चेपाङ गाउँको सदाबहार समस्या : गिठा, भ्याकुरले प्राण धान्ने बाध्यता

अन‌ि यो पनि

चितवन २६ जेठ । काठले बारेको तर आकाश पनि नछोप्ने सानो छाप्रो । त्यही छाप्रोमा बसेर गिठा खुक्र्याउँदै छन्, सुर्खबहादुर चेपाङ । बजारमा बस्ने कसैलाई गिठा चाख्न रहर भए पनि सुर्खबहादुरलाई भने साँझ–बिहानको छाक यही गिठाले टार्नुपर्ने बाध्यता छ । कालिका नगरपालिका वडा नं–१० मा पर्ने अतिविकट बस्तीभित्रको एउटा गाउँ हो, सिद्धिको जिङलाउ । यही गाउँको पखेरोमा बनाएको उनको घरले घामपानी पनि राम्रोसँग ओत्दैन । सोझै आकाश देखिने छाप्रोभित्र रात बिताउँदै आएका उनलाई यतिबेला गिठा पनि सकिन लागेकोले थप चिन्ता सिर्जना भएको छ ।

चेपाङ गाउँमा अनिकाल हरेक वर्ष दोहोरिने समस्या हो । तर, यसवर्ष कोरोना भाइरस सङ्क्रमणका कारण गरिएको निषेधाज्ञाले थप समस्या सिर्जना गरेको उनी बताउँछन् । बारीमा हुने उत्पादनले वर्ष धान्ने कुरै भएन । तर डोको, थुन्से बुनेर बिक्री गरेर गुजारा चलाउँदै आएका उनलाई यसवर्ष डोको, थुन्सेको बिक्री पनि रोकियो । ‘घरमा ल्याएको गिठा पनि सकिन लाग्यो, जंगलमा फेरि गिठा खन्न जाऊँ भने बोट हुर्किइसक्यो’, भित्रभित्रै भोकको आगो दन्किएको पीडाको हाँसो ल्याउने प्रयास गर्दै उनले भने, ‘अब जंगलमा फलेको आँप, खनियो, टाँकीलगायतका फलफूल खोज्ने खाने त हो ।’

कुनै दाताले ल्याइदिए हात थापेर खाने र त्यो पनि नपाए जंगलकै भर पर्नु परेको उनको भनाइ छ । सुर्खबहादुर मात्र नभई यस क्षेत्रका शतप्रतिशत चेपाङ समुदायको पीडा उस्तै हो । यतिबेला विकट बस्तीमा बस्ने चेपाङ गाउँमा भोकमरीले बास गरेको छ । यो वर्षौंदेखिको साझा समस्या हो । पुरानो अन्न सकिनु र बारीमा लगाएको मकै खाने बेला नहुनुले चेपाङ समुदाय जंगलमा फल्ने फलफूल र कन्दमूलकै भरमा छन् । भर्खर टुसा उम्रिएको बेलामा संकलन गरेको गिठाले अहिलेसम्म धाने पनि अब के खाने भन्ने चिन्ताले पिरोलेको छ ।

ज्याला मजदुरी पनि रोकिएपछि यहाँका चेपाङ समुदायलाई थप समस्या भएको स्थानीय कलाराम चेपाङले बताए । ‘अरुबेला ६ महिना अनिकाल र ६ महिना सहकाल भनिन्थ्यो, तर यसवर्ष त बाह्रै महिना अनिकाल भयो’, उनले भने, ‘अरुबेला दुई गुना अनिकाल पथ्र्यो भने यसपटक तीन गुना बढी प¥यो ।’ चेपाङ गाउँको दर्दनाक पीडासम्बन्धी समाचार हरेक वर्ष सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण हुँदै आएको छ । तर, व्यक्तिगतरुपमा र केही संघसंस्थाले सहयोग गर्नेबाहेक सरकारी क्षेत्रबाट सहयोग शून्य भएपछि चेपाङ गाउँमा दिगो समाधान हुन नसकेको चेपाङ अभियन्ता केपी किरण शर्मा बताउँछन् ।

‘सञ्चारमाध्यमले हरेक वर्ष समस्या देखाइदिन्छ, त्यो समस्या व्यक्ति र संघसंस्थाले मात्रै देख्छ’, विगत १२ वर्षदेखि चेपाङ समुदायमा भिज्दै आएका शर्माले भने, ‘तीन तहको सरकारले यो समस्या देख्ने हो भने समाधान भइसक्थ्यो ।’ विशेषगरी, स्थानीय सरकारले विपन्न वर्गको गाँस, बास र कपासको व्यवस्था गर्न सक्नुपर्ने उनको भनाइ छ । साबिकको सिद्धि गाविसभित्र पर्ने जिङलाउसँगै पाइमाराङ, दमियोडाँडा, नान्दरलगायतका गाउँमा भोकमरीको चरम समस्या छ । ‘जिङलाउका सुर्खबहादुरको मात्र समस्या नभई गाउँलेकै समस्या हो’, नान्दरका यमप्रसाद चेपाङले भने, ‘सरकारले दिगो व्यवस्थापन नगरिदिँदा चेपाङको समस्या हरेक वर्ष जस्ताको तस्तै छ ।’

समाचार संकलनकै लागि स्थलगत रिपोर्टिङका लागि जिङलाउ गएका चितवनका पत्रकार डोलराज रानाभाटले सहरमा बसेर सुनेभन्दा बिल्कुल फरक पाएको बताए । ‘सीमित पत्रकारबाहेक अधिकांश साथीहरु सहरकेन्द्रित भएर काम गर्दा यहाँको समस्या जस्तो सुनिन्थ्यो त्योभन्दा दस गुना बढी समस्या रहेछ’, उनले भने, ‘भौगोलिक विकटता र शिक्षाको अभाव नै यहाँको समस्या रहेछ, यसबारे कम्तीमा स्थानीय सरकारले ध्यान दिनुपर्छ ।’ सिद्धिको तीनदोभान बजारबाट एकतर्फी तीन घन्टा हिँडेर जिङलाउ पुगेका पत्रकार रानाभाटले स्थानीय जनप्रतिनिधिले स्थलगत अध्ययन गरेर आफूले काम गर्न नसके पनि प्रदेश र केन्द्र तहसम्म जानकारी गराएर आफ्ना मतदाताको गाँस, बास र कपासको जिम्मा लिन सक्नुपर्ने बताए ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया