समयमै काम सक्न निर्माण व्यवसायीलाई निर्देशन

अन‌ि यो पनि

खैरहनी, २६ जेठ । चालु आर्थिक वर्षमा विनियोजित ठूला योजनाहरुका काम समयमै सक्न खैरहनी नगरपालिकाले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । यो वर्ष योजना कार्यान्वयनमा रहेका कालोपत्रे र पिचको काम तोकिएको समय भित्रै सक्न नगरपालिकाका मेयर लालमणि चौधरीले निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् ।

योजनाको जिम्मा पाएका निर्माण व्यवसायीलाई बुधवार आफ्नै कार्यकक्षमा बोलाएर मेयर चौधरीले आगामी असार २५ गते भित्र सम्पन्न गर्ने गरी योजनाको कामलाई तीव्र पार्न निर्देशन दिएका हुन् । संघ, प्रदेश र स्थानीय तहले विनियोजन गरेका योजनाहरु (कालोपत्रे र पुल) काम गर्न तोकिएकै समयमा गर्न उनले भनेका हुन् ।

‘संघ र प्रदेशको योजनालाई प्रथामिकता दिएर काम गर्नुस्’ मेयर चौधरीले भने, ‘वजेट फ्रिज हुने वातावरण नदोहोरियोस् । असार मसान्त भित्र निर्माण सम्पन्न हुन नसके प्रदेश र संघको वजेट फ्रिज हुन्छ ।’ संघ र प्रदेशका पिचका योजनाहरु एक करोड सम्मका छन् । तर निर्माण व्यवसायीबाट तीव्र रुपमा काम हुन नसकेपछि मेयर चौधरीले समयमै काम सक्नु पर्ने बताएका हुन् ।

समयमै काम नसक्दा गत वर्ष संघीय योजनाहरुमा नगरले दुई करोड रुपैयाँ खर्च गर्नुपरेको नगरपालिकाले जनाएको छ । सो अवसरमा मेयर चौधरीले आम जनताको विश्वास जित्न टिकाउ हुने गरि काम गर्न पनि आग्रह गरे । ‘योजनाको जिम्मा पाएका तपाईहरु (निर्माण व्यवसायी) यही नगर भित्रकै हुनुहुन्छ’, मेयर चौधरीले भने, ‘तपाईहरुलाई अवसर पनि हो, प्रभावकारी काम गर्नुस् ।’

सो क्रममा निर्माण व्यवसायीहरुले कोरोना संक्रमणका कारण कामदारको अभाव, निर्माण सामाग्रीको अभाव रहेको गुनासो गरे । सो अवसरमा उपमेयर सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने, आर्थिक प्रशासन शाखा प्रमुख लेखा अधिकृत केशव हुमागांई, योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठ र यहाँका निर्माण व्यवसायीहरु सहभागी थिए ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया