धान रोप्ने बेला मलकै चिन्ता, गत वर्षजस्तो हाहाकार नहुने

अन‌ि यो पनि

भरतपुर । चितवनका किसानलाई यसवर्ष पनि धान रोप्ने सिजनका बेला मल नपाइने भन्ने चिन्ता छाएको छ । गत वर्ष कोरोनाकै कहरमा लामो लाइनमा बस्दासमेत मल नपाइएको हुनाले त्यस्तै अवस्था यो वर्ष पनि दोहोरिन्छ कि भन्ने चिन्ता किसानलाई छाएको छ ।

भरतपुर–६, गीतानगरका किसान पीताम्बर सापकोटाले गत वर्षजस्तै धान रोप्ने बेलामा मल पाइँदैन कि भन्ने चिन्ताले पिरोलिएको बताए । उनले भने, ‘गत वर्ष कोरोनाको कहरका बीच पनि मल लिन लामो लाइनमा बसेर ६ किलो मल लिइएको थियो, गत वर्ष धानको उत्पादन पनि राम्रो भएन । यसवर्ष पनि त्यस्तै अवस्था दोहोरिने डर लागिरहेको छ ।’ उनका अनुसार गत वर्षको जस्तै हुने अवस्था दाहोरिने डरले केही मल अहिले नै किनेर स्टकमा राखिएको छ ।

गीतानगरका सापकोटालाई मात्र होइन, भरतपुर–२५ का किसान दीपक खनाललाई यसवर्ष पनि मलको अभाव हुने डर लागिरहेको छ । उनले भने, ‘गत वर्ष कोरोनाको कहरमै घन्टौँ लाइनमा बसेर मल लिइएको थियो, अहिले त्यस्तो नहोस् भन्ने चाहना छ, तर पाइन्छ कि पाइँदैन केही थाहा छैन ।’ उनले मलको ठूलो हाहाकार नहोस् भनेर अहिलेदेखि नै केही मल खरिद गरेर स्टकमा राखेको बताए । उनले भने, ‘मल स्टकमा राख्नुपर्दैन पाइन्छ भनेका छन्, तर कुनै ग्यारेन्टी नै छैन, त्यस कारण केही मल खरिद गरेर स्टकमा राखेका छौँ । ब्याड बनाउँदा केही मल हाल्नुपर्छ ।’

यतिबेला गरागरामा किसानले बीउको ब्याड हालिरहेका छन् । त्यसका लागि पनि अहिले मल खरिद प्रक्रिया भइरहेको छ । धानको बीउ राख्ने समय सुरू भएसँगै किसानहरु मल नपाइने चिन्तामा रहेका कारण केही मल उनीहरुले स्टकमा राखेको कृषि अधिकृतहरु बताउँछन् ।

गत वर्ष कोरोना महामारीलाई बेवास्ता गर्दै मल लिन निकै लामो लाइन बस्नु परेको पीडा किसानले भुलेका छैनन्, जसका कारण किसानले मल किनेर घरमै स्टकमा राखिरहेका छन् । कृषि सामग्री कम्पनी लिमिटेडले किसानहरुले गत वर्षको अवस्था दोहोरिने डरले मल खरिद गरेर घरमा स्टक राखेको जनाएको छ ।

कम्पनीका प्रमुख राजन बगालेका अनुसार किसानले धमाधम मल लगिरहेका छन् । यतिबेला लाइनमा बसेर भए पनि किसानले मल लगेका छन् । उनले भने, ‘यतिबेला रोपाइँको बेला चलेको छैन, तर पनि किसानले मल यसरी किनेका छन् कि हामी पनि छक्क परेका छौँ ! किसानले त्यो मल स्टकमै राख्न किनेका हुन् ।’ उनले चितवनमा गत वर्षको जस्तो मलको हाहाकार नहुने दाबी गरे । उनले भने, ‘हामीलाई गत वर्षले पाठ सिकाएको छ, यो वर्ष त्यस्तो हुँदैन ।’

चितवनमा मलको कुल मागको ७० प्रतिशत कम्पनी र साल्ट टे«डिङले ३० प्रतिशत मलको आपूर्ति गरेका हुन्छन् । कृषि सामग्री कम्पनीका पूर्वप्रमुख रवीन्द्र गौतम यसवर्ष चितवनमा २० हजार मेट्रिक टन मलको माग हुने बताउँछन् । उनी भन्छन्, ‘चितवनमा मलको माग व्यापक छ तर त्योअनुसार आपूर्ति छैन, जसका कारण बर्सेनि मलको अभाव देखिएको छ ।’ उनका अनुसार युरिया, पोटास र डिएपी गरेर १४ हजार मेट्रिक टन मलको अभाव देखिन्छ ।

यो वर्षसम्म १३ हजारभन्दा बढी मेट्रिक टन मल आउँछ भन्ने अपेक्षा कृषि सामग्री कम्पनीले गरेको छ । ‘धान रोप्न किसानलाई खासै मलको अभाव हुन नदिने पक्षमा हामी लागिरहेका छौँ’, कृषि सामग्री कम्पनी प्रमुख बगालेले भने ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया