डा. धनपति कोइराला
वाङ्मय ग्रन्थ वा भनौँ पुस्तक भगवान्का प्रत्यक्ष स्वरुप हुन् अनि सरस्वती माताका प्रतीक पनि, जसलाई हामी श्रद्धापूर्वक पूजा गर्छौं अनि पढ्छौँ । मलाई लाग्छ, चाहे कोही हिन्दू हुन्, बौद्ध, मुस्लिम वा क्रिस्चियन वा अन्य कुनै धर्मावलम्बी । उनीहरुले धार्मिक ग्रन्थ होस् वा पाठ्यपुस्तक, पढ्नुअघि र पछि ढोग्छन् अनि पढ्छन् र सकेर थन्क्याउने बेलामा पनि ढोगेरै थन्क्याउँछन् । यस्ता पवित्र ग्रन्थहरुदेखि पूर्वजले हासिल गरेका ज्ञान, विज्ञान, कला, साहित्य र सभ्यताका द्योतक ग्रन्थहरुको सङ्ग्रहालयलाई हामी पुस्तकालय भन्ने गर्छाैं ।
यसर्थ, हरेक सामान्य अध्येतादेखि विशिष्ट अनुसन्धाताहरुका निम्ति पुस्तकालय र पाठशाला पवित्र विद्यामन्दिरका रुपमा श्रद्धाभाव जागेर आउँछ । यस्ता विद्यामन्दिरहरुमा अति नै दुर्लभ पुस्तकहरु सङ्ग्रह गरिएका हुन्छन्, जुन पछि नछापिनाले पनि अनमोल हुन्छन् । पहिले प्राचीन भारतमा अवस्थित नालान्दा विश्वविद्यालयको पुस्तकालय ध्वस्त गरिँदा विश्वसम्पदाका अनमोल धरोहर नष्ट भए । कतिपय ग्रन्थहरु त त्यहीँ मात्र थिए । कतिपय पाण्डुलिपिमा मात्र सीमित पनि थिए । ती अमोघ ज्ञानराशि प्रकाशनमा आउनै पाएका थिएनन् । त्यतिखेर ध्वस्त पारिँदाको क्षति कदापि पूर्ति त हुन सकेको छैन भने ध्वस्त गर्ने जाति र सम्प्रदाय समेत अझै कलङ्कमुक्त हुन सकेका छैनन् । नेपालको सन्दर्भमा अतिशय पुरानो इतिहास बोकेको त्रिचन्द्र क्याम्पसस्थित पुस्तकालय यस्तै आततायीको सिकार भएको छ, यही साउन मासमा ।
एउटा तीतो यथार्थ भन्नैपर्छ, हिजोका विद्यार्थीहरु पुस्तकलाई नढोगी पढ्दैनथे र पुस्तक देख्नासाथ तिनको मन श्रद्धाले भरिन्थ्यो पनि । तर, आज आमूल परिवर्तन आइसकेको छ यसमा । पुस्तक नाघ्ने, टेक्ने, च्यात्ने, प्mयाँक्ने र पुस्तक ओच्छ्याएर त्यसैमाथि बस्ने, चिट चोर्ने प्रयोजनका लागि शौचालयमा लैजाने, त्यहीँ फाड्ने र परीक्षामा परेका आवश्यक अंश परीक्षा भवनमा लैजाने, नआएका जति त्यतै शौच गर्ने ठाउँमा छाडिदिने । कसैकसैले हेर्दै नहेरी त्यसैमाथि मूत्रोत्सर्जन गर्नेजस्ता निकृष्ट व्यवहार देखिन थालेका छन् ।
जुन पुस्तकलाई हामी शिरमा राख्छौँ र अतिशय सम्मान गर्छौं, त्यही पुस्तक आजको पुस्ताका निम्ति अश्रद्धेय एवम् अविश्वसनीय विषय बन्नु ज्यादै शर्मनाक विषय हो । यसलाई केवल वस्तुवादी दृष्टिकोणले हेर्ने चिन्तन औधी प्रत्युत्पादक बन्दै गएको छ । जुन विषयलाई अनिवार्य रुपमा आत्मिक तथा भावनात्मक दृष्टिले हेर्नैपर्ने थियो, त्यसैमाथि निकृष्ट व्यवहार गर्नु कदापि क्षम्य हुँदैन । हो, वस्तुगत दृष्टिले हेर्दा विषयवस्तुजन्य ज्ञान मस्तिष्कको अर्थात् स्मरणात्मक क्षमताको उपज हो । तर, यसमा अलौकिक दिव्यशक्तिको पनि भूमिका हुन सक्ने कुरालाई नजरअन्दाज गर्न मिल्दैन ।
आस्थाकै कुरा गरिरहँदा न्यायाधीश, गुरूजन, मातापिता र ईश्वरको विषय पनि जोड्नु यहाँ सान्दर्भिक हुन सक्छ । हामी न्यायाधीशलाई हिन्दू दर्शनमा वर्णित चित्रगुप्तका रुपमा हेर्छौं र वर्तमान सन्दर्भमा उनै हुन् चित्रगुप्त पनि जो विवेकी हुन्छन् भन्ने ठान्छौँ र गौरव गर्छौं, विश्वास गर्छौं अनि आस्थाका उपल्लो दर्जामा राख्छौँ पनि । तर दुर्भाग्य ! आज फेला पर्न थालेको छ, तिनैका कुकृत्यको लामो सूची । गुरू ईश्वर साक्ष्य गराउने माध्यमका रुपमा हेर्छौं हामी, अझ सन्त कविरका मतमा त गुरू देवताभन्दा पनि उच्च (गुरू गोविन्द दोउ खडे…..), अनि बृहस्पति, वशिष्ठ, सान्दी पनि आदि महर्षिका बिम्ब देख्छौँ उनमा । छात्राहरुको बलात्कार गर्ने र यौनहिंसा गर्ने कुत्सित पात्रका रुपमा परिचित हुन थालेका छन् तिनै आजभोलि, अनि दिउँसै मदिरा पिई उन्मत्त हुन थालेका र राजनीतिक रोगले व्यथित पनि ।
खासगरी, मातापिता सन्ततिका भाग्यविधाता हुन् र हुन् सच्चा भविष्य चिन्तक पनि । माता त कुमाता हुन सक्दिनन् । यदाकदा कुमारी आमाको हकमा हालतले नै यस्तो निर्मम बन्न बाध्य पार्छ कि उनले कि एकान्तमा छाडेर हिँड्नुपर्ने कि घाँटी अँठ्याउनै पर्ने । पुरूष प्रधानता र जबर्जस्ती करणीबाट उत्पन्न सन्तानप्रति उनले आँखा चिम्लनै पर्ने स्थिति अझै छ ।
अर्को कुरा, चरम गरिबीको चपेटामा परेकी आमाले सन्तानसहित आत्महत्या नगरेका पनि होइनन् । कतिपय आमाले पेटपालो गर्न वा हुन सक्छ धेरै सम्पत्ति कमाउने लालसामा आफूले झैँ छोरीलाई पनि यस्तै कर्म गर्नका निम्ति उपयोग गरेको पनि फेला पर्दछ । पिताले छोरीमाथि यौनहिंसा गर्नेदेखि बेचबिखन नै गर्ने गरेका घटना पनि भएका छन् सार्वजनिक । यस्ता घटना अपवाद हुन्, तर आजका यिनै अपवादजन्य एक–दुई कुकृत्यमय घटनाले वर्तमानमा व्याप्त भ्रष्टाचारले उत्कर्षता लिए झैँ राम्रा र अनुकरणीय घटनाचाहिँ अपवाद नबन्ला भन्न सकिन्न ।
अर्को कुरा, मान्छेको अन्तरआत्माको आवाज, आस्था र विश्वास अनि सच्चेतना भन्नु नै ईश्वर हुन्, जसले मान्छेको पीडा र अप्राप्तिहरुमा पनि मलहम–पट्टी लगाउँछन् र मान्छेलाई पुनर्ताजगी गर्दछन् अनि बाँच्ने र केही गर्ने मार्ग प्रदान गर्छन् । यस्ता अपार आस्था र विश्वास स्खलित हुँदै गएकाले आज एक किसिमको रिक्तता सृजना हुँदै छ । यसबाट मान्छेमा खोक्रोपन, शून्यता र बेचैनता बढ्दो छ । फलतः मान्छे नैतिक बलमा कमजोर, स्वार्थी, कठोर र बर्बर अनि संवेदनाहीन बन्दै गएको छ । निर्दयी, नृशंस, असहिष्णु र पाशविक वृत्तितर्फ उन्मुख बन्दै छ । मातापिताप्रति दायित्वहीन बन्ने, आफन्तप्रति कठोर व्यवहार प्रस्तुत गर्ने, म मात्र र मलाई मात्रको सोचाइ राख्नेजस्ता पतनोन्मुख आचरणद्वारा मानवताहीनताको पराकाष्ठा चुम्दै छ ।
यसैको परिणति हो त्रिविको अङ्ग्रेजी विभाग दहन, भीसी र रेक्टर गुरूज्यूहरुमाथि कालो मोसो लेपन र पुस्तकालय दहन । उद्दण्डता र अराजकताको चरम उत्कर्ष ! हिजोको यो विद्या हासिल गर्ने मन्दिर (त्रिवि अङ्ग्रेजी विभागको आगजनी) र गुरूजनलाई कालो मोसो दल्नेजस्तो संवेदनाहीन कार्य गर्ने प्रवृत्तिले क्रमशः विश्व सभ्यताको सूचकमाथि नै हमला गरेको छ र हाम्रो नेपाली संस्कृति, परम्परा र मूल्यमान्यतालाई ध्वस्त तुल्याउने प्रवृत्तिको पुनरावृत्ति गरिरहेको छ अनि विश्व जगत्का सामु नेपालको छवि ध्वस्त र निकृष्ट रहेको पुष्टि गर्ने प्रयत्न हुँदै छ ।
प्रायः व्यक्तिगत कुरा पनि राजनीतिक आवरण ग्रहण गर्दै हुने गरेका यस्ता कुकृत्यमाथि दण्ड नचल्दा नै यस्ता निकृष्ट व्यवहार भइरहेका छन् र यसले भोलि विभिन्न बहानामा स्वजन र गुरूजनहरुमाथि नै जिउँदै दागबत्ती दिए भने आश्चर्य मान्ने ठाउँ रहने छैन । पश्चिमी जगत् क्रमशः पाशविकता र निकृष्ट संस्कृति त्याग्दै हाम्रा राम्रा संस्कृति वरण गरी सभ्य र समुन्नत बन्दै छ, तर हामी उसका भद्दा संस्कृतिलाई सुसंस्कृति मानी वरण गर्दै छौँ । अनि, खानपान र आचरणमा पनि कुरुप प्रकृतिको नवीनता वरण गर्दै छौँ ।
अराजक र कुत¤व कसैको प्रियजन हुन सक्दैन । त्यसलाई आज संरक्षण गर्नु भनेको गोमन साँपलाई दूध खुवाएर पाल्नुजस्तै हो । भोलि आफैँलाई मृत्युशैयामा पु¥याउने शत्रु हुन् ती, अनि सिंह र बाघजस्तै हिंस्रक पनि छन् । अतः दलहरुले यस्ता धुन्धुकारि प्रवृत्तिका आप्mना कार्यकर्ताको संरक्षण गर्नुभन्दा तिनलाई हदैसम्मको दण्ड दिन दबाब दिई सभ्यता, संस्कृति र मानवीय मूल्य र मान्यतामाथिको श्रद्धा र विश्वास रहेको पुष्टि गर्नु जरूरी छ र अबका पिँढीलाई असल र चरित्रवान् बनाउन प्राथमिक तहबाट नै उच्च कक्षासम्म नै नैतिक शिक्षा तथा संस्कृत भाषा र तिनमा रहेका ती अमोघ ज्ञान प्रदान गर्नु अपरिहार्य छ ।
Discussion about this post