किशोर खनाल
साउन, झरीको याम । झरीले गाउँको देउरालीमा एकोहोरो पीपलका पात बजाइरहेको छ । बारीका फाँटहरुमा धानका बीउ हरियो गलैँचा बिछ्याएजस्ता भएका छन् । अनि, सात रंग छर्दै दुई धु्रव जोडिरहेको छ इन्द्रेणीले । रमाइलो वातावरणमा झरीका भ्यागुता ट्वारट्वार गर्दै कराइरहेका छन् । जूनकीरी झिमिकझिमिक उज्यालो छर्दै छमछम नाचेकी छन् । रूझेको माटो र मानव मन दुवैमा मिठास छ । प्रकृति कलात्मक सिर्जनामा व्यस्त नै छिन् । सिमसिम पानी र घाम पर्दा हुने स्यालको विवाहले झरीका मनहरुलाई मादकता थपेको छ ।
यतिबेला असारमा रोपिएको बारीको हरियो रोपोमा बैँस पलाउँदै छ । जूनकीरी र भ्यागुताहरु पनि बैँसमा लडीबुडी खेल्छन्, यो झरीमा । फूलहरु झरी, बतास सहेर पनि सुगन्ध छरिरहेको हुन्छ, यो बेला । माया मौलाउने झरीको याममा बैँसका पुतलीहरु त जोडी बनेर डेटिङमा पुगेका हुन्छन् भने मानव मनहरु त झन् भन्नै पर्दैन ।
यो बेलामा त घामपानीजसरी प्रेमीप्रेमिका सँगै हुनुको मज्जा नै बेग्लै हुन्छ । जिन्दगीमा एउटै गोरेटोमा हिँडाउने वाचा गरेका युगलले झरीको एउटै छातामा आत्मीयता देखिरहेका हुन्छन् । सिमसिमे पानीमा हात समातेर हिँडेका युगललाई ऊर्जा थप्छ, झरीले । यही ऊर्जामा लुटपुटिन्छन् र बेइमानी नगर्ने वाचा बाँध्छन् जोडीहरु ।
माया मौलाउने साउने झरीको याममा रूझेका शिव अधिकारी गीतमै लेख्छन् ः
‘झरीले निथ्रुक्क भिजेको बेला
तिमी भए कस्तो हुन्थ्यो ?
शरीर सबै रूझेको बेला’
वा वा ! यो झरीले शिवलाई तिमी चाहिरहेको छ । किनकि, उसको शरीर रूझेको छ । शरीर रूझेको बेला मायालुको खाँचो पर्छ रे ! साउने झरीमा प्रेमीप्रेमिका सँगै हुनुको मज्जा बेग्लै हुन्छ । यही बेला त हो, युगल प्रेमीले साथ खोज्ने । त्यसैले साउने जोडीहरु भन्छन् ः
‘साउनको झरी बनी
तिमी आऊ न
मेरो मनको अँधेरीमा
जून छाऊ न ।’
रूझेर लाएको माया सायदै बिर्सिइन्छ । युगलले झरीको एउटै छातामा ओतिएर आत्मीयता साट्नुको फरकपन र मायालुको मिठासपन अन्त कहाँ पाउँछ र ?
असारमा रोपेको रोपोजस्तो माया मौलाउँछ साउने झरीमा । साउने बर्षाद्ले सालका पातमा तपतप पानी पार्दा मायालुको जोडीले त्यसैलाई मीठो संगीत मान्दै प्रेमका अनुरागहरु बाँडेका हुन्छन् । सिमसिमे पानीमा बेइमान नगर्ने वाचा बाँधे पनि कहिलेकाहीँ ज्यानले बेइमान पनि गरिदिन्छ । रूझाइको प्रेमको बेइमानीलाई युगलले सामान्य मान्छन् र भन्छन् ः
‘आयो रूझाएर गयो बेइमानी
केके ग¥यो केके ग¥यो,
पानी–पानी भयो मेरो मन पनि !’
भनिन्छ, असारमा दूबो र साउनमा माया मौलाउँछ रे । यो समयमा त काँक्रो, करेला, सिस्नो र फर्सीको डुकुले समेत पिरती गाँसेका हुन्छन् रे । यो हरियो महिनामा हरियो माया गाँस्नुपर्छ रे । वनस्पतिले समेत झरीमा रूझेर भए पनि माया गाँसेका हुन्छन् रे । यही सोचेर होला, युवा जमात झरीसँगै माया साटासाट गरिरहेका छन् ।
भरतपुर–१० का कमल श्रेष्ठले ५ वर्षअगाडि साउने झरीमा गुटमुटिएर प्रेमिकासँग माया साटासाट गरेको पललाई सम्झने गरेका छन् । उनी भन्छन् ः ‘अहिले जवानी गए पनि त्यो बेलाको साउने झरीको मायालाई भुल्न सकिन्न । झरीमा रूझेर लाएको मायाको गाँठो सितिमिति फुस्कँदैन ।’ उनको बुझाइमा मायालुलाई नजिक पार्ने गतिलो मौसम हो यो ।
साउन महिना खेतीपाती सकेर आराम गर्ने समय हो । असारे चटारोजस्तो हुँदैन यतिबेला । त्यसैले, साउनलाई पारिवारिक मिलनको मौका पनि मानिन्छ । खेतमा व्यस्त हुने जेठा अब जेठीको साथमा, माइला अब माइलीको साथमा, पिँढीमा बसेर बलेनीमा झरेको पानीसँगै मायालु पल बिताउँछन् । बलेनीको पानी अँजुलिमा लिएर छ्यापाछ्याप गरी उमेरमा लगाएको प्रेमलाई सम्झन्छन्, उनीहरु ।
‘झरीमा लगाएको त्यो प्रेमका पलहरुलाई कहाँ बिर्सन सकिन्छ र, मानसपटलमा आइरहन्छ !’– नारायणगढका पदम भट्टले भने । झरी, पछ्यौरी र जेबी रूमाल’ शीर्षकको केबीएसको कविताले यो कुरालाई झन् पुष्टि गर्छ ।
‘म बिर्सूं कसरी
त्यो पानीमा
आगो बालेको रात
आकाशकी परी धर्तीमा झरी
मसँग जिस्केको त्यो रात
भिजेको पछ्यौरी
जेबी रूमाल र जिन्दगी
एकसाथ निचोरेको रात !’
यतिबेला एसएलसी पास गरेर भर्खर कलेज जान थालेका किशोरकिशोरीमा नयाँपन आउँछ । उनीहरु एउटै छातामा ओतिएर आफ्नो मायालुसाथ झरीको बयान गर्न रूचाउँछन् । भर्खर कलेज लाइफमा जानेहरु यही साउन महिनामा झरीसँगसँगै मायाका मालाहरु बुन्न थाल्छन् । माला बुन्नलाई नपुगेको दुई–तीन थुँगा फूल यही बेलामा फुलाउँछन् कलेजका ठिटाठिटीहरु ।
साउनको विशेषता फेरि कतिबेला दरर्र पानी पर्छ, थाहा नै हुँदैन । कलेज जाँदा बाटोमा पानी पर्दा युवतीको छातामुनि ओतिन जान्छन् युवक । अनि त के चाहियो र ! दुवैको मादकताको पारो त एक्कासि उकालो चढिहाल्छ । झननन गरी करेन्ट लाग्न थालिहाल्छ । त्यहीबेला युवक यसो भन्दै युवतीलाई जिस्काइ पनि हाल्छन् ः ‘छाता ओझेल पारिदेऊ बर्खे झरीमा ।’
साउनमा इन्देणीको रंगसँगै जीवनमा पनि उत्साह र उमङ्गको रंग चढ्छ । क्षितिजमा चढेको सप्तरंगीले जोडीलाई पनि रंगीन बनाउँछ । तर, कुनै बेला साउने झरीमा गाँसेको मायालाई भदौरे भेलले बगाउन पनि सक्छ नि ! साउनमा झरेको बर्षाद्मा रूझेर सालको बोटमुनि बसेर गाँसेको मायालाई भदौको भेलले सजिलै बगाइदियो भने झरीको मायाको अर्थ हुँदैन ।
रचना जिसीले ‘साउने खोला उर्लेर आउँदा, माछा मार्नु दुवाली छेकेर’ भनिरहँदा कतिपय युवाले मायाका बगरहरु यही साउने खोलाले भिजाएका छन् । मायाका दुवालीहरुलाई भदौरे भेलबाट जोगाउन सकियो भने यसपटकको साउने झरी फलदायी बन्नेछ ।
‘पानीको रिमझिम बर्षाद्को बेला
धीत मारेर किन रूझेकी
हिस्सी परेको मुहार तिम्रो
लाजले व्यर्थै किन छोपेकी’
राम थापाले यो गीत त्यसै बनाएका होइनन्, रूझेको मायालु कसैको पर्खाइमा पनि छिन् यो साउने झरीमा ।
ग्लोवल वार्मिङ र जलवायु परिवर्तनले ऋतु परिवर्तनको चक्रलाई बिथोलेजस्तै मायाको चक्रमा पनि धोकाधडी र बेइमानी कतैकतै देखिएको छ । कतैकतै नारायणगढका भित्री सडकमा भरिएको पानी गाडीले छ्याप्दा बिग्रेको कपडाजस्तै भएका छन्, मायाको झरीमा रूझ्नेहरु ।
‘साउने झरीमा लाएको मायालाई भदौरे भेलले लैजान सक्छ’, एक युवकले थपे, ‘त्यसैले झरीको माया झरी परून्जेललाई मात्र हो नि !’
Discussion about this post