किशोर खनाल
भरतपुर । चियापसल होस् या किराना पसल, स्कुल होस् या सरकारी कार्यालय, गाडी चढ्ने यात्री होस् या फलफूल बेच्ने व्यापारी, जहाँसुकै जताततै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ व्यवस्थापिका संसदमा बोल्नुभएको भाषणको खुवै चर्चा भयो ।
खेतीपाती गर्ने किसानदेखि चौतारीमा बस्ने वृद्धवृद्धासम्म, सूचीकारदेखि कुचीकारसम्म र पियनदेखि हाकिमसम्म सबै वर्गका नेपालीहरुले सोमबार दिनभर नै मोदीको भाषणको खुब प्रशंसा गरेका थिए । स्थानीयदेखि राष्ट्रियस्तरका नेताहरुले पनि मोदीको भाषणकलाको बखान गरे । जताततै मोदीको भाषणकै कुरा हुन्थ्यो । यस्तो लाग्थ्यो, देशै मोदीमय भएको छ ।
गाडीका चालक हुन् या बैंकका कर्मचारी हुन् उनीहरुले समेत मोदीको बोल्ने जादुमय कलाको वर्णन गर्नसमेत भ्याए । व्यवसायीहरु पनि उत्साहित भएका थिए । टेलिभिजन, रेडियोहरु पनि ‘मायावी’ मोदीमै केन्द्रित भए । व्यवस्थापिका संसदमा ४५ मिनेट बोलेका मोदीले सबै वर्गलाई छुन भ्याएका थिए ।
‘मोदीको भाषण कतै पट्यारलाग्दो थिएन, जति सुन्यो त्यति सुन्न मन लाग्ने थियो । उहाँको बोल्ने कलाले सबैलाई प्रभावित पार्न सकेको थियो’ भरतपुर–१० की गृहिणी कमला भट्टले भनिन्, ‘मैले उहाँको भाषण पूरा सुनँे, नेपालले उहाँबाट धेरै कुरा लिन सक्छ । त्यसको लागि यहाँको देश हाँक्ने नेताहरुले भिजनसहितको प्रस्ताव उहाँसमक्ष राख्न सक्नुपर्छ ।
भाषणमा दिनुभएको मोदीको ‘हिट’ फर्मुलाको पनि चर्चा भएको छ । ‘एचआईटी’को हिट फर्मुलाले सबै नेपालीलाई एक पटक सोच्न बाध्य बनाएको छ । एच–‘हाईवेज’, आई–‘आईवेज’, टी–‘ट्रान्सवेज’ भनेर मोदीले हिट फर्मुला पस्कँदा सबै सभासद्हरुको ध्यान एकत्रित भएको थियो ।
‘उहाँको भाषणकला कुनै कलाकारको भन्दा कम थिएन, उहाँले वचनमा नेपाललाई धेरै दिनुभएको छ, नेपालीले उहाँबाट धेरै आशा गरेका छन् । उहाँले नेपाली भाषामा भाषण सुरू गर्नुभएकोले सारा नेपालीहरु उहाँबाट धेरै प्रभावित भएका छन्’ शिक्षक संग्राम पोखरेलले भने, ‘उहाँको वचनबद्धता बसाइँ उपन्यासका पात्र रिकुटेले झुमाको जवानी लुट्न गरेको झुटो वचनजस्तो नहोस् ।
‘उहाँले नेपाललाई धेरै गर्छु भनेर सोमबार साँझ भारत प्रस्थान गर्नुभयो, उहाँबाट हामीले धेरै लिनुपर्छ यसको लागि हाम्रा नेताहरु तयार हुनुपर्छ’ नारायणगढका व्यवसायी हासिम मियाले भने, ‘उहाँले नेपालीमा भाषण गरेर सबैलाई चकित पारिदिएको खुब मनप¥यो । उहाँ त एकजना कलाकारजस्तो लाग्यो, धेरै बाठो मान्छे उहाँ । नेपाल र नेपालीलाई बिझाउने शब्द उहाँबाट कतै आएन ।’
‘मोदीबाट हाम्रा नेताहरुले धेरै सिक्नुपर्छ, त्यस्ता पो नेता हुनुपर्छ, नेपालीलाई भन्दा उहाँलाई नेपालको बारेमा बढी चासो र पत्तो भएको कस्तो अचम्म, हाम्रा नेतालाई थाहा नभएको कुरा उहाँलाई थाहा रहेछ’ अक्सफोर्ड कलेज गैंडाकोटका विद्यार्थी दीपक तिवारीले भने, ‘हामीले माग्नुपर्छ उहाँबाट सबैथोक होलाजस्तो लाग्यो ।’
‘उहाँको बोल्ने शैली सबैलाई पृथक लाग्यो । सबैलाई मन्त्रमुग्ध पा¥यो । कतिबेला, पानी र जवानीको कुरा आयो, शस्त्र र शास्त्रको कुरा आए, अनि बुद्ध र युद्धको कुरा पनि आयो, त्यसपछि गरिब र अमिरको कुरा पनि आयो, उहाँमा वाककटुता धेरै राम्रो पाएँ’ मोहना माविका सहप्राचार्य कमल खनालले भने, ‘उहाँको प्रतिबद्धता कार्यान्वयन भएमा धेरै राम्रो हुन्छ ।’
‘उहाँले बोलको कुराहरु कार्यान्वयन हुन्छ, या हुँदैन त्यो त हेर्न बाँकी छ’ कर्मचारी प्राज्ञ पोखरेलले भने, ‘पानी र जवानीको भर हुँदैन भनेझैं उहाँको बोलीको भर हुन्छ या हुँदैन खै !’ ‘मोदीको भाषणबाट म धेरै प्रभावित त भएँ, तर कुनै चटकेको जादु हेरेर शत्रुलाई खोकिलामा फुक्र्याउँदै च्यापेजस्तै हाम्रा देशका अगुवाहरुलाई व्यङ्ग्यबाण प्रहार गरी नेपालको खिल्ली उडाएको अनुभूति भयो’ साहित्यकार नारायण पौडेलले भने ।
Discussion about this post