बाागमती प्रदेशसभाको नारैनाराको कोभिडकेन्द्रित नीति तथा कार्यक्रम

अन‌ि यो पनि

–अमृत चिमरिया

हेटौँडा । बाागमती प्रदेशसभाको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बिहीबार प्रदेश प्रमुख विष्णु प्रसाईंले प्रस्तुत गरेका छन् । प्रदेश सरकारले नारैनाराको नीति तथा कार्यक्रम ल्याएको छ । सरकारले स्वास्थ्य क्षेत्र र कोरोनाकेन्द्रित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । अधिकांश विषयमा नाराको रुपमा प्रस्तुत भएको उक्त नीति तथा कार्यक्रम नारैनाराको आएको हो ।

कोभिडकेन्द्रित नीति तथा कार्यक्रम

प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख प्रसाईंले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रदेश सरकारले कोभिडकेन्द्रित बजेट ल्याउने गरी नीति तथा कार्यक्रम ल्याइएको छ । सरकारले कोभिड–१९ विरूद्धको खोपमा प्रदेशवासीको पहुँच पु¥याउन आवश्यकताअनुसार ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कोष’ स्थापना गरी नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै बासिन्दाहरुलाई अनिवार्यरुपमा खोपको व्यवस्था गरिने बताइएको छ ।

यस्तै, कोरोना नियन्त्रण तथा रोकथाम गर्न प्रदेश सरकारले पिसिआर मेसिन बढाउन प्रदेश अस्पताल तथा स्वास्थ्य संस्थाको स्तरोन्नति गरिनेलगायत विषय समेटिएका छन् । कोभिड–१९ को कारण आमाबाबु दुवै गुमाएका बालबालिकाहरुलाई स्थानीय तहसँगको सहकार्यमा मासिक तीन हजारका दरले शैक्षिक तथा सामाजिक सुरक्षा भत्ता प्रदान गरिने नीति कार्यक्रममार्फत घोषणा गरिएको छ ।

सरकारले कोरोनाको कारण गाउँ फर्किएका जनशक्तिलाई उद्यमशिलता विकास र रोजगारीका अवसरहरु सिर्जना गर्न ‘मेरो गाउँ : उद्यमसहित जिउने ठाउँ’लाई अभियानको रुपमा सञ्चालन गर्ने गरी भौतिक पूर्वाधार निर्माण, उद्यमशिलता र रोजगारीका कार्यक्रम अगाडि बढाइने बताइएको छ । युवाहरुलाई स्वरोजगार बनाउने भन्दै सरकारले ‘जहाँ प्रविधि पँुजी र सीप त्यहाँ युवाको हित’भन्ने नारासहित सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ ।

नारैनाराको नीति तथा कार्यक्रम

प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा चालू आर्थिक वर्ष २०७७/०७८ का नाराहरुको निरन्तरतासहित थप केही नाराहरु ल्याएको छ । प्रदेश सरकारले कानुन सचेतना विशेष कार्यक्रमका लागि ‘प्रदेशका कानुन सबैले जानून्’ भन्ने नारा अगाडि सारेको छ । ‘बागमती प्रदेश डिजिटल प्रदेश’ नारा ल्याउँदै व्यवसाय, उद्योग, दर्ता नवीकरणजस्ता विषय अनलाइनबाट काम गर्ने जनाएको छ । यस्तै, सरकारले प्रदेशको उच्च पहाडी, तल्लो हिमाली क्षेत्रमा कर्मचारीलाई घुम्न प्रेरित गर्नेसमेत जनाएको छ । नीति तथा कार्यक्रममा कैदीबन्दीहरुलाई पुस्तकालय, खेललगायत क्षेत्रमा प्रेरित गरी सुधार केन्द्रको रुपमा ल्याउने जनाइएको छ ।

त्यस्तै, बागमती प्रदेश हरित प्रदेश गुरूयोजना साकार गर्न, सहरी तथा ग्रामीण वन क्षेत्रको विकासका लागि ‘एक स्थानीय तह एक नर्सरी कार्यक्रम’, चुरे संरक्षणका लागि ‘स्वच्छ पानी, सफा जलाधार’, उत्पादन वृद्धिका लागि ‘बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग’जस्ता नारालाई निरन्तरता दिइएको छ । यस्तै, ‘बागमती प्रदेशको इच्छा : समृद्धिका लागि प्राविधिक शिक्षा’ भन्ने कार्यक्रमसहित शिक्षा क्षेत्रमा काम गर्ने बताइएको छ ।

यस्तै, ‘एक घर, एक धारा’को नारालाई यो आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । यस्तै, सिंचाइमा सरकारले नयाँ नारा अगाडि सार्दै ‘प्रदेशको पानी, प्रदेशकै नागरिकको लगानी’ कार्यक्रममा निजी तथा सहकारी क्षेत्रबाट लगानी गरेर सिचाईंको योजना अगाडि सारेको छ भने किसानका लागि ‘सिंचाइ गरोैँ, उत्पादन बढाऔंँ’, ‘किसानको गरा, सधैँ हराभरा’ कार्यक्रम सञ्चालन हुने भएको छ । ऊर्जा क्षेत्रमा सरकारले ‘बागमती प्रदेश पूर्ण उज्यालो कार्यक्रम’, ‘सबै क्षेत्रमा विद्युत् पु¥याउने, ऊर्जा खपत बढाउने’ जस्ता कार्यक्रम प्रस्तुत गरेको छ ।

यस्तै, ‘प्रदेश र स्थानीय तहको एउटै सन्देश, बालविवाहमुक्त हाम्रो प्रदेश’ भन्ने अभियानसहित सुरू भएको बालविवाहमुक्त प्रदेश घोषणा गर्ने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

फेरि अट्यो सुरूङमार्ग

आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा सुरूङमार्गको योजना अटेको छ । अघिल्लो ३ आर्थिक वर्षमा लगातार गौरवको आयोजना भनेर प्रचार गरेर पनि काम सुरू गर्न नसकेको सुरूङमार्गको योजना यो वर्ष पनि अटाएको हो । नीति तथा कार्यक्रममा संघीय सरकारको सहलगानीमा प्रदेश गौरवको रुपान्तरणकारी आयोजनाका रुपमा रहेको पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरूङमार्गको निर्माण कार्य सुरू गरिने उल्लेख गरिएको छ । यस्तै, छोटा सुरूङमार्गहरुको सम्भाव्यता अध्ययन सुरू गर्नुका साथैसाथै चालू आर्थिक वर्षमा पुनर्निर्माण सुरू गरिएको ऐतिहासिक मह¤वको चुरियामाई सुरूङलाई पुनर्निर्माण सम्पन्न गरी अध्ययन केन्द्रको रुपमा विकास गरिने बताइएको छ ।

‘पुष्पलाल प्रदेश चक्रपथ’ जोड्न बाँकी खण्डको निर्माण कार्य अगाडि बढाइने भएको छ । ‘नियमित मर्मतसम्भार, दिगो सडकको आधार’अनुसार प्रदेश सरकारबाट निर्माण तथा स्तरोन्नति भएका र अन्य प्रादेशिक सडकहरुको नियमित, आवधिक तथा आकस्मिक मर्मतसम्भार कार्यलाई योजनाबद्ध ढङ्गबाट कार्यान्वयन गरिने भनिएको छ । सवारीसाधनलाई सुरक्षित र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीसँगको सहकार्यमा सवारीसाधनको नियमित चेकजाँच, सचेतना र अभिमुखीकरणसम्बन्धी कार्यक्रमसहित ‘यात्रुको सुरक्षा, सवारीको पहिलो प्राथमिकता’ अभियान सञ्चालन गरिनेछ ।

एकीकृत बस्तीदेखि साना सहरसम्म

आवास क्षेत्रमा प्रदेश सरकारले आकर्षक नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रमअनुसार सुदृढ पूर्वाधारसहितको जनता आवास कार्यक्रमअन्तर्गतका निर्माणाधीन आवास गृहहरुलाई यसै आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ । जोखिमयुक्त बस्तीहरुको स्थानान्तरण एवम् विपद् प्रभावित क्षेत्रको पुनःनिर्माण गर्न ‘एकीकृत बस्ती विकास कार्यक्रम’ मापदण्ड तयार गरी स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा कार्यक्रम कार्यान्वयन गरिनेछ ।

‘साना सहर, रमणीय क्षेत्रमा बस्ने हामी सबैको रहर’ अवधारणामा पहाडी जिल्लाहरुमा साना सहरहरुको एकीकृत विकाससम्बन्धी अध्ययन गरिनेछ । यसबाट अनियन्त्रित बसाइँसराइलाई रोक्नुका साथै पुख्र्यौली स्थानमा फर्किएर पुनःस्थापित हुने किसिमका कार्यक्रम सञ्चाालनमा ल्याइनेछ । यस्तै, मरिण सहर– सिन्धुली, सल्यानटार सहर– धादिङ, भकुण्डेबेँसी सहर– काभ्रेपलाञ्चोक र रसुवागढी भन्सार नाका– रसुवा तथा जिरी सहर– दोलखाको एकीकृत विकास तथा सौन्दर्यीकरणका लागि विस्तृत अध्ययन गरी यसै आर्थिक वर्षदेखि सहरी विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

विकट क्षेत्रमा सरकारले सघन विकास कार्यक्रम गर्ने भएको छ । मानवविकास सूचकाङ्कमा पछाडि परेका उमाकुण्ड, पाँचपोखरी, थाङपाल र जुगल, गौरीशङ्कर, घ्याङलेख, राक्सीसराङ्ग, कैलाश, इच्छाकामना, दुप्चेश्वर, महाभारत, खनियाबास, खानीखोला, बकैयालगायतका क्षेत्रको पहिचान गरी सघन विकास कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गरिने बताइएको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया