नारायणगढ । प्रतिनिधि छनौटमा विवाद भएपछि नेपाल विद्यार्थी संघ चितवनको जिल्ला अधिवेशन हुन सकेन । प्रतिनिधि विवाद नटुङ्गिएसम्म अधिवेशन हुन नदिने असन्तुष्ट विद्यार्थीहरुको अवरोधले उद्घाटन कार्यक्रम अघि बढ्न नसकेपछि अधिवेशन हुन नसकेको हो । सोमबार रोकिएको अधिवेशन कहिले हुने भन्ने अन्यौल छ ।
संघका केन्द्रीय प्रतिनिधि भूपेन्द्र कोराइलाले हुन नसकेको जिल्ला अधिवेशन कहिले हुने भन्नेमा टुङ्गो नलागेको बताउनुभयो । ‘यो अधिवेशन कहिले गर्ने भन्ने कुरा जिल्ला पार्टीसँग समन्वय गरेर मिति तोकिने छ’, उहाँले भन्नुभयो ।
जिल्ला अधिवेशन उद्घाटन गर्नुअघि नै असन्तुष्ट पक्षका विद्यार्थीहरुले विवाद रहेका क्षेत्र र क्याम्पसहरुको प्रतिनिधि छनौट गरेरमात्रै अधिवेशन प्रक्रिया अगाडि बढाउन दबाब दिएपछि तनावको स्थिति उत्पन्न भएको थियो ।
‘विवादले अधिवेशनको प्रक्रिया नै रोकियो’, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य उत्तम जोशीले भन्नुभयो, ‘अब नयाँ मिति तोकेर अधिवेशनको वातावरण बनाउने छांै ।’ संघका निर्वतमान जिल्ला अध्यक्षसमेत रहेका जोशीले विवाद मिलाएर अधिवेशन हुनुको विकल्प नभएको पनि धारणा राख्नुभयो ।
चितवनको क्षेत्र नम्बर ३ र ५ एवम् बालकुमारी कलेजमा प्रतिनिधि छनौटमा विवाद भएको असन्तुष्टहरुको भनाइ छ । असन्तुष्ट पक्षका नेता परमेश्वर खनाल विवाद समाधान नगरी जिल्ला अधिवेशन हुनै नसक्ने बताउनुहुन्छ ।
यसअघि विवादकै कारण छुट्टाछुट्टै दुई स्थानमा गर्ने भनिएको जिल्ला अधिवेशन सोमबार बिहानमात्रै विवाद मिलाएर एकै ठाउँमा गर्ने सहमति भएको थियो । असन्तुष्ट पक्षले वीरेन्द्र क्याम्पसमा अधिवेशन गर्ने तयारी गरेका थिए ।
‘विवाद मिलाएर अधिवेशन गर्ने भनियो तर भएन’, खनालले भने । केन्द्रीय प्रतिनिधि कोइराला भने प्रतिनिधि छनौटमा त्यति ठूलो विवाद नभएको बताउनुहुन्छ । ‘विवाद समाधानको पनि कानुनी उपाय छ । अधिवेशन नै रोकेर समस्याको समाधान हँुदैन’, कोइरालाले भन्नुभयो । उहाँले कुनै प्रतिनिधिमा विवाद भए प्रक्रियागत ढङ्गले उजुरी दिन पनि आग्रह गर्नुभयो ।
अधिवेशन हुन नसकेपछि ३५० प्रतिनिधि त्यसै अन्यौलमा परे । नेपाल विद्यार्थी संघ चितवनको २०६५ सालयता जिल्ला अधिवेशन हुन सकेको छैन । तत्कालीन अवस्थामा हालका नेपाली काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठ अधिवेशनबाट निर्विरोध अध्यक्ष भएका थिए ।
श्रेष्ठको कार्यकालपछि जिल्ला अधिवेशन हुन नसकेकै कारण सहमतिमै केन्द्रीय समितिले उत्तम जोशीलाई २०६८ सालमा जिल्ला अध्यक्ष नियुक्ति ग¥यो । त्यसयता पटकपटक जिल्ला अधिवेशन गर्ने प्रयास असफल भएको छ ।
एक वर्षयता तीनजनाले चितवनमा संघको जिल्ला अध्यक्ष रहेको दावी गर्दै आएपनि केन्द्रीय समिति र नेपाली काँग्रेस चितवनले गत साउन ११ गते जिल्ला अधिवेशन गराउनका लागि सूर्य ढकालको सयोजकत्वमा तदर्थ समिति बनाएको थियो ।
Discussion about this post