कोरोनाको कहर : यसरी बढाउनुहोस मनोबल !

अन‌ि यो पनि

–गोपाल ढकाल

कोरोनाको दोस्रो लहरबाट हामी आक्रान्त बन्दै गैरहेका छौँ । मानिसहरुमा डर, चिन्ता, भय, तनाव बढेर गएको छ । विपत्तिको बेला सामान्य डर, चिन्ता, छट्पटी, तनाव हुनु स्वाभाविक नै हो । यसलाई असामान्य अवस्थामा मानिसले देखाउने स्वाभाविक प्रतिक्रिया भनिन्छ । तर, लामो समयसम्मको डर, चिन्ता, भय, तनाव हुनु भने राम्रो होइन । यसले शारीरिक तथा मानसिकरुपमा कमजोर बनाउँदै लैजान्छ । तनावले रोगप्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । कोरोनाको संक्रमणलाई जित्न रोगप्रतिरोधात्मक क्षमता मजबुत हुनुपर्छ ।

कोरोनाको सङ्क्रमणसँग लड्न शरीरमा रोगप्रतिरोधात्मक शक्ति आवस्यक पर्छ भने मानसिक वा मनोवैज्ञानिकरुपमा मनोबल (आत्मबल वा आत्मशक्ति) उच्च हुनुपर्छ । शारीरिकरुपमा स्वस्थ हुन र रोगप्रतिरोधात्मक क्षमता बढाउन सन्तुलित खानपिन, व्यायाम, पर्याप्त आराम र निद्राजस्ता कुरा आवश्यक पर्छ । जसरी व्यक्तिको आआफ्नै शारीरिक क्षमता हुन्छ त्यसैगरी प्रत्येक व्यक्तिको आआफ्नै मानसिक क्षमता हुन्छ, जसलाई साइकिक इनर्जी वा आत्मबल वा आत्मशक्ति पनि भनिन्छ । कुनै कार्यमा सफलता पाउन, कुनै घटना वा परिस्थितिको सामना गर्न व्यक्तिमा भएको मनोबलले मह¤वपूर्ण भूमिका खेलिरहेको हुन्छ । आत्मबल उच्च भएको व्यक्तिमा आत्मविश्वास पनि उच्च नै हुने गर्दछ ।

हामीले सुन्दै आएका छौँ, कोरोनाको सङ्क्रमणलाई जित्न मनोबल उच्च बनाउनुपर्छ । कोरोनालाई जितेकाहरुको पनि एउटै भनाइ छ, ‘मनोबल उच्च भए कोरोना भाइरसलाई जित्न सकिँदोरहेछ ।’ कोरोनाको भ्याक्सिन भनेकै मनोबल हो । तर, आत्मबल वा मनोबल कसरी उच्च बनाउने ? मनोबल बढाउँछु भन्दा आफैँ बढ्ने पनि होइन । के ग¥यो भने आत्मबल उच्च हुन्छ ?

यस्ता छन् मनोबल बढाउने व्यावहारिक उपायहरु :

१. सुरक्षाका उपाय
कोरोनाको सङ्क्रमणबाट बच्न सुरक्षाका उपायहरु कडाइसाथ अवलम्बन गर्नुपर्छ । भीडभाडमा नजाने, मास्कको प्रयोग गर्ने र बारम्बार साबुनपानीले हात धुने । यसो गर्दा सङ्क्रमित हुनबाट जोगाउने नै भयो । साथै, मानसिकरुपमा पनि आफू सुरक्षित छु भन्ने कुरामा मन ढुक्क हुन्छ । आत्मबल उच्च हुन्छ ।

२. कोरोनासँग लड्न मानसिकरुपमा तयार
यो प्राकृतिक विपत्ति भएकोले हाम्रो हातमा छैन । यो समस्या विश्वको नै साझा समस्या हो । यस कारण यसलाई स्वीकार गर्नुको विकल्प छैन । कथम्कदाचित् सङ्क्रमण भएको खण्डमा पनि यसलाई सामना गर्छु भन्ने मनस्थिति बनाउनुपर्छ । जस्तो पर्छ त्यस्तै टर्छ होइन कि मानसिकरुपमा तयार भएर बस्नुपर्छ । यसले हामीलाई सङ्क्रमणसँग जुझ्न सहज बनाउँछ । कोरोनाको डर, चिन्ता, भय कम भएर जान्छ ।

३. परिस्थितिप्रति सकारात्मक धारणा
समय सधैँ एकैनास हुँदैन । अहिलेको समय कठिन भए पनि एकदिन अवश्य टरेर जान्छ । भागवतगीतामा भनेझैँ ‘जे हुन्छ राम्रोकै लागि हुन्छ ।’ त्यसैले, आत्मविश्वास र धैर्यता कायम राख्नुपर्छ । मनोबल उच्च राख्दा आत्मविश्वास र धैर्यता दुवै बढेर जान्छ । यस्तो बेला आत्तिन हुन्न भनेर सोच बनाउनुपर्छ ।

कोरोनाको सङ्क्रमण भए पनि मरिन्छ नै भन्ने हुँदैन । कोरोनाको सङ्क्रमणका कारण हुने मुत्यदर अत्यन्त न्यून छ । रोगप्रतिरोधात्मक क्षमता र आत्मबलले सङ्क्रमणलाई जित्न सकिन्छ भन्ने सोच बनाउनुपर्छ । रोगप्रतिरोधात्मक क्षमता र आत्मबल दुवैलाई आफैँले बढाउन सकिन्छ भन्ने कुरामा ख्याल गर्नुपर्छ ।

४. हौसला तथा प्रेरणा
विपत्तिको समयमा हौसला र प्रेरणा अतिआवश्यक हुन्छ । घरपरिवार, आफन्त तथा साथीभाइको हौसला, प्रेरणा र आत्मीयताले विपत्तिसँग जुझ्न ऊर्जाको काम गर्छ । विपत्तिको समयमा आफूलाई साथ दिने, आफ्नो भावना बुझ्ने तथा हौसला दिने व्यक्तिहरुसँग आफ्नो मनका भावनाहरु बाँड्ने गर्नुपर्छ ।

विपत्तिको वेला प्रेरणादायी भनाइ सुन्ने, किताब पढ्ने र चलचित्र वा भिडियो हेर्ने गर्नुपर्छ । आफूले आफैँलाई आत्मसुझाव दिएर पनि हौसला बढाउन सकिन्छ । जस्तैः ‘म ठीक छु, स्वस्थ छु, ठीक हुँदै गएको छु’जस्ता शब्दहरु बारम्बार उच्चारण गरेर आत्मसुझाव दिन सकिन्छ । आफ्ना विभिन्न सबल पक्षहरु लेख्ने, मनन वा उजागर गर्नाले पनि आत्मबल बढ्छ ।

५. मनोसामाजिक सहयोग
विपत्तिको बेला विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको जोखिम बढेर जान्छ । लामो समयसम्मको मनोवैज्ञानिक तनाव, मनोसामाजिक समस्या वा मानसिक रोगले व्यक्तिको आत्मबल र आत्मविश्वासलाई कमजोर बनाउन सक्छ । यस्तो अवस्थामा भौतिक सहयोगमात्रै पर्याप्त हुँदैन । मनोवैज्ञानिक वा मनोसामाजिक सहयोगको पनि जरूरत पर्दछ । यस्तो बेला विज्ञको सहयोग चाहिन्छ । मानसिकरुपमा स्वस्थ व्यक्तिमा मात्र आत्मबल र आत्मविश्वास राम्रो हुन्छ ।

६. तनावको व्यवस्थापन
तनावले शारीरिक तथा मानसिकरुपमा शिथिल बनाउँछ । विपत्तिको समयमा तनाव बढ्ने नै भयो । नियमितरुपमा योग, ध्यान, व्यायाम गर्ने, गहिरो श्वासप्रश्वासका अभ्यासहरु गर्ने, शुद्ध सन्तुलित भोजन गर्ने, पर्याप्त मात्रामा सुत्ने र आराम गर्ने गर्नुपर्छ, जसले तनाव कम गर्न मद्दत पु¥याउँछ । ध्यानले मनलाई शान्त राख्न सहयोग गर्छ ।

७. आनन्दायक क्रियाकलाप
कोरोनाको कहर र निषेधाज्ञाको समयमा आफ्नो रूचिका विषय र क्रियाकलापहरुमा धेरैभन्दा धेरै समय बिताउनुपर्छ । जस्तो आफूलाई मन पर्ने किताब पढ्ने, चलचित्र हेर्ने, संगीत सुन्ने, लेख्ने, आफ्नो आस्था र विश्वासअनुसार धार्मिक कार्यमा भाग लिने, पूजापाठ गर्ने, चाडपर्व मनाउने, मनोरञ्जन आदि जस्ता विषयमा सक्रिय हुनाले एक त समयको सदुपयोग हुने भयो भने अर्कोतर्फ दैनिकीलाई सहज बनाउन सकियो । आफूले दैनिक गर्ने कार्यहरुलाई निरन्तरता दिने गर्नुपर्छ, नत्र खाली दिमाग सैतानको घर हुन जान्छ । आफ्ना रूचिकर कुरामा समय बिताउँदा तनाव कम हुने, आनन्दसँग दिन बित्ने हुँदा सकारात्मक सोचको विकास हुनुका साथै आत्मबलसमेत बढ्छ ।

८. सकारात्मक जीवनशैली
कोरोनाको सङ्क्रमण र निषेधाज्ञाले गर्दा अहिले व्यक्तिको जीवनशैलीमा समेत पहिलाको भन्दा परिवर्तन आएको छ । तनावको बेला व्यक्तिले कि त सकारात्मक व्यवहार देखाउँछ कि नकारात्मक व्यवहार देखाउँछ । सकारात्मक जीवनशैली अपनाएको खण्डमा व्यक्ति चाँडै पूर्व अवस्थामा फर्कन सक्छ । आत्मबल पहिलाजस्तै उच्च हुन्छ । तर, नकारात्मक जीवनशैलीले भने समस्या जटिल हुँदै जान्छ । विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको समस्या देखा पर्न सक्छ । हाम्रो दैनिक जीवनशैली र क्रियाकलापहरु आफू र अरुलाई हानिरहित र सकारात्मक हुनुपर्छ ।

९. सत्यतथ्य सूचना र जानकारी
विपत्तिको समयमा अनेक किसिमका अफवाह फैलिन सक्छ । तनावको वेला हाम्रो निर्णय लिने, समस्यालाई बुझ्ने क्षमतामा पनि कमी आउँछ । हामी भावनामा बग्न सक्छौँ । यस्तो अवस्थामा हामीले तथ्यपरकरुपमा सोच्ने र समस्यालाई बुझ्ने गर्नुपर्छ । विषयवस्तु र घटनालाई हेर्ने दृष्टिकोण सही बनाउनुपर्छ ।

अहिलेको अवस्थामा आधिकारिक सूचना तथा समाचारमात्रै हेर्ने गर्नुपर्छ । समाचारहरु बारम्बार हेर्ने र सुन्ने गर्नु पनि हुँदैन । यस्ता समाचारहरु दिनमा १–२ पटकभन्दा बढी नहेरेकै राम्रो हो । दुःखद समाचारहरु हेर्दा र सुन्दा पनि हामीमा बेचैनी, निराशा, छट्पटी बढेर आउँछ । मन दुःखी हुन्छ । तनाव बढ्छ । यसले मानसिक आघात हुन पनि सक्छ ।

१०. सीप, तालिम र शिक्षा
कुनै पनि विषयमा आवश्यक सीप, तालिम र शिक्षा पाउँदा आत्मविश्वास तथा आत्मबल अवस्य बढ्छ नै । कोरोनाको सङ्क्रमणको बेला मनोसामाजिक स्वास्थ्यका विषयमा मनोशिक्षा, स्वहेरचाहका विषयमा जानकारी तथा सरसफाइलगायत अन्य विषयको तालिमले आत्मबल बढाउन मद्दत गर्छ ।

(लेखक मनोविद् हुन्, मार्क नेपाल मनोसेवा केन्द्रमा संलग्न छन् ।)

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...