पाखण्ड : हृदय परिवर्तनबिनाको आचरण

अन‌ि यो पनि

हृदय राम्रो हुनु पर्दछ । आचरण आफैँ राम्रो हुन्छ । तर, हामी भन्दछौँ– आचरण राम्रो बनाऊ । हामीलाई यो भ्रम छ कि आचरण राम्रो भएमा हृदय राम्रो हुनेछ । आचरण बिल्कुलै सतही कुरो हो, यसको कुनै मूल्य नै छैन । मूल्य त हृदयको छ, त्यहीँबाट निक्लन्छ आचरण ।

तपाईंले मूललाई नबदली सतही आवरणलाई बदल्ने कोसिसमा लाग्नु भयो भने धोका हुनेछ, पाखण्ड हुनेछ । चेष्टा गरेर तपाईं आचरण बदल्न सक्नुहुन्छ तर हृदय उही रहनेछ । एउटा राजनीतिक साधु हुन् सक्दछ, केही कठिनाई छैन । भेष बदल्छ तर राजनीति कसरी जान्छ ?

कपडा बदल्छ, कपाल खुइल्याउँछ, रंगेको कपडा लगाउँछ तर भित्रको हृदय कसरी बदल्छ ? हृदय त उही रहन्छ । ऊ साधु हुन्छ । तब फेरि साधुहरुमै प्रतिस्पर्धा चल्न थाल्दछ, त्यहीँ प्रतिस्पर्धा आउँछ । म ठूलो साधु हुन्छु, अरु साधु साना हुन् । अनि साधुहरुसँगै लड्न थाल्दछ ।

नजिक गएर साधुहरुलाई हेर्नुहोस्, सबै राजनीतिज्ञ हुन् । उनीहरुले कपडा फेरे, माथि–माथि आचरणको व्यवस्था गरे तर चित्त भने जहाँको तहीँ छ । दुई राजनीतिज्ञ एक अर्कासँग भेट्न राजी हुन्छन तर दुई साधुहरु भेट्न राजी हुन्नन् । किनकि उनीहरुलाई यो डर रहन्छ कि भेट भएपछि पहिला नमस्कार कसले गर्ने, माथि को बस्ने, तल को बस्ने ?

यो जुन चित्त छ, यसलाई नबदलिकन सबै धोखा र पाखण्ड हुन जान्छ । सारा दुनियामा जुन हिपोक्रेसी छ, जुन पाखण्ड छ, त्यो यसैले हो कि हामी आचरणलाई बदल्ने कोसिस गर्दछौँ, हृदयको फिक्री नै गर्दैनौँ । हामी बच्चासँग भन्दछौँ, झुटो नबोल । हामी उसलाई भन्दैछौँ, आफ्नो आचरणलाई बदल । हामी बच्चालाई भन्दछौँ, हेर बेइमानी नगर । हामी उसलाई भन्दैछौँ, आफ्नो कर्म ठीक राख्नू । यो कुरै भनिरहेका छैनौँ कि आफ्नो हृदयलाई ठीक बनाऊ ।

हामी जे बताइरहेका छौँ त्यो कर्म ठीक गर्न बताइरहेका छौँ । हृदय त उही हुनेछ । कर्म बदल्नाले पाखण्ड जन्मिन्छ, धोका जन्मिन्छ । यदि त्यो व्यक्ति अत्यन्त इमान्दार छ, सिन्सियर छ भने ऊ पागल हुनेछ । किनकि उसको हृदय र आचरणविपरीत छ । दुनियामा जति सभ्यता बढ्दै जान्छ त्यति पागल बढ्दै जान्छन् । त्यसको कारण कुनै अर्को हैन । त्यसको एउटै कारण हो कि कसैले हृदय नबदलिकनै इमान्दारीपूर्वक आचरण बदल्ने कोसिस ग¥यो भने पागल हुने निश्चित छ ।

बच्नै सक्दैन । कसरी बच्न सक्दछ ? किनकि भित्रबाट आउनेछ धुँवा र बाहिर लगाउने छ फूल । भित्रबाट आउनेछ फोहोर र बाहिरबाट सौन्दर्यको व्यवस्था गर्नेछ, तब कति अप्ठ्यारो मा ऊ पर्नेछ ! कति टेन्सन नजन्मेला !

त्यसैले मेरो दृष्टिमा कर्मको, आचरणको, सिवाय सूचक हुनुभन्दा अरु कुनै मूल्य छैन । यसले तपाईं को हृदय कस्तो छ भन्ने खबर दिन्छ। यदि तपाईंको आचरणमा झुट छ भने झुटलाई बदल्ने फिक्री नगर्नुस् । चिन्नुस कि तपाईंको हृदय झुठ जन्माउन समर्थ रहेछ । हृदयलाई बदल्ने फिक्री गर्नुस् । यो त केवल खबर हो । तपाईंलाई खबर दिइयो ।

एउटा मान्छे आएर मलाई खबर दियो कि तपाईंको घरमा आगो लागेको छ र ल आगो निभाउनु प¥यो भनेर त्यही मान्छेमाथि पानी खन्याउन थालेँ भने मान्छेहरु मलाई पागल भन्ने छन् । उसले सिर्फ घरमा आगो लागेको खबर दिएको थियो, तिमी उसैमाथि पानी हालिरहेछौ । यसले घरको आगो कहाँ निभ्छ ? उल्टै त्यही मान्छे पनि मर्न सक्दछ । यो पागलपनचाहिँ हामीलाई देखिन्छ ।

तपाईंको कर्मले तपाईंको हृदयमा लागेको आगोको खबर दिन्छ । आचरणमा, कर्ममा झुट आइरहेछ, बेइमानी आइरहेछ– कर्मले खबर ल्याइरहेछ । मेरो दृष्टिमा, कर्म सन्देशबाहक हो । आचरण खबर दिनेवाला हो । त्यसैलाई हामी ठण्डा गर्न थाल्दछौँ कि आचरण ठीक गर, कर्म ठीक गर । अहँ, यसरी गल्ती हुनेछ । खबरलाई बुझ्नुस्, र खबरको भित्र जानुस् कि हृदयमा के भैरहेछ जसले गर्दा झुट आचरणसम्म आइपुगिरहेछ । हृदयको परिवर्तनको उपाय छ । हृदयमा परिवर्तनको उपाय धर्म हो । र, आचरणमा परिवर्तनको उपाय नीति हो ।

नीति र धर्म आधारभूत रुपमा भिन्न कुराहरु हुन् । धार्मिक व्यक्ति त अनिवार्यरुपमा नैतिक हुन्छ । जसको हृदय बदलियो, उसको आचरण त बदलिहाल्छ । तर, नैतिक मनुष्य अनिवार्यरुपमा धार्मिक हुँदैन किनकि आचरण बदलिँदैमा हृदय बदलिँदैन ।

त्यसैले नैतिक मनुष्य बडो कष्टमा जिउँदछ । जसलाई हामी सज्जन भन्दछौँ, ऊ यति कष्टमा जिउँदछ जति दुर्जन पनि जिउँदैन । किनकि सारा समस्या नै यही हो कि उसको हृदय उसकै विरोधमा उभियको हुन्छ र उसको आचरण त्यसको विपरीत हुन्छ । भित्र मन झुट बोल्न चाहन्छ र ऊ साँचो बोल्न चाहन्छ या साँचो बोल्ने कोसिस गर्दछ ।

उसको जीवन एक कन्फ्लिक्ट, एक द्वन्द्व हुन जान्छ । त्यसैले सज्जन बडो कष्टमा जिउँदछ । त्योभन्दा त दुर्जन कम कष्टमा जिउँदछ । कम से कम उसको आचरण र हृदयमा एक समानता हुन्छ । दुर्जन, अपराधी शान्तिमा जिउँदछ । उसको हृदय र आचरणमा समानता हुन्छ । सज्जन बडो कष्टमा जिउँदछ । उसको आचरण र हृदयमा विरोध हुन्छ । सन्त पनि शान्तिमा जिउँदछ । उसको पनि हृदय र आचरणमा समानता हुन्छ ।

त्यसैले सन्तहरुमा र अपराधीहरुमा एक किसिमको समानता हुन्छ । समानता यही हो कि दुवैको हृदय र आचरण समान हुन्छन् । अपराधीको मनमा जे खराबी उठ्छ उसको आचरणमा प्रकट हुन्छ । सन्तको मनमा खराबी नै उठ्दैन भलाई नै उठ्दछ । त्यो उसको आचरणमा प्रकट हुन्छ । भेद भलाई र खराबीको हुन्छ । सन्त र अपराधी समानझैँ हुन्छन् ।

सज्जन बडो उपद्रवमा अड्केको हुन्छ । ऊ त्रिशंकु हुन्छ, ऊ दुवैको बीचमा अड्किरहन्छ । उसको हृदयमा अपराधी बसिरहन्छ । र, आचरणमा साधु बसिरहन्छ । सबै गडबड हुन्छ । ऊभित्र बडो तनाव, बडो व्याकुलता जन्मन्छ । त्यो व्याकुलताबाट बच्ने दुईटा मात्र उपाय छ । या त ऊ पाखण्डी बन्ने, अर्थात् एउटा देखाउने र एउटा गर्ने । तब ऊभित्र केही शान्ति आउँछ । भन्नुको अर्थ ऊ अपराधी हुनुको नजिक पुग्दछ । या त ऊ पागल हुनेछ । के गरिरहेछ, के गरिरहेको छैन, के भैरहेछ, के भैरहेको छैन, उसलाई यो बोध नै नरहोस् । यो हालतमा ऊ अपराधी नजिक पुग्दछ ।

तेस्रो बाटो हो, उसले हृदयमा क्रान्ति गरोस् र सन्तको नजिक पुगोस् । मेरो बल हृदयको क्रान्तिमा छ, ताकि आचरणको क्रान्ति हुन सकोस् । आचरणको क्रान्तिमा म बल दिन्न किनकि त्यसले अनिवार्यरुपमा हृदयको क्रान्ति हुँदैन । र, ध्यान त्यही हृदयको क्रान्तिको माध्यम हो ।

–ओशो
(चल हंसा उस देश)

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया