माडीका सात वर्षीय युनिक ढकाल बचाऊ अभियान

अन‌ि यो पनि

–रामशरण गैरे
माडी । लामो समयदेखि बोनम्यारोको समस्याबाट पीडित माडी नगरपालिका–७ स्थित देवेन्द्रपुर शनिमन्दिर टोल निवासी यमबहादुर ढकालका छोरा वर्ष ७ का युनिक ढकालको उपचार खर्च जुटाउन ‘युनिक ढकाल बचाऊ अभियान’ सुरू गरिएको छ । बोनम्यारो प्रत्यारोपण गर्न करिब १५ लाख लाग्ने भएपछि आर्थिक रकम संकलन गर्नका लागि अभियान सुरू गरिएको हो ।

बालककी आमा सीता ढकालले छोरा युनिक ढकालको जन्मदेखि नै रगतसम्बन्धी समस्या भएको र छिट्टै नै बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक सहयोगका लागि सबैसँग अनुरोध गरेपछि आर्थिक रकम संकलन गर्नका लागि अभियान सुरू गरिएको थियो ।

भरतपुर–११ बस्ने सामाजिक महिला अगुवा देविका कुँवर र पत्रकार लक्ष्मण गौतमको पहलमा यो अभियान सुरू भयो । सामाजिक अगुवा श्रीप्रसाद दवाडी, पत्रकार अजित अधिकारी, माडी नगरपालिका वडा नम्बर–७ का अध्यक्ष बालकृष्ण सापकोटा, वडा सदस्य रामबहादुर क्षेत्री, स्थानीय अगुवा धर्मराज खनाल, बाबुराम सुवेदी, सुदर्शन सुवेदी, स्वस्थ्यकर्मी सफल गौतमलगायतका व्यक्तिहरु पनि यो अभियानमा जोडिएका छन् ।

बोनम्यारो समस्याका कारण बालकले सहज जीवन जिउन पाएका छैनन् । बिरामीका कारण धेरै हिँडडुल गर्न सक्दैनन् । उनको खेल्ने ठाउँ नै ओच्छ्यान बनेको छ । बाबु ३ महिना पुगेपछि शरीर पहेँलो भयो, जन्डिस भएको हुन सक्छ भन्ने अनुमानले नजिकैको मेडिकलले रगत परीक्षण गर्न सुझाव दिएपछि आमा सीताले युनिकलाई लिएर तत्काल भरतपुरस्थित निको बाल अस्पताल पुगिन् । बाल अस्पतालले रोग पत्ता लगाउन नसकेपछि काठमाडौँस्थित कान्ति बाल अस्पतालमा लगिन् । त्यहाँ पनि रोग पत्ता लागेन ।

ढकाल दम्पती छोरा युनिकलाई बोकेर भारतको पञ्जाबस्थित पिजिआई हस्पिटल पुगे । त्यहाँ शरीरले रगत उत्पादन गर्न नसकेको थाहा भयो । त्यहाँ पनि उनको उपचार भएन । फेरि भरतपुर आएर सरकारी अस्पतालमा उपचार गर्न थाले । चिकित्सकले महिनामा १ पटक रगत दिनुपर्ने भनेपछि भरतपुर अस्पतालकै चिकित्सकले काठमाडौँस्थित सिभिल अस्पतालमा परीक्षण गराउन सुझाव दिए ।

ढकाल दम्पती फेरि युनिकलाई बोकेर काठमाडौँस्थित सिभिल अस्पताल पुगे । सुरूमा केही दिनमा नै रगत बढ्यो, पछि फेरि अवस्था उस्तै भयो । चिकित्सकले युनिक बाबुको शरीरमा रगत बढाउन बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने बताए । उपचार गर्दागर्दै भएको ३ कट्ठा जग्गा पनि बिक्री गरेर सकियो, तर उपचारले पूर्णता पाएन । उनीहरुले छोरालाई रगत थप्दै राख्दै गर्न थाले ।

पछि सिभिल अस्पताल काठमाडौँका चिकित्सकले तत्काल बोनम्यारो ट्रान्सप्लान्ट नगरे अन्य रोगले आक्रमण ग¥यो भने बचाउन समस्या हुन्छ भने । चिकित्सकसँग सीताले ३ महिना समय मागेर सबैतिर उपचारका लागि हारगुहार गरेको बताइन् ।

‘आफन्त, दिदीबहिनी, बुबाआमा वा अन्य कसैबाट बोनम्यारो निकालेर युनिक बाबुको शरीरमा ट्रान्सप्लान्ट गर्नुपर्ने हुन्छ । अहिलेको समस्या भनेको उनको शरीरमा रगतको मात्रा अभाव हुनु र नयाँ रगत उत्पादन गर्न नसक्नु हो । बोनम्यारो ट्रान्सप्लान्ट भए उनको शरीर आफैँले रगत उत्पादन गर्न सक्छ भनेर चिकित्सकले भनेका छन्’, सीताले भनिन् ।

युनिकका बुबा यमबहादुर ढकाल रोजगारीको सिलसिलामा २ महिनाअघिमात्रै साउदी पुगेका छन् । छोराको उपचार गर्ने पैसा नभएपछि केही आधार खोज्न ऋण लिएर विदेश गएका युनिकका बुबा लकडाउनका कारण अहिले साउदीमा बेरोजगार बनेका छन् ।

‘अहिले घर धान्न मुस्किल छ, उपचार गर्ने त धेरै परको कुरा’, युनिककी आमा सीताले सुनाइन् । ‘काठमाडौँस्थित सिभिल हस्पिटलले तीन महिनाभित्र बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भनेको छ । त्यहाँका चिकित्सकले दिएको समय अवधि २ महिना भइसक्यो, अब १ महिनाभित्र बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने छ, तर अहिलेसम्म कतैबाट सहयोग पाइएको छैन, १५ लाख कसरी जुटाउनु । बेलैमा बोनम्यारो ट्रान्सप्लान्ट गर्न सके युनिकले नयाँ जीवन पाउने चिकित्सकले भनेका छन्’, उनले भनिन् ।

‘यत्रो खर्च कहाँबाट कसरी जुटाएर उपचार गरुँ, घरको आर्थिक अवस्था राम्रो छैन । दैनिक छाक टार्न धौधौ परेको परिवारलाई यति ठूलो रकम जुटाउन फलामको चिउरा चपाउनुजस्तै बनेको छ’, उनले थप भनिन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...