एसइई दिने मेरो अधुरो सपना (अनुभूति)

अन‌ि यो पनि

–सिम्रन भुसाल

एसइईको तयारी गर्दै बसेकी म एक परिक्षार्थी, एसइई दिने सपना बोकेकी थिएँ । तर, यो अहिलेको कोभिड–१९ महामारी एसइई र मेरोबीचमा एक दुश्मनको रुपमा आएर मेरो त्यो सपनालाई अधुरो बनाइदियो । मैले सानैबाट सुन्दै आएको एसइई दिएपछि त मन नै आनन्द हुन्छ अरे ! तर, आज आएर मैले त्यो आनन्द महसुस गर्न पाइनँ । मेरा आमाबुबाले भन्ने गर्नुहुन्थ्यो कि एसइई परीक्षा दिएपछि त सगरमाथा चढेर आएजत्तिको खुसी महसुस हुन्छ । उहाँहरुले त्यसबेलामा पाएका कष्टहरु र सानातिना उट्पट्याङहरु मलाई सुनाइरहनुहुन्थ्यो । त्यो समयमा एसइईलाई एसएलसी भन्ने गरिन्थ्यो । त्यो एसएलसी परीक्षा दिने केन्द्र आफ्नो घरबाट टाढा भएको कारण त्यो केन्द्र परेको विद्यालयनजिकै गएर कोठा लिएर आफैँ एक्लै खाना पकाउने, खाने, पढ्ने, सुत्ने गर्नुहुन्थ्यो रे । आज मैले त्यस्तो दुःख त गर्न पर्दैन थियो । आफ्नै घरबाट प्यारी आमाले पकाउनुभएको मीठो खाना खाएर आफूले केही काम नगरी पढेरमात्रै एसइईको परीक्षा दिन पाउँथेँ । तर, मेरा आमाबुबाले मलाई सुनाएजसरी अब पछि मैले मेरा सन्तानहरुलाई त्यो अनुभव सुनाउन नपाउने भएँ ।

म कक्षा ७–८ मा पढ्दा मेरो विद्यालयका मेरा सिनियर दाइदिदीहरुले एसइईको परीक्षा हो भन्दै सबै कुरा बिर्सेर परीक्षाको तयारी गर्नुहुन्थ्यो, तर आज मैले त्यसरी परीक्षाका लागि तयारी गर्न पाइनँ । कोही दाइदिदीहरु परीक्षा बिग्रियो भनेर रूँदै आउनुहुन्थ्यो भने कोही दाइदिदीहरु नजानेको पनि मिल्यो भनेर खुसी हुँदै आउनुहुन्थ्यो । मैले पनि परीक्षा दिन पाएको भए के भन्दै आउथेँ होला ? त्यो जान्न पाइनँ । अन्तिम परीक्षाको दिन अब त यो विद्यालय छाडिन्छ र सबैसँग टाढिन्छ भन्ने कुराले धेरै दाइदिदीहरु रूने गर्नुहुन्थ्यो । तर, आज म मेरा साथीहरुसँग त्यसरी रोएर आफ्नो दुःख पोख्न पाइनँ । दाइदिदीहरु भन्ने गर्नुहुन्थ्यो कि एसइई सकिएपछि सबैजना मिलेर मुस्ताङ, इलाम, पोखरा, दार्जिलिङतिर घुम्न जाने हो । तर, यो महामारीले गर्दा मैले त्यसो पनि भन्न पाइनँ ।

एसइईजस्तो राष्ट्रियस्तरको परीक्षा दिएपछि आफ्नो आत्मविश्वासको स्तर पनि बढ्थ्यो होला । यो परीक्षा आफ्नो क्षमता देखाउने अवसर पनि थियो । यस परीक्षामा प्राप्त अङ्कको आधारमा नै मेरा बुबाआमा तथा दाइदिदीहरुले अहिले पनि आफ्नो मूल्याङ्कन गरिरहनुहुन्छ । जस्तैः म फलानो विषयमा अब्बल थिएँ, फलानो विषयमा कमजोर थिएँ । त्यसैले एसएलसी वा एसइईमा फलानो विषयमा सोचेभन्दा राम्रो तथा फलानो विषयमा सोचेभन्दा निकै कम अङ्क प्राप्त गरेँ । तर, कोभिड–१९ को कारणले गर्दा मैले त्यति ठूलो अवसर प्राप्त गर्न सकिनँ ।

परीक्षा दिनका लागि एसइईको परीक्षा केन्द्र तोकिएको विद्यालयमा जाँदा नयाँ–नयाँ साथीहरुसँग भेट हुनेथियो । मेरा पनि आफ्नो विद्यालयबाहेक अरु विद्यालयका पनि साथीहरु बन्नेथिए । तर, त्यस्ता साथीहरु बनाउन मैले पाइनँ । यसवर्षको एसइई पनि पहिला पहिलाकै जसरी भएको भए मैले मेरा शिक्षकहरुका साथसाथै मेरा साथीहरुसँग अब ११ कक्षामा कुन विषय लिएर पढ्ने होला ? कुन कलेज पढ्ने होला ? भनेर सल्लाह लिन पाउँथेँ । तर, यो महामारीले गर्दा मैले त्यो अवसर पनि पाइनँ । त्यस अवसरबाट वञ्चित भएकोले अहिले मलाई अब कहाँ के विषय पढ्ने भन्ने कुराले सताइरहेको छ ।
म कक्षामा प्रथम वा द्वित्तीय हुने विद्यार्थी त होइन । तर, परीक्षाका लागि भनेर मेहनत गरेकी थिएँ । करिब दुई महिना होस्टेलमा बसेर पढेकी थिएँ । जहाँ मैले एसइईमा राम्रो अङ्क प्राप्त गर्न समयलाई व्यवस्थापन गर्दै कसरी सबै प्रश्नका उत्तरहरु लेख्ने भनी केही नयाँ कुराहरु पनि सिकेकी थिएँ । तर, त्यसलाई लागू गरी परीक्षामा राम्रो अङ्क ल्याउने प्रयास गर्न पाइनँ । अब विद्यालयले नै आन्तरिक मूल्याङ्कन गरेर अङ्क पठाउने भनेको छ । सायद मेरो एसइईमा राम्रो अङ्क आउला, तर आफैँले मेहनत गरेर परीक्षा दिएर ल्याएको राम्रो जिपिए हो भनेर रमाउन पाइनँ ।

एसइई दिनका लागि सुरूबाट नै मैले पनि तयारी नगरेको त होइन । तर, कक्षा १० मा प्रवेश गरेदेखि नै नेपालमा पनि कोरोनाको महामारी प्रवेश ग¥यो र हाम्रो पढाइलाई अनलाइनमा सीमित ग¥यो । सबै साथीहरु कक्षाकोठामा सँगै बसेर पढ्न पनि पाइएन । परीक्षा त हुन्छ जस्तै लागेको थियो । अन्तमा परीक्षा स्थगित भएको समाचारले मेरो एसइई दिने सपना अधुरो नै भयो ।

(लिटिल फ्लावर स्कुल, नारायणगढ)

[email protected]

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया