धादिङवासीलाई सतर्क रहन जिल्ला प्रशासनको आग्रह

अन‌ि यो पनि

–केशव अधिकारी
धादिङ । मनसुनको प्रवेशसँगै देशका विभिन्न भागमा बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पनि जिल्लावासीलाई सावधानी अपनाउँदै सतर्क रहन आग्रह गरेको छ ।

यो वर्ष भने मनसुनको प्रवेशसँगसँगै वर्षा हुने क्रम पनि बढ्दै गइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धादिङमा वर्षा जारी नै रहेको छ । छिनछिनमा रोकिँदै पानी परिरहेको छ ।

मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलामा आकस्मिक बहाव बढ्न गई तराई र चुरे क्षेत्रमा डुबानसमेत हुन सक्ने विभागको आँकलन छ । विभागले विज्ञप्तिमार्फत मनसुनको अवधिभर आमसर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

हरेक वर्ष मनसुनको प्रवेशसँगै भूकम्पका कारण भत्किएका उत्तरी धादिङको ३४ वटा बस्ती र जिल्लाका अन्य स्थानमा बाढीपहिरोले कति क्षति गर्ने हो भन्ने त्रास हुने गरेको छ । भूगर्भविद्ले पहिरोको उच्च जोखिममा रहेको ठहर गरेको उत्तरी धादिङका बस्ती अझै पनि स्थानान्तरण हुन सकेका छैनन् ।

भूगर्भविद्हरुले ती स्थानमा बस्नु उपयुक्त छैन, बस्ती स्थानान्तरण गर्नुपर्छ भनेर सिफारिस गरेको पनि वर्षौं बितिसकेको छ । तर पनि जोखिमयुक्त बस्तीहरु सार्न नसकिएका कारण मनसुनको सुरूवातसँगै सबैको ध्यान तिनै बस्तीमा पर्न थालेको छ । धादिङ जिल्ला भएर बग्ने नदी तथा ठूला खोलाको संख्या २५ रहेको छ भने साना खोलाको संख्या १७४३ रहेको छ । वर्षापछि नदी र खोलामा पानीको वहाब बढेर जोखिम बढ्ने समस्या हुने गरेको छ ।

उत्तरी धादिङमा झन्डै चार सय घरधुरी पहिरोको उच्च जोखिममा छन्, पहिरोको डरले स्थानीयवासी सामान्य बर्साद हुँदासमेत रातभर निदाउन सक्दैनन् । भूकम्प र पहिरोले जोखिमयुक्त ठहर गर्दै तत्काल अन्यत्र सुरक्षित स्थानमा बसोवास सार्नुपर्ने भूगर्भविद्को अध्ययनले देखाएको भए पनि गाउँवासी जोखिम मोलेर बस्न बाध्य भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सदस्य मिम्बा तामाङ बताउँछन् ।

उतरी धादिङको खनियाबासको नेग्राङ, धार्नाटोल, रूवीभ्यालीको हिन्दुङ, सिम्पले, चाम्राङ, चेप्राङ, गंगाजमुनाको गम्राङ, अन्दर, किचेत, चेप्राङ, करङलगायतका ठाउँमा रहेका बस्ती जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले चार वर्षअघि नै ठहर गरिसकेको छ । उत्तरी धादिङको रि, लापा, सेर्तुङ, झार्लाङ र तिप्लिङका विभिन्न गाउँहरु पहिरोको जोखिममा भए पनि त्यही ठाउँमा बस्ती कायमै रहेको छ ।

भूकम्पपछि तत्कालीन सभासद् र भूगर्भविद्को टोलीले गाउँबस्तीको स्थलगत अध्ययन गरेर जोखिम बस्ती पुनस्र्थापना सिफारिस समितिले धादिङका ४७ वटा गाउँलाई अन्यत्र सार्न जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सिफारिस गरेको थियो, त्यसमध्ये ४१ वटा उत्तरी धादिङका गाउँहरु पर्छ । राष्ट्रिय पुनर्र्निमाण प्राधिकरणका अनुसार जिल्लाका ११ वटा बस्ती पूर्ण जोखिमयुक्त भएको भन्दै भूगर्भविद्हरुले ती ठाउँमा मानवबस्ती राख्न नमिल्ने प्रतिवेदनमा उल्लेख गरेका छन् । र, २ सय ५९ घरलाई स्थानान्तरण गर्नुपर्ने सूचीमा राखेका छन् ।

जोखिम भनी ठहर भएका क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा बसोवासको व्यवस्था मिलाउनेबारेमा हरेक वर्ष चर्चा हुने गरेको भए पनि कार्यान्वयन भने नहुने गरेकाले जुनसुकै बेला ठूलो दुर्घटना निम्तन सक्ने डर रहेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले २०७५ सालमा तयार पारेको मनसुनको आपतकालीन कार्ययोजनामा जिल्लाको रूवीभ्याली गाउँपालिकाको लापा, सेर्तुङ र तिप्लिङ, गंगाजमुना गाउँपालिकाको रि, बसेरी, फुलखर्क र गुम्दी, खनियावास गाउँपालिकाको झार्लाङ र सत्यदेवी, बेनिघाट रोराङ गाउँपालिकाको जोगिमारालाई बाढीपहिरोको उच्च जोखिममा रहेको क्षेत्रका रुपमा राखिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले विपद्को समयमा सुरक्षित तवरले बस्न सक्ने गरी १७ सुरक्षित स्थानको व्यवस्था गरिनुका साथै जिल्लाका विभिन्न स्थानमा १३ वटा सामूहिक आवास निर्माण गरी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्ययोजनामा उल्लेख छ ।

आफ्नै जग्गामा घर बनाउन नमिल्नेहरुका लागि अन्यत्र जग्गा खरिद गर्न ९६ जनालाई सरकारबाट प्रतिपरिवार २ लाख रूपैयाँ अनुदान लिएर अधिकांशले पुरानै ठाउँमा बसोवास गर्न जानेहरुका कारण समस्या थपिएको भए पनि कुनै पहल हुन सकेको छैन ।

जिल्लाको उत्तरी भेगका बस्तीमा मात्रै नभएर राजमार्गकिनारका बस्ती पनि पहिरोको उच्च जोखिममा रहेका छन् । मंगलबार बेनिघाट रोराङ गाउँपालिकाको तिकराङमा सिमेन्ट उद्योगको ढुङ्गाखानीबाट झरेको पहिरोले दिनभरजसो राजमार्ग अवरूद्ध पारेको थियो ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया