मधुसूदन दवाडी
नेपालको सबैभन्दा नजिकको र पुरानो छिमेकीका रुपमा चिनिएको भारतका १४औँ प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने भ्रमण यसै सोमबार सम्पन्न भयो । १७ वर्षपछि भारतीय प्रधानमन्त्री मोदीले यो भ्रमण गरेका हुन् र नेपालको संसद्मा सम्बोधन गर्ने उनी नै पहिलो विदेशी राष्ट्रप्रमुख बनेका छन् । जसरी मोदी नेपाल भ्रमणमा आउनुअगाडि जे–जस्ता आशंकाहरु गरिएका थिए, जुन आशंकाहरु मोदीको भ्रमणले हटाइदिएको छ । मोदीले व्यक्त गरेका विचारहरुलाई नेपालका सबै दलहरु तथा नेपाली जनता सबैले उच्च प्रशंसा गरेका छन् । उनले नेपालीहरुले गर्ने भारतप्रतिको हरेक शंकाहरुलाई खुलस्त रुपमा स्पष्ट पारेका छन् ।
भ्रमणको प्रारम्भदेखि नै उनका हरेक विचार तथा भेटघाटहरुलाई नेपाली मिडियाहरुले उच्च प्राथमिकता दिएर प्रकाशन र प्रसारण गरेका थिए । उनको बोलीचाली तथा भेटघाटमा बेग्लै प्रकारको आत्मविश्वास तथा शानदार व्यक्तित्व झल्कन्थ्यो । संसद्मा गरिएको सम्बोधनको प्रारम्भ नेपाली भाषामा गर्नेदेखि लिएर काठमाडौँको सडकमा नै ओर्लिएर सर्वसाधारण नेपालीसँग कुराकानी गर्नुलाई प्रशंसनीय कार्यका रुपमा लिन सकिन्छ । यस तथ्यलाई मोदीले नेपाललाई दिएको उच्च प्राथमिकताका रुपमा बुझ्न सकिन्छ । नेपालभित्रकै मधेसवादी दलहरुले संसद्मा हिन्दी भाषामा भाषण गरिरहेका बेला भारतका प्रधानमन्त्रीले भने नेपाली भाषामा सम्बोधन गरेर राष्ट्रिय भाषालाई सम्मान गर्नुपर्ने शिक्षा दिएका छन् । जुन तथ्यले हिन्दी बोल्दैमा मधेसी भइन्छ भन्ने मधेसवादी नेताहरुको मनोविज्ञानलाई दह्रो व्यङ्ग्य गरेको छ । मधेसवादी दलका नेताहरुसँग भएको भेटमा मोदीले मधेसवादी नेताहरुलाई पहाडी नेताहरुको धेरै विरोधमात्र नगरेर मिलेर जान आग्रह गरेका छन् । उनले मधेसी नेताहरु तथा हिन्दू धर्मको पक्षमा बोल्छन् कि भन्ने आशंका कयौँ मानिसहरुले गरेका थिए, तर नेपालमा मोदीको विचारमा एक जात, एक जाति तथा धर्मको मात्र संकीर्ण सोच देखिएन । सबैभन्दा ठूलो सन्देश त उनले पार्टीको हितमा वा गुटको हितमा भन्दा पनि देशको हितमा लाग्न सबैलाई आह्वान् गरेका छन् । हामीले हिन्दूवादी नेता भनेर मोदीलाई सोच्ने गरेका थियौँ, तर उनले नेपालमा व्यक्त गरेको विचारले उनी मानवतावादी तथा एक जना दार्शनिक नेता हुन् भन्ने चिनाएको छ ।
विशेष तयारी र उत्साहका साथमा नेपाली संसद्मा सम्बोधन गरेका नरेन्द्र मोदीका प्रत्येक शब्द त्यत्तिकै ओजपूर्ण तथा सारगर्भित थिए । उनले बोल्दै गर्दा नेपाली सभासद्हरुले तालीको गड्गडाहटबाट समर्थन जनाएका थिए । विशेषगरी, भारतले बुद्ध भारतमा जन्मिएको हो भनेर प्रचार गरेको छ भन्ने विषयले लामो समयदेखि प्राथमिकता पाएको थियो । नेपाली मिडियामा पनि यो विषयले समय–समयमा प्राथमिकता पाइरहेको थियो । कुनै बेला दी हिमालयन टाइम्स पत्रिकाले बुद्ध भारतमा जन्मिएका हुन् भन्यो भनेर नेपालमा पत्रिका जलाउनेसम्मको काम भएको थियो । नरेन्द्र मोदीले आफ्नो सम्बोधनमा पटकपटक बुद्धको देश भनेर नेपाललाई सम्बोधन गरेका थिए, जसबाट बुद्ध नेपालमा जन्मिएको भन्ने तथ्यप्रति भारतको धारणा प्रस्ट भएको छ । स्वयं भारतकै प्रधानमन्त्रीले बुद्धको जन्मभूमिका रुपमा नेपाललाई चिनाउनुभन्दा ठूलो गर्व नेपालका लागि अरु हुन सक्दैन । यस विचारले बुद्ध भारतमा जन्मिएका हुन् भनेर दाबी गर्नेहरुलाई ठूलो झापड लागेको छ ।
मोदीले बुद्धको देशमा जन्मिएका नेपालीहरुले बुद्धले देखाएको मार्गनिर्देशनमा अघि बढ्न पनि आह्वान् गरेका छन् । उनले पटकपटक बुद्धको नाम दोहो¥याउनुको अर्थ पनि त्यही हो । उनले नेपालको भूमि ऋषिमुनिहरुको तपोभूमि हो भन्ने स्मरण गराउँदै जसरी उनीहरुले वेद, उपनिषद्जस्ता धर्मशास्त्रहरु लेखे, त्यसैगरी नयाँ संविधान लेख्न पनि ऋषिमुनिको आवश्यकता पर्ने सन्देश दिएका छन् । उनको यस भनाइले संविधान लेख्न वा राजनीति गर्न पनि आध्यात्मिक ज्ञानको आवश्यकता पर्ने कुरालाई संकेत गरेको छ । सयौँ वर्षअघिदेखि नेपाल र भारतका बीचमा सांस्कृतिक तथा धार्मिक सम्बन्ध रहँदै आएको छ । दुवै देशका मानिसहरु प्रायः गरेर हिन्दू तथा बौद्ध धर्म मान्ने गर्दछन् । दुवै धर्मका बीचमा पनि एकापसमा सुमधुर सम्बन्ध रहेको छ । हिन्दू धर्मअनुसार भगवान् विष्णुका नवौँ अवतार गौतम बुद्ध हुन् भने उनी बौद्ध धर्मका प्रवर्तक पनि हुन् । उनको जन्म सिद्धार्थ गौतमका रुपमा नेपालको लुम्बिनीमा भएको थियो भने भारतको गया भन्ने ठाउँको पीपलको बोटमुनि तपस्या गरेर उनले ज्ञान प्राप्त गरेका थिए । उनले ज्ञान प्राप्त गरेपछि सिद्धार्थ गौतमलाई बुद्ध भन्न थालियो भने उनले तपस्या गरेको ठाउँलाई बोधगया भनियो । उनले बुद्ध धर्मको प्रवद्र्धन गरेपछि भारतको सारनाथ पुगेर धर्मको प्रचार गरे भने उनको मृत्यु भारतकै कुशीनगरमा ८० वर्षको उमेरमा नै भयो । त्यस कारण, बुद्ध धर्मको सुरूवात तथा प्रचारप्रसारमा नेपाल तथा भारत दुवै देशका क्षेत्रहरुको ठूलो मह¤व रहेको छ ।
बुद्धले देखाएको ज्ञानको बाटो आज पनि त्यत्तिकै समय सान्दर्भिक छ । देशका हरेक पेसा, वर्ग र क्षेत्रका मानिसहरुले उनको ज्ञानको बाटोमा हिँड्न सकेमा नेपाल समृद्ध बन्न खासै समय लाग्दैन । बुद्धले मानवसमाजमा देखिएका समस्याहरुको समाधानका लागि आठ मार्गहरुलाई अगाडि सारेका छन्, जसमा सत्दृष्टि, सत्संकल्प, सत्य बोल्नु, असल काम गर्नु, सही विचार लिनु, सकारात्मक प्रयास गर्नु आदि पर्दछन् । यसलाई अपनाउन नसक्दा नै नेपाली समाज धेरै पछाडि परेको छ भने नेपाली राजनीतिक प्रणाली अस्थिर र अन्यौलग्रस्त बन्नुको कारण पनि त्यही नै हो । नरेन्द्र मोदीले भनेका कुराले तिनै विषयतिर संकेत गर्दछ । अघिल्लो संविधानसभाले संविधान लेख्न नसक्नुको कारण पनि त्यही नै हो । राजनीतिक दलका नेताहरुमा सत्दृष्टि, सत्संकल्पको अभाव भएकाले नै अघिल्लो संविधानसभाले संविधान लेख्न नसकेको हो । मोदीको सम्बोधनले सबै राजनीतिक दललाई झकझक्याउने काम गरेको छ, त्यसैले अब समयमा संविधान बन्छ कि भन्ने आशा गर्न सकिन्छ ।
संसद्मा गरेको सम्बोधनमा मोदीले अब बन्ने संविधान आजलाई भन्दा पनि आजभन्दा ५० वर्षपछिको पुस्तालाई हुनुपर्ने भन्ने सल्लाह पनि सबैलाई दिए । अवश्य पनि संविधान लेखन भनेको सजिलो र सधैँ चलिरहने प्रक्रिया होइन । त्यसैले, आज लेखेको संविधानबाट भोलिको पुस्ताले कठिनाइ भोग्ने अवस्था सिर्जना हुनुहुँदैन । हतार–हतारमा संकीर्ण मानसिकता राख्दै अनावश्यक विवाद गरेर संविधान लेखियो भने त्यसले दीर्घकालीन रुपमा राष्ट्रको हित गर्न सक्दैन । अहिले केही व्यक्ति, दल वा समूहको स्वार्थलाई ध्यान दिएरभन्दा पनि देशको बृहत्तर हितलाई ध्यान दिएर संविधान लेख्नुपर्दछ । नरेन्द्र मोदीको सम्बोधनको आशय पनि त्यही थियो । सधैँ विवाद, झगडा, अन्यौल र असन्तोषले झगडिएको नेपालका नेताहरुको विचारका अगाडि मोदीको सम्बोधन चतुर, दूरदर्शी, सबैलाई खुशी तुल्याउन सक्ने, आफूलाई तुरून्तै परिस्थितिअनुकूल समायोजन गर्न सक्ने प्रखर खुबीको व्यक्तित्वले नेपाली नेताहरुलाई मात्र होइन, सारा नेपाली जनताको विश्वास जित्न सफल भयो । गुनासो र निराशाले भरिएको नेपालको राजनीतिमा बेग्लै ऊर्जा तथा उत्साह दिने काम मोदीको सम्बोधनले गरेको थियो ।
सधैँ भारतले हस्तक्षेप ग¥यो भनेर गुनासो बढिरहेको अवस्थामा मोदीले दुई देशको सम्बन्धलाई कुनै कागजी सम्बन्धका रुपमा मात्र बुझ्न नहुने विचार व्यक्त गरे । उनले सन् १९५० देखि पछाडिका जुनकुनै सन्धि, सम्झौताहरु पनि पुनरावलोकन हुन सक्ने आशय व्यक्त गरेका छन् । त्यस्तै, नेपालको पानी तथा जलविद्युत्को निःशुल्क उपयोगभन्दा पनि किन्न चाहेको कुरालाई प्रस्ट पारेका छन् । नेपालको जडीबुटी, पर्यटन तथा जलस्रोतको व्यापक सम्भावना रहेको तथ्यलाई पनि उनले संसद्मा अभिव्यक्त गरे । नेपाली राजनीतिमा भारतको कुनै हस्तक्षेप नरहने भनेर व्यक्त भएको मोदीको सन्देशलाई सकारात्मक रुपमा लिन सकिन्छ । हामी आफैँ सक्षम र निर्णय क्षमतामा सफल भएमा अन्य देशले हस्तक्षेप गर्ने सम्भावना देखिँदैन । निर्णय क्षमतामा हामी कति कमजोर छौँ भन्ने तथ्यलाई यसपटकका एजेन्डाहरुले पनि प्रस्ट पारेको छ । नेपालको सरकारले भारतीय प्रधानमन्त्रीसामु स्पष्ट ढंगले एजेन्डाहरु राख्नै सकेन । जे भने पनि टाउको हल्लाउने र ताली बजाउनेमात्र नेपाली सरकारको भूमिका देखियो । मोदीको व्यक्तित्व तथा क्षमताका अगाडि नेपालका राजनीतिक दलका नेताहरु धेरै कमजोर देखिए । अब मोदीको जीवन, उनको निर्णय क्षमता, बोल्ने शैली तथा काम गर्ने ढाँचा र आत्मविश्वासबाट नेपालका नेताहरुले ठूलो शिक्षा लिन आवश्यक छ । उनी त्यति सजिलै विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देशका प्रधानमन्त्री बनेका होइनन्, जुन पदमा पुग्नमा उनको अथक मेहनत र अध्ययन छ । उनले गुजरातमा गरेको विकास र प्रगति नै आज मोदी मोडेलका रुपमा विश्वभर प्रशिद्ध छ । उनको भाषण सुनेर ताली बजाउनेमात्र होइन, उनको विकास र प्रगतिको मोडेललाई नेपालमा पनि अपनाउन सकेमा नेपालको समृद्धि धेरै टाढा छैन ।
Discussion about this post