नेपालमा अगस्त १ देखि ७ (साउन १५ देखि २२) सम्म ‘स्तनपान ः जीवनको एक अपरिहार्य लक्ष्य’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह मनाइँदै आएको छ । सन् १९९२ देखि सुरू भएको स्तनपान सप्ताह नेपालमा जनसंख्या मन्त्रालय र सेभ दी चिल्ड्रेनले विविध जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएका छन् । सप्ताहका क्रममा जन्मिएको ६ महिनासम्म अनिवार्य आमाको दूध खुवाउनुपर्छ भन्ने सन्देश प्रवाह गरिएको छ । जन्मिसकेपछि यथाशीघ्र स्तनपान गर्न पाउनु प्रत्येक नवजात शिशुको नैसर्गिक अधिकार हो । बच्चालाई २ वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरुको बौद्धिक र शारीरिक विकास हुनुका साथै स्वस्थ हुने बालरोग विशेषज्ञहरुको अनुभव छ । नेपालमा अझै पनि ३७ प्रतिशत बच्चा, आमाको दूध खानबाट वञ्चित रहने गरेका छन् । तथ्यांकअनुसार शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउनेको संख्या ४९ प्रतिशतमात्र छ । बच्चा जन्मिएको आधा घन्टाभित्र स्तनपान सुरू गरिसक्नु पर्ने विज्ञहरुले सुझाव दिएका छन् ।
६ महिनामुनिका शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक त¤व आमाको बिगौती दूधमै पर्याप्त हुने देखिए पनि चेतना अभावले शिशुहरु आमाको दूध खान वञ्चित भइरहेका छन् । शिशुलाई २४ घन्टामा ८ देखि १० पटकसम्म अनिवार्य स्तनपान गराउनुपर्दछ । आमाको दूधमा रोगसँग लड्ने क्षमता भएका कारण पहिलो खोप मानिन्छ । शिशुलाई पूर्ण स्तनपान नगराउँदा कुपोषणको समस्या पनि देखिने गरेको छ । स्तनपान गराउनुपर्छ भन्ने ज्ञान हुनेहरुले पनि कृत्रिम दूध खुवाउने प्रचलन विद्यमान छ । स्तनपानको अभावमा बच्चामा ख्याउटेपनाको समस्यामात्रै होइन, विभिन्न रोगको संक्रमण हुने खतरा पनि प्रबल देखिएको छ । नवजात शिशुमा रोगप्रतिरोधात्मक शक्ति हुँदैन । आमाको दूधमा पाइने ‘लेक्टोफर्मिन’ नामक त¤वले रोगसँग लड्ने शक्ति बढाउने गर्दछ । आमाको दूधबाट वञ्चित हुने बच्चामा मधुमेहकोे सम्भावना अधिक हुन्छ । समयअगावै जन्मिएका बालबालिकाले पर्याप्त मात्रामा आमाको दूध खान नपाउँदा ‘नेक्रोटाइजिङ एन्टोरोकोलाइटिस’जस्ता घातक रोग लाग्न सक्ने विज्ञहरुले औँल्याएका छन् ।
पछिल्ला दुई दशकमा बाल मृत्युदर उल्लेख्य रुपमा घटे पनि सहस्राब्दी विकास लक्ष्यअनुरुप अझै पूरा हुन सकेको छैन । नेपालको जनसांख्यिक सर्वेक्षणअनुसार पाँच वर्षमुनिका २९ प्रतिशत बालबालिकामा कम तौल र ४१ प्रतिशतमा होचोपनको समस्या रहेको पाइएको छ । स्तनपानलाई बाल मृत्युदर घटाउने प्रमुख उपाय मानिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या ७० प्रतिशत रहेको देखाएको छ । मन्त्रालयकै तथ्यांकअनुसार जन्मेको एक घन्टादेखि ६ महिनासम्म लगातार आमाको दूध खुवाएमा बाल मृत्युदर १३ प्रतिशतसम्म घट्ने उल्लेख छ । दुई वर्षसम्म पोसिलो खानेकुरासँगै स्तनपान गराउने हो भने प्रत्येक वर्ष आठ लाख बालबालिकाको जीवनरक्षा गर्न सकिने विश्व स्वास्थ्य संगठनले दाबी गरेको छ । स्वास्थ्य बिग्रन्छ भन्ने गलत मान्यताले कतिपय महिलाले आफ्ना बच्चालाई स्तनपान गराउँदैनन् । तर, नियमित स्तनपान गराउँदा आमाको शरीर फूर्तिलो बन्नुका साथै विभिन्न प्रकारका क्यान्सरबाट बच्न सकिने अध्ययनले देखाएको छ । त्यसैले, स्तनपानलाई अपरिहार्य आवश्यकताका रुपमा आत्मसात् गर्नु आवश्यक देखिएको छ ।
Discussion about this post