लकडाउनमा नरोकिएको नमुनाको जाँगर [कोरोना डायरी–१५]

अन‌ि यो पनि

–रमेशकुमार पौडेल

कुरा गत वर्षकै हो । ईश्वर जोशी दाइले भरतपुरमा एक जना महिलालाई भेटेर बिबिसी नेपाली सेवाका लागि रिपोर्ट बनाउने कुरा गर्नुभयो । उनलाई भेट्न हामी गत वर्ष वैशाख २६ गते दिउँसो भरतपुर गयौँ । उनी थिइन् नमुना पौडेल । कोरोेना भाइरसको सङ्क्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेपछि धेरैले नियमित कामकारबाहीबाट विश्राम लिए । काम रोकिँदा धेरैलाई हातमुख जोड्न गाह्रो हुन थाल्यो । जसलाई जीवनयापन गर्न सहज थियो उसले टिकटकदेखि परिकार बनाएर दिन कटाउन थाल्यो । तर, नमुनाको कथा फरक थियो ।

भरतपुर महानगरपालिका–१०, अस्पताल रोडदेखि थोरै भित्रको घरमा लुगा सिलाउने सानो टेलर खोलेकी नमुना पौडेलले लकडाउन भए पनि आफ्नो काम जारी नै राखिन् । लकडाउनमा पसलअगाडिको सटर बन्द भयो । तर, कोठाभित्र काम गरिन् । उनले यसरी उत्पादन गरेका सामग्रीहरु देशका विभिन्न ठाउँमा पुगे । लकडाउनका बेला नमुनाले धमाधम कपडाको मास्क सिलाइन् । यो मास्क नेपालगञ्ज, दाङ, बुटबल, लमजुङलगायतका ठाउ“मा पुग्यो । हामीलाई भेट्दाका दिन उनले बताएअनुसार त्यो बेलासम्म उनले ३० हजार थान मास्क बिक्री गरेकी रहिछन् । १५ सय थान मास्क विभिन्न ठाउ“मा सहयोगस्वरुप निःशुल्क उपलब्ध गराइन् । लकडाउनपछि धेरैलाई के काम गरेर दिन गुजार्ने र हातमुख जोर्ने भन्ने चिन्ता थियो । तर, नमुनाले चार जना युवतीलाई काम दिइन् ।

उनले टेलर खोलेको १० वर्ष भएको रहेछ । ‘महिलाका कपडाहरु सिलाउने र केही तयारी पोशाकहरु बेच्ने गर्दै आएको थिए“’, नमुनाले भनिन् । कोरोना भाइरसको महामारी बढेसँगै टेलरमा ग्राहक आउन कम भएको थियो । लुगा सिलाउन र किन्नभन्दा पनि मास्क भए/नभएको सोध्न मान्छेहरु आउन थाले । त्यसपछि उनले मास्क सिलाउने विचार गरिन् । सिलाउने कसरी हो थाहा थिएन । युट्युबमा यसबारेका भिडियो हेरेर प्रयास गरिन् ।

‘चैत्र आठ गते दुई–चारवटा सिलाएर विचार गरेँ । सिलाउन सकिन्छ भन्ने लाग्यो । चैत्र १० गते राम्रा लागेका केही मास्क फोटो खिचेर फेसबुकमा पोस्ट गरेँ । त्यो फोटो विभिन्न ठाउँमा शेयर हुन थाल्यो । दाङबाट पाँच सय थान मास्कको अर्डर आयो’, नमुनाले भनिन् । यो ७६ साल चैत्रको कुरा थियो । मास्कको माग अत्यधिक थियो त्यो बेला । सर्जिकल मास्क बजारमा भेटिन छाडेको थियो । भेटिए पनि पाँच रूपैयाँको मास्कलाई ५० रूपैयाँसम्म पर्दथ्यो । एन नाइन्टी फाइभ मास्क सर्वसाधारणको पहुँचमा थिएन । पाँच सयसम्म पर्दथ्यो त्यो मास्कलाई । तर, कपडाको मास्क सस्तो थियो । त्यसैले सामान्य मानिसले त्यही लगाउँथे । माग बढेको थियो ।

लकडाउनको सुरूवातमा हामी पनि कपडाकै मास्क लगाउने गर्दथ्यौँ । सर्जिकल मास्क खास गरेर अस्पतालका चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई अपरिहार्य थियो । एन नाइन्टी फाइभ मास्क सङ्क्रमितको उपचारलगायतमा खट्नेहरुका लागि चाहिन्थ्यो । त्यसैले कुनै पोजिटिभ केसहरु नदेखिएको अवस्थामा दुई तह राखेर सिलाएको कपडाको मास्कले पनि जोगाउन सक्छ भन्ने जानकारी आएपछि हामी पनि कपडाकै मास्क लगाउँथ्यौँ । तर, मास्कको तहअनुसार व्यक्तिको हैसियत निर्धारण हुने अवस्था सिर्जना भएको थियो । मान्छेहरु मास्क हेरेर ऊ कुन हैसियतको हो भन्ने निक्र्योल गर्न थालेको अवस्था थियो त्यो बेला । समग्रमा भन्दा मास्क मह¤वपूर्ण थियो रोगका लागि, तर रोगबाट जोगाउने भूमिकामा मात्रै समाजले मास्कलाई सीमित राखेको थिएन । कोही ‘खास’ मान्छेहरु हामीलाई भन्थे– ‘हैन, कस्तो मास्क लगाएर हिँडेको हो ?’

नमुना त्यो बेला मास्क बनाउन कस्सिएकी थिइन् । मास्कले उनलाई व्यस्तमात्रै बनाउँदैन थियो, रोगविरूद्धको तयारीमा पनि सघाउँथ्यो । तर, उनले मास्क बनाउने तालिम लिएकी थिइनन् । युट्युब हेरेर बनाउन थाले पनि हात बसेको थिएन । त्यसैले सुरूमा पाँच सय थान मास्क मागेको ठाउँमा उनले त्यो बेला तीन सय थानमात्रै पठाउन सकिन् । तर, हामीले भेटेको बेलामा दिनको १५ सय पिससम्म मास्क तयार गर्न सक्ने भएको उनले बताइन् । हामीले कुरा गरिरहँदा उनीस“गै सिर्जना धामी र आरती पटेलले मास्क सिलाइरहेका थिए । अन्य दुई जना महिलाले घरमै सिलाएर उनलाई मास्क बुझाउने गरेका रहेछन् । एउटा मास्क सिलाएको उनले सुरूमा पाँच रुपैयाँका दरले ज्याला दिने गरिन् । अस्पताल रोडमै टेलर भएका कारण वरपरका चिकित्सक र स्वास्थ्यकर्मी पनि उनको पसलमा आउन थाले । उनीहरुले नमुनालाई बाहिर हरियो रंगको कपडा र मलमलको भित्री तह राखेर मास्क सिलाए केही सुरक्षित हुने सल्लाह दिए । उनले सल्लाह मानेर त्यसै गर्न थालिन् ।

उनले होलसेल लानेलाई प्रतिपिस २० रूपैया“को दरले मास्क बिक्री गर्दथिइन् । ‘यो हिसाबले सोझै ६ लाख रूपैया“को कारोबार भएको देखिन्छ । तर, नाफा भने छैन । कपडाहरु किन्नैप¥यो । इलास्टिक चाहियो । सिलाउने बैनीहरुलाई ज्याला पनि दिनुप¥यो’, नमुनाले हामीलाई बताएकी थिइन् । उनले व्यापारमात्रै गरिनन्, विभिन्न ठाउँमा निःशुल्क वितरण पनि गरिन् । भरतपुर कारागारमा तीन सय थान मास्क सहयोग गरिन् । यसरी धेरै ठाउ“ सहयोग गर्दा १५ सय मास्क निःशुल्क वितरण गरेको उनले हामीलाई सुनाएकी थिइन् ।

उनले अर्डर आएपछि मास्क सिलाउने गरेकी थिइन् । पसलबाटै पनि केही मास्क बिक्री हुने गर्दथ्यो । ‘हामी अर्डर पूरा गर्न राति ११ बजेसम्म पनि काम गरेका छौँ’, नमुनाले भनिन् । हामीले भेट्दा सुरूसुरूमा जस्तो अर्डर आउन कम हुँदै गएको उनले बताएकी थिइन् । ‘लकडाउन भएपछि धेरैले काम भएन भन्दै बिलौना पोखे । फुर्सदिलो भइयो भनेर सामाजिक सञ्जालमा रमाएर पनि बसे । मैले पनि सामाजिक सञ्जाल युट्युब हेरेरै नौलो काम सिकेकी हुँ । जसले गर्दा पसलको ढोका बन्द भए पनि हामीले काम बन्द गरेनौँ’, नमुनाले भनेकी थिइन् ।

कोरोनाको त्रास र लकडाउनले निराश पारेको समाजलाई केही आशावादी समाचार दिने उद्देश्यले ईश्वर दाइ नमुनालाई खोज्दै जानुभएको थियो । सीपलाई सदुपयोग गर्न सके मान्छेलाई व्यक्तिगतरुपमा मात्रै नभएर समाजलाई पनि फाइदा हुन्छ भन्ने नमुनाको कामले देखाएको थियो । त्यो महामारीमा नमुनाको काम साँच्चै नै नमुनायोग्य थियो । योपटक त मास्क सर्वसुलभ भएको छ । नमुनाले मास्क कहिलेसम्म बनाइन् या अहिले पनि यो कामलाई निरन्तरता दिएकै छन् ? त्यो भेटपछि फेरि भेट्न र सोध्न पाएको छैन ।

k[email protected]

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया