भरतपुर क्यान्सर अस्पताल परिसरमा बृहत्तर बागवानी फार्म

अन‌ि यो पनि

चितवन, २६ जेठ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा बृहत्तर बागवानी फार्म तथा नर्सरी विकास कार्यक्रम सञ्चालमा ल्याइने भएको छ । अस्पताल र वागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच सहकार्य गरेर नेपालकै नमूना फार्म निर्माण गर्न लागिएको हो ।

अस्पताल स्थापना हुनुअघि सो क्षेत्रमा फार्म नै रहेको थियो । हाल अस्पतालले ओगटेको क्षेत्रबाहेक ५० विघाभन्दा बढीमा फलफूलका रूख भए पनि आवश्यक व्यवस्थापनको अभावमा व्यावसायिक बन्न सकेको छैन । दुई संस्थाबीच गरिएको सम्झौतामा मन्त्रालयले बृहत्तर बागवानी फार्म तथा नर्सरी विकासका लागि कार्ययोजनाका आधारमा ससर्त अनुदान उपलब्ध गराउने छ ।

यसैगरी नर्सरीबाट उत्पादित आँप, लिची, कटहर, एभोकाडो, सपोटालगायत बहुवर्षे फलफूलहरूको गुणस्तरीय बेर्ना वितरण एवं व्यवस्थापनका लागि मन्त्रालयले आफ्ना मातहतका कृषि ज्ञान केन्द्रहरूसँग आवश्यक समन्वय गर्नेछ । अस्पतालले बागवानी फार्म तथा नर्सरी विकास योजना तयार गरी मन्त्रालयबाट प्राप्त अनुदानको परिचालन गर्ने छ । बागवानी फार्म तथा नर्सरीमा कर्मचारी परिचालन तथा फार्मको सुरक्षाको प्रबन्ध अस्पतालले मिलाउने सम्झौतामा उल्लेख छ ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार अस्पताल र मन्त्रालयको समन्वयमा सञ्चालक समिति गठन गरिनेछ । सञ्चालक समितिको काम, कर्तव्य र अधिकार निर्धारण गरिनेछ । सो समितिले फार्म तथा नर्सरी विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्ययोजना तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्नेछ ।

त्यहाँ वर्षिक तीन लाखभन्दा बढी बिरुवा उत्पादन गरी कृषकलाई सहुलियत दरमा उपलब्ध गराउने लक्ष्य राखिएको ढकालले जानकारी दिए । त्यहाँबाट भएको आम्दानीको ७० प्रतिशत कार्यक्रम सुदृढीकरणका लागि खर्च गरिनेछ भने बाँकी ३० प्रतिशत क्यान्सरका बिरामीको उपचारमा सहयोग गरिनेछ ।

पहिलो पाँच वर्षपछि मन्त्रालय र अस्पतालको आपसी समझदारीमा फार्मको व्यवस्थापन र सञ्चालन गरिनेछ । अस्पताल परिसरमा उत्पन्न हुने फोहोरमैला व्यवस्थापन गरिने दुई संस्थाको बीचमा भएको सम्झौतामा उल्लेख गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार हाल वार्षिक रु तीन लाख मात्रै आम्दानी भइरहेको छ । व्यवस्थित गर्दैगर्दा आम्दानी बढ्ने, जग्गाको सदुपयोग हुने, भएका बिरुवाको संरक्षण हुने, अस्पताल परिसर हरियाली र सुन्दर हुने उनले बताए ।

यहाँका फलफूलका रूख उच्च गुणस्तरका रहेकाले तिनीहरू कलमी गरेर उत्पादन हुने बिरुवा उच्चस्तरको हुने उनको भनाइ छ । अस्पतालको बगैँचा क्षेत्रमा अवैध रूपमा मानिसको प्रवेश पनि रोकिने गौतम बताउँछन् । उनले भने, “भइरहेका फलफूलका रूखहरू हरेक वर्ष २०÷२५ प्रतिशत मर्न थालेका छन् । तिनीहरूको ठाउँमा नयाँ बिरुवा रोपिनेछ ।” अस्पतालले बागवानी व्यवस्थापनका लागि आउँदो वर्ष मन्त्रालयसँग रु पाँच करोड माग गरेको छ ।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्मा यो नेपालकै नमूना बागवानी फार्म बन्ने बताउँछन् । तत्कालीन अवस्थामा अस्पताल बन्दै गर्दा अस्पतालले ओगटेको भागबाहेकका क्षेत्रमा बागवानीको प्रवद्र्धन गर्दै जाने उल्लेख भएको बताउँदै उनले भने, “अस्पतालमा रहेको बागवानी विभागमा न्यून कर्मचारीले मात्रै काम गर्दै आएका छन् ।

यसले मात्रै धान्न सकेन ।” विसं २०४८ चैत १५ गते नेपाल र चीन सरकारबीच १०० श्ययाको सुविधासम्पन्न क्यान्सर अस्पताल स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् २०४९ साल साउन २७ गते भरतपुरस्थित यज्ञपुरी बागवानी फार्मको ७५ बिघा १० कट्ठा जमीन उपलब्ध गराइएको हो ।

प्रतिकृया

मुख्य समाचार

अनेमसंघले बाँड्यो सुकुमबासीलाई खाद्यान्न

रत्ननगर । निषेधाज्ञाका कारण जीविकोपार्जनमा समस्या भोगिरहेका रत्ननगर वडा नं ८ का सुकुमबासी समुदायलाई शुक्रबार खाद्यान्न वितरण गरिएको छ...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया