पनि छैन । मूल कुरा त्यो बजेटले आगामी वर्ष जनअपेक्षालाई कुनरुपमा सम्बोधन गर्छ र परिवर्तनलाई संस्थागत गर्ने सवालमा त्यसले कसरी भूमिका खेल्छ भन्ने कुरा नै बढी मह¤वपूर्ण हुन आउँछ । प्रक्रिया र विधिमात्रै पु¥याउनका लागि बजेट ल्याइएको हो भने त्यो आगामी दिनहरुमा असफल हुने निश्चित छ, तर बजेटको कार्यान्वयन पक्षले प्रदेशको समग्र विकास निर्माणसँगै आमअपेक्षालाई समेत राम्रोसँग सम्बोधन गर्न सक्यो भने त्यसको सार्थकता आगामी दिनमा पुष्टि हुनेछ ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया