अभावमा बाँच्न विवश चेपाङ समुदाय

अन‌ि यो पनि

चेपाङ समुदाय अहिले अनिकालको पीडा भोग्न बाध्य भैरहेको छ । निषेधाज्ञाको मारमा परिरहेको अवस्थामा उनीहरुलाई छाक टार्नै मुस्किल भएको छ । बाहिर जाऊँ निषेधाज्ञा छ, घरमा बसौँ खानेकुरा छैन; यस्तो त्रासदीपूर्ण अवस्थाबाट चेपाङहरु बाँच्न बाध्य भैरहेका छन् । चेपाङ गाउँमा हरेक वर्ष अनिकालको त्रासदी छाएको हुन्छ । भोकमरीको अवस्थाले चेपाङ समुदायलाई रूनु न हाँस्नु बनाउँछ । हाल जारी निषेधाज्ञाको कारण त उनीहरुको दैनिकी झन् मुस्किल बन्दै गएको छ । हाल बाहिर गएर गरिने ज्याला मजदुरी पनि रोकिएको अवस्था र घरभित्रै पनि खाद्यान्नको अभावमा सन्नाटा पसारिएको स्थितिले उनीहरुलाई रोग र शोकले क्रमशः खाइरहेको छ । अलिअलि हुने गरेका आम्दानीका स्रोत पनि कोरोना महामारीको कारण बन्द नै भएपछि अहिले चितवनको विकट ठाउँमा रहेका चेपाङहरुको जीवन अस्तव्यस्त हुन पुगेको छ । हाल जिङलाउसँगै पाइमाराङ, दमियोडाँडा, नान्दरलगायतका गाउँहरुमा भोकमरीको समस्या सीमाहीनरुपमा बढ्दै गएको देखिन्छ ।

चेपाङहरुको अवस्थामा सुधार नआउने मूल कारणहरुमध्ये भौगोलिक विकटता हो । भौगोलिकताको कारणले राज्य उनीहरुप्रति प्रायः उदासीन रहँदै आएको छ । स्वास्थ्य उपचार र शिक्षाको अभावसमेत झेलिरहेका चेपाङ समुदाय केवल परम्परागत खेतीकिसानीमै निर्भर रहनु उनीहरुको दुःखको कारण बनिरहेको छ । चेपाङहरु आदिवासी हुन्, अझै पनि कयौँ चेपाङहरुसँग उनीहरुले खेती गर्ने जमिनको लालपुर्जा नभएको पाइएको छ । नागरिकताबाट वञ्चित हुने चेपाङहरु पनि कयौँ छन् । यो राज्यले उनीहरुप्रति गरेको घोर अमानवीय क्रियाकलाप हो । विकसित समाजका लागि आवश्यक पर्ने र चाहिने आधारभूत कुराहरु जस्तैः शिक्षा, स्वास्थ्य, पोषण, चेतना र पूर्वाधारहरुको पहुँचदेखि चेपाङ समुदाय अझै पनि कोशौँ टाढा छ । निर्वाचन आउँदामात्रै उनीहरुको मतको गन्ती गरिने अवस्थाले पनि उनीहरुको जीवनस्तरमा सुधार आउन नसकेको हो । आजसम्म देशमा धेरै क्रान्ति र राजनीतिक परिवर्तनहरु नभएका होइनन्, तर चेपाङ समुदायमा ती क्रान्ति र परिवर्तनहरुको उपस्थिति किन हुन सकेन ? अहिलेको मूलभूत प्रश्न यो हो ।

चेपाङहरुको पीडाबाट राज्य बेखबर छैन, उनीहरुका नाममा केही योजनाहरु पारितसमेत भएका छन् । गणतन्त्रको आगमनपछि पनि जनता आवास कार्यक्रमहरुमार्फत चेपाङका निम्ति सयौँ घरहरु नबनेका पनि होइनन्, केही भए पनि चेपाङहरुका बालबच्चाको शिक्षालाई लिएर पहल नभएको पनि होइन । तर, कतिपय योजनाहरु प्रभावकारीरुपमा कार्यान्वयन नभएर अलपत्र पर्दा चेपाङहरुको पीडा कम गर्नमा ती कारक भने बन्न सकेका छैनन् । राजधानीको नजिकै रहेको सुगम जिल्लामै बसोबास गर्ने चेपाङहरु सदैव नै अनागरिकका रुपमा बाँच्न बाध्य छन् । कहिलेकाहीँ सहयोगी हातहरुले उनीहरुको घाउमा मलमपट्टी लगाउने प्रयास नगरेका होइनन्, तर त्यो पर्याप्त हुन नसकेको कहालीलाग्दो यथार्थ छ । चेपाङहरुको कष्टकर दैनिकीले देशभरका सञ्चारमाध्यमहरुमा ठाउँ पाउँछन् । तिनैको प्रभावले कहिलेकाहीँ उनीहरुलाई राहत दिन भन्दै देशका विभिन्न भागबाट दाताहरु पनि आउने गरेका छन् । तर, केही समूह र व्यक्तिहरुले प्रदान गरेको राहतले चेपाङ समुदायले हरेक दिन भोग्ने कष्टलाई के कम गर्न सक्थ्यो र ? जबसम्म राज्यले नै चेपाङहरुलाई नागरिकको रुपमा मूलधारमा ल्याएर उनीहरुका नामका योजनाहरुलाई सार्थक बनाउने अभियान लागू गर्न सक्दैन तबसम्म चेपाङहरुको जीवनस्तरमा खास सुधार हुन पनि सक्दैन । अवसर र सुविधाबाट वञ्चित रहेका चेपाङहरुको दैनिकी सहज बनाउनु राज्यको मूल धर्म पनि हो ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया