समृद्धिका लागि पुनरागमन

अन‌ि यो पनि

–डा. धनपति कोइराला

रोजगारीसहितको शैक्षणिक ज्ञानका निम्ति देशका शक्तिशाली प्रतिभाहरु विदेश जाने क्रम आरम्भ भएको पनि तीन दशकभन्दा धेरै भयो । खासगरी, संस्थागत विद्यालयबाट माध्यमिक तह उत्तीर्ण गरेका हजारौँ प्रतिभाहरु बर्सेनि विदेशी शैक्षिक संस्थाहरुमा अध्ययन गर्न पुग्ने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ ।

त्यसो त, चालीसको दशकअघि पनि संस्कृत भाषासाहित्य र दर्शन अध्ययन गर्नेदेखि कला, वाणिज्य, विज्ञान तथा प्रविधिसम्बन्धी विषयहरुको ज्ञान हासिल गर्न भारत जानेको लहर थियो र अद्यापि यो उपक्रम संख्यात्मक दृष्टिले न्यूनाधिक रहे पनि विद्यमान छ । तर, त्यहाँ अध्ययन गर्न पुगेका झन्डै उनान्सय प्रतिशत प्रतिभाहरु अध्ययन सिध्याएर स्वदेश नै फर्कन्थे, फर्कने गरेका छन् र ती केही अपवादतिर आँखा चिम्लँदा कम्तीमा पनि जेजस्तो क्षमताले भेट्छ सोहीअनुरुप स्वदेशकै सेवामा जुट्ने गर्थे र जुट्दै गरेका छन् । छात्रवृत्ति पाएर दक्षिण एसियाका मुलुकहरुमा अध्ययन गर्न पुगेका विद्यार्थीहरु भने फर्केर आउने गरेको देखिएको छ ।

तर, तेस्रो मुलुक पुगेका प्रतिभा अपवादमा मात्रै शिक्षा हासिल गरेपश्चात् फर्किएका छन् । पढ्दै र आंशिकरुपमा रोजगारी गर्दागर्दै लामो समयसम्म बस्ने र उच्च अध्ययनपछि त्यहीँ पूर्णकालीनरुपमा सेवारत रहने र उच्च शिक्षा हासिल गरेकालाई त्यहाँको सरकारले अस्थायी तथा स्थायी नागरिकता दिने प्रक्रियामा सहभागी भई तत्तत् देशको नागरिकता लिएपछि उनीहरुको स्वदेश फर्कने सम्भावना शून्यप्रायमा पुग्दै आएको छ ।

कोरोनाकालमा समेत नो अब्जेक्सन लेटर लिएर हजारौँ गएका छन् । कतिपय पर्यटकीय भिसामा जाने र त्यहाँ पुगेका आफन्तसँग बस्दै गर्ने र कलेजको भर्ना खुलेपछि आवेदन दिई उतै बस्ने र अध्ययन गर्नेको संख्या पनि कम छैन । त्यसो त कागजी विवाह, नक्कली विवाह गरेर सँगै जानेसम्मका नाटकीय कार्यसम्म भए/गरिए ।

एउटा गएपछि अर्को जाने र देखासिकीमा एउटै क्याम्पसमा अध्ययन गर्नेदेखि उसको गाउँ र शहरमा बस्ने अरुअरु थुप्रै जन्ती गएझैँ ताँती र लस्कर लागेर विदेश जाने क्रमले गाउँ र शहरहरु झन्डै युवारहित नै बन्न गएको बुझ्न कठिन छैन । यस्तो परिवेश हिजोभन्दा आज झन्झन् महामारीझैँ बन्न गएको छ ।

पहिले विदेश पढ्न जाने इच्छुकहरु नै त्यस्ता संस्थाहरु खोज्दै जान्थे । तर, आज बाह्र कक्षाको परीक्षा दिनासाथ विभिन्न शैक्षिक परामर्श केन्द्र र वैदेशिक शिक्षाका निम्ति आवश्यक प्रक्रिया र प्रवेशाज्ञा मिलाइदिनका लागि काम गर्ने संस्थाहरुले प्रत्येक विद्यार्थीलाई फोन गर्ने, भेट गर्ने प्रोत्साहित गर्नेजस्ता कार्य गर्न थालेका छन् । यसले विदेश जान नचाहने विद्यार्थीहरु र आर्थिक हैसियत केही कमजोर रहेका विद्यार्थीहरु समेत अभिभावकलाई विदेश पठाउन चर्को दबाब दिनेसम्मका कार्य गर्दैछन् ।

यसबाट पनि प्रतिभाहरु कति संख्यामा गइरहेछन् र जाने क्रम कुन दरमा बढ्नेवाला छ भन्ने सहजै आँकलन गर्न सकिन्छ । यी प्रतिभाहरु विदेश नै गइरहँदा अहिले शिक्षा, स्वास्थ्य, प्रशासन, समाजसेवा, शिक्षण सिकाइ क्रियाकलाप आदि इत्यादि प्रभावित बन्दै गइरहेछन् ।

आज शिक्षा संकायदेखि आर्ट्स, कमर्स र विज्ञान आदि संकायका स्नातक र स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरुको क्षमता र उत्तीर्ण दर र तिनले हासिल गरेको औसत सिकाइस्तर हेर्ने हो भने निकै कहालीलाग्दो छ । तिनै रहेका र मुस्किलले उत्तीर्ण गरेकालाई नै शिक्षा, स्वास्थ्य, प्रशासन, राजनीति आदि इत्यादिको बागडोर जिम्मा लगाउँदै जाँदा देशको भविष्य कति कमजोर र सङ्कटापन्न बन्दै गइरहेछ सहजै अनुमान गर्न सकिन्छ ।

हो, यस परिस्थितिका बाबजुद पनि सकारात्मक सम्भावनाहरु पनि यहाँ लुकेर रहेका छन् । जस्तो कि विकसित देशहरुमा पुगेका प्रतिभाहरुले विज्ञान, विधि, पद्धति र प्रविधिहरु हसिल गरेका छन् । त्यहाँ तरक्की पनि गरेका छन् । कुमुद धिताल जसले मुटु प्रत्यारोपण गर्नमा ठूलो सफलता हासिल गरे, त्यस्ता प्रतिभा छन् असंख्य असंख्य । जससँग विज्ञान र प्रविधि छ, कार्यक्रम र योजनाहरु छन् । तिनले हासिल गरेका ज्ञान, विधि, पद्धति, कला र कौशल हाम्रा निम्ति वरदान सावित हुन सक्छन् ।

पहिलो विश्वयुद्धअघिसम्म चिनियाँ नागरिक विज्ञान र प्रविधिमा अनभिज्ञ थिए । उनीहरुको पहुँच थिएन यसमा । साह्रै पछाडि थिए उनीहरु । त्यसपछि उनीहरु विश्वका विकसित देशहरुमा पुगे । त्यहाँ मजदुर, भरिया, कामदार, कुल्ली, कबाडी आदि इत्यादि भए । दोस्रो विश्वयुद्धपछि देशले स्वदेश फर्कन आह्वान ग¥यो उनीहरुलाई । उनीहरु त्यहाँ बस्दा जति जे जाने सिके, बुझे । तीमध्ये प्रायः धेरै आप्mनो मुलुक फर्किए ।

आफूले सिकेका सीप, ज्ञान, विधि प्रविधि र पद्धति व्यावहारिकरुपमै मुलुकमा उपयोग गरे । सरकारले पनि उनीहरुका आवश्यकता पूरा गरिदियो । मानसम्मान, पद र प्रतिष्ठा दियो । आवश्यक सामग्री जुटाइदिइरह्यो । फलतः बिस्तारै बिस्तारै मुलुक बदलिँदै बदलिँदै जान थाल्यो । विज्ञान र प्रविधिका क्षेत्रमा मात्रै नभएर शिक्षा, स्वास्थ्य, जनजीविका आदि इत्यादिका सवालमा पनि करिश्मा देखाउन थाल्यो । झन्डै चार–पाँच दशकभित्रै विश्वको अर्थतन्त्रलाई चुनौती दिन सक्ने भयो ।

सामरिक दृष्टिले पनि उन्नत बन्न पुग्यो । फलतः चीनले सगरमाथाको उचाइ चुम्यो । विश्व ब्रह्माण्डमा अधिकार जमायो ।
नेपालले पनि त्यो सूत्र उपयोग गर्नुपर्छ । प्रतिभाहरुलाई मुलुक फर्कन आह्वान गरेरमात्रै पुग्दैन । उनीहरुलाई पनि यथेष्ट पद, पैसा, प्रतिष्ठा, साधनस्रोत र विज्ञता हासिल गरेको क्षेत्रमा निर्बाधरुपमा काम गर्ने भरपर्दो वातावरण मिलाइदिनुपर्छ । उनीहरुका सन्ततिको शिक्षादीक्षा र रोजगारी आदि इत्यादिको समेत व्यवस्था मिलाएर यहाँ राख्नुपर्छ । जसरी अरनिकोलाई तिब्बतमा सम्मानका साथ राखिएको थियो । त्यो अतिशय सम्मानकै कारण चाहेर पनि उनी स्वदेश फर्कन सकेनन् । महाभारतको युद्धमा आप्mना भान्जा पाण्डवका पक्षमा लड्न कुरूक्षेत्रमा आइपुगेका शाल्वलाई समेत दुर्योधनले यति ठूलो सम्मान र खातिरदारी गरिदियो कि उनी चाहेर पनि पाण्डव खेमामा जान सकेनन् र कौरवकै पक्षबाट लडे ।

यसर्थ, राज्यले उनीहरुलाई देशको हितमा लाग्न उत्प्रेरित गर्न खातिर राज्यशक्तिले भ्याएसम्मकै सुविधा र सम्मान दिनमा चुक्नु हुन्न । यसका निमित्त आवश्यक बजेट क्षेत्र र कार्यक्रम ल्याउनुपर्छ । नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेकालाई पनि तत्काल आवश्यक प्रक्रिया पूरा गरिदिई नागरिकता प्रदान गर्नुपर्छ । यदि यसो भयो भने पराया मुलुकमा बस्न शायद चाहन्नन् कोही ।

जो प्रतिभा गइरहेछन् उनीहरुलाई त्यहाँका उच्च प्रविधि, ज्ञान र सीप सिकेर आउन हौसला र उत्प्रेरणा प्रदान गर्नुपर्छ । यदि उनीहरुलाई स्वदेश र स्वदेशको महत्ताबारे दिल र दिमागमा गहिरो छाप पार्न सक्यौँ भने अवश्य भोलि उनीहरु फर्केर मुलुकलाई सिंगापुर जापान र चीनभन्दा पनि सुन्दर र समृद्ध मुलुुक बनाउनमा अहम् भूमिका खेल्नेछन् । तबमात्र हरेक नेपाली खुशीले भरिएको सुखी र मुलुक पनि समृद्ध बन्न सक्नेछ । यसर्थ, आज पलायनतर्फ उन्मुख तथा पलायन भइसकेका प्रतिभालाई आकर्षित गर्न वर्तमान सरकारले स्वदेश फर्कन आह्वान गर्ने, सम्बन्धित विषयमा विज्ञता भएकाहरुको तथ्याङ्क निकाल्ने काम त गरेको छ, तर परिवेश निर्माण गर्न सकेको छैन । यसर्थ, सच्चारुपमा विकासप्रेमी नै रहेको सिद्ध गर्न ठोसरुपमै आवश्यक परिवेश निर्माण गर्नु जरूरी छ ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

परनिर्भरताको दलदल !

प्रतिकृया