चार आश्रम, चार रहस्य

अन‌ि यो पनि

आचार्य लक्ष्मण भण्डारी

हिन्दु सनातन सभ्यता विज्ञानमा आधारित एउटा विशिष्ट ईश्वरीय व्यवस्था हो । यसबाट धेरै सम्प्रदायको उदय भएको छ । सम्प्रदाय मात्र नभई संसारका कतिपय धर्महरुमा समेत सनातन सभ्यताको प्रतिच्छाया प्राप्त गर्न सकिन्छ । जति सम्प्रदाय बने पनि उस्तै र उत्तिकै मह¤वको सभ्यताका रुपमा हिन्दु सनातन सभ्यता विकसित भइरहेको देखिन्छ । अर्थात् विभिन्न सन्त, महन्त, गुरू, र ऋषिमनिषिहरुका विभिन्न सम्प्रदायमार्फत सनातन दर्शन विश्वभर प्रचारित र व्याप्त भइरहेको छ ।

हाम्रो जीवनका मुख्य चार अवस्था छन् । आर्जन वा अध्ययनको अवस्था, भोगको अवस्था, चिन्तनको अवस्था र त्याग एवम् मुक्तिको अवस्था । वैदिक हिन्दु सनातन धर्ममा यी चार अवस्थाहरुलाई ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास गरी चार आश्रमहरुमा समेटिएको छ ।
हाम्रो जीवनकाल यिनै चार अवस्थाहरुमा विभाजित रहेको देखिन्छ । संसारका सम्पूर्ण मानिसहरुको जीवनका यी चार शाश्वत अवस्थाहरु हुन् । वैदिक सनातन दर्शनले कुनै एउटा सम्प्रदाय, वर्ग वा धर्मका मानिसहरुका लागि मात्र ध्यान दिएको छैन, अपितु सबै धर्म, दर्शन, सम्प्रदाय र समाजका मानिस मात्रको हित र कल्याण यसभित्र समेटिको छ ।

मानिसको आयु सामान्यतया एक सय वर्षको मानिएको छ । मानिसको एक सय वर्षको आयुलाई चार भागमा विभाजित गरेर सनातन धर्मले चार आश्रमको व्यवस्था गरेको हो । मनुष्यजीवनका आरम्भका २५ वर्षहरु शारीरिक शक्ति र मानसिक शक्ति विकास गर्ने वर्षहरु हुन् । यिनै वर्षहरुमा हामीले गर्ने अध्ययनले नै हामीलाई योग्य र सफल व्यक्ति बन्न सहयोग पु¥याउँदछ । जीवनको आरम्भका २५ वर्षहरुमा हामीले नियम, अनुशासन, ज्ञान, शक्ति, कला, सीप आदिको विकास गर्ने भएकाले यस अवधिलाई ब्रह्मचर्यको अवधि भनिएको हो ।

आश्रम भनेर समयलाई वा स्थानलाई भन्न खोजिएको हो । ब्रह्मभावमा विचरण गर्ने समयलाई ब्रह्मचर्य आश्रमको नाम दिइएको छ । ब्रह्म भनेको विवेक हो । विवेकले जहिले पनि न्याय, सत्य, धर्म, अनुशासन, मूल्य र आदर्शलाई केन्द्रमा राखेको हुन्छ । प्रकृतिले दिएको शारीरिक र मानसिक ऊर्जालाई व्यय नगरीकन व्यक्तिगत र सामाजिक कल्याणका लागि लगानी गर्नुपर्छ भन्ने विचारमा हिँड्ने काम ब्रह्मचर्य हो र यसरी हिँड्ने मानिस ब्रह्मचारी हो ।

खासगरी ब्रह्मचर्यका समयमा आर्जन गरिएको सम्पत्तिले नै हामीले हाम्रो गृहस्थ जीवन सुन्दर बनाउन सक्दछौँ । जीवनको सुरूका २५ वर्षको अवधि त्यसैले निकै मह¤वपूर्ण मानिएको छ । यतिखेर बालक घरबार छोडी अध्ययनमा लाग्दछ । गुरूको सानिध्यमा रही विद्या आर्जन गर्नु र जीवनका विविध सीपको विकास गर्नु यस समय धर्म हो । प्राचीन समयमा केटाकेटीहरु ५–६ वर्षपछि घर र बाबुआमा छोडेर गुरूआश्रममा जान्थे र गुरूको सेवा गरी अध्ययन गर्दथे । उनीहरुले विभिन्न शास्त्रको अध्ययन गरेर गुरूमार्फत शास्त्रीय ज्ञान त प्राप्त गर्दथे नै, सँगसँगै दैनिक जीवनयापन गर्ने क्रममा आवश्यक व्यावहारिक ज्ञान र सीपको पनि उनीहरुलाई पर्याप्त जानकारी हुन्थ्यो ।
उनीहरुको चिन्तन नै केवल अध्ययन हुन्थ्यो । उनीहरु नारीहरुदेखि अलग रहेर ज्ञानार्जन गर्ने गर्दथे । उनीहरु शारीरिक साजसज्जाभन्दा पनि मानसिक साजसज्जामा ज्यादा समय खर्च गर्ने गर्दथे । गुरूकुलमा बसेर अध्ययन गर्नु, पढ्नु, व्यावहारिक ज्ञान आर्जन गर्नु, अतिरिक्त कला र सिर्जनामा रमाउनुमै उनीहरुको समय व्यतीत हुने गर्दथ्यो ।

कुनै पनि युवती वा स्त्रीसँग नजिकिनु वा सहवास गर्नु ब्रह्मचर्य भङ्ग गर्नु ठहरिन्थ्यो । त्यसैले, गुरूकुलका कुनै पनि छात्र वा छात्राहरु अलग रहने हुनाले उनीहरुको ब्रह्मचर्य भङ्ग हुने सम्भावना नै हुँदैनथ्यो । त्यसबाहेक उनीहरुले अध्ययन, चिन्तनमनन र सिर्जनमा समय दिने भएकाले पनि यसबारे सोच्ने उनीहरुलाई फुर्सद हुँदैनथ्यो ।

यसप्रकार जीवनको सुरआतका यी २५ वर्षहरु सम्पूर्णरुपमा शारीरिक, भौतिक, मानसिक, आध्यात्मिकलगायत विभिन्न सीप र कलाको आर्जन एवम् विकास गर्ने समयका रुपमा ब्रह्मचर्य आश्रमलाई लिइन्छ ।

ब्रह्मचर्यपछि गृहस्थ आश्रमको पालो आउँछ । ‘गृह’को अर्थ घर र ‘स्थ’ अर्थ रहनु हो । अर्थात् गृहस्थको अर्थ घरमा रहनु, घरको जीवन जीउनु भन्ने बुझिन्छ । जब हामी २५ वर्षसम्म गुुुरूको आश्रममा बसेर अध्ययन गर्दछौँ, त्यसपछि हामीभित्र एउटा योग्यता पैदा हुन्छ । हामीले ब्रह्मचर्य आश्रमबा बसेर एकसाथ धेरै कुरा लिएर आएका हुन्छौँ । शारीरिकरुपमा पनि हामी सबल, बलिष्ठ र पुष्ट भएका हुन्छौँ । ब्रह्मचर्यमा अभ्यासका साथ रहेकाले हामीभित्र अपूर्व शौर्य र साहस भरिएको हुन्छ । त्यसैले हामी अब विवाहका लागि लायक हुन्छौँ । विवाहपछिको यौन सम्पर्कका लागि हामीभित्र पर्याप्त ऊर्जा र शक्ति रहेको हुन्छ र हाम्रो शरीर पनि पूर्णरुपमा विकसित भइसकेको हुन्छ । विवाहपछिको जीवन गुजारा गर्नका लागि हामीले गुरूकुलमा आर्जन गरेका शैक्षिक योग्यता र व्यावहारिक योग्यताको सहयोगमा द्रव्यआर्जन गरी हामी हाम्रो गृहस्थजीवन सुखी, सम्पन्न र समुन्नत बनाउन सफल बन्दछौँ । यही जीवनमा हामीले सन्तानलाई जन्म दिएर एउटा असल अभिभावकको कर्तव्य पनि निर्वाह गर्दछौँ । विवाह गर्नु, यौनको सौन्दर्यलाई सिर्जनात्मक स्वरुप दिएर सन्तान उत्पादन गर्नु, जागिर खानु, व्यवसाय गर्नु र घरव्यवहारमा डुब्नु गृहस्थ जीवनका मुख्य धर्म हुन् ।

त्यसपछिको समय वानप्रस्थको समय हो । वानप्रस्थको शाब्दिक अर्थ हुन्छ— वनप्रस्थान । अर्थात्, एकान्त प्रवेश गरी आत्मचिन्तनमा रमाउने समय वानप्रस्थको समय हो । जीवनको २६ वर्षदेखि ५० वर्षसम्मको समय गृहस्थको समय हो । गृहस्थमा रहेर २५ वर्षसम्म सांसारिक एवम् भौतिक सुख भोग गरिसकेपछि हामीभित्र एककिसिमको वैराग्यभाव पैदा हुन सुरू हुन्छ । पति वा पत्नीसँगको यौन सुख, रूपैयाँपैसाको सुख, मोटरगाडी वा जग्गाजमिनबाट पाइने सुखलगायत विभिन्न भौतिक स्रोतसामग्रीको पर्याप्त भोगले हामीभित्र यान्त्रिकताप्रति वितृष्णा जागेर आउँछ । विभिन्न मान्छेका स्वार्थ, आपसी अविश्वास र सांसारिक जीवनको नश्वरताले जीवनको मूल्यप्रति हामीभित्र एक किसिमको आस्था पैदा हुन थाल्दछ । यही आस्थाको विकास गर्न हामी वानप्रस्थको जीवन बिताउन सुरू गर्दछौँ ।

वानप्रस्थको समय भनेको जीवनको तेस्रो अवधि हो । मनुष्यजीवनको ५० वर्षदेखि ७५ वर्षसम्मको अवधि वानप्रस्थको अवधि हो । ५० वर्षभन्दा पहिले नै हामीले हाम्रो सम्पूर्ण सांसारिक उत्तरदायित्व आफ्ना सन्तानलाई हस्तान्तरण गरी त्यसपछिको वानप्रस्थमा प्रवेश गर्दछौँ । गृहस्थ जीवन भोगको जीवन हो भने वानप्रस्थ योग, ध्यान र चिन्तनको जीवन हो । हामी यस अवधिमा आफ्ना लागिभन्दा अर्काका लागि बाँच्न सुरू गर्दछौँ । गृहस्थ जीवनमा निजी स्वार्थका लागि गरिएका कर्मप्रति हामीभित्र एकप्रकारको पश्चात्ताप भावको उदय हुन्छ । त्यो पश्चात्तापभावले हामीलाई परम कल्याण र ईश्वरीय उन्नतितिर प्रेरित गर्न सुरू गर्दछ । हामी जीवनको भौतिक स्वरुप नश्वर छ र आन्तरिक स्वरुप शाश्वत छ भन्ने निष्कर्ष निकाली ईश्वरप्रति परम आस्थावान् हुन सुरू गर्दछौँ । विभिन्न धार्मिक, आध्यात्मिक गोष्ठी र कार्यक्रमहरुमा सहभागी हुने, जीवनका मूल्यहरुप्रति सचेत रहने र रहनका लागि अरुलाई समेत प्रेरित गर्ने प्रयासमा हामी यस अवधिमा जुट्दछौँ ।

वानप्रस्थमा हामी भौतिक जीवन र अध्यात्म जीवनको बीचमा रहेका हुन्छौँ । हामीले हाम्रो घरपरिवार र सांसारिक जीवनबाट अलग रहने अभ्यास त गरेका हुन्छौँ, तर संसार नै चटक्क भुलेका भने हुँदैनौँ । तर, संसारलाई चटक्क छोड्ने तयारी भने गरिरहेका हुन्छौँ ।
हाम्रो जीवनको अन्तिम अर्थात् चौँथो समय भनेको सन्न्यासको समय हो । एक सय वर्षलाई मानिसको जीवनको आयु मान्दा ७५ वर्षदेखि १०० वर्षसम्मको अवधिलाई सन्न्यास आश्रम भनिन्छ । सन्न्यास शब्दको अर्थ सत्यमा आफूलाई स्थापित गर्नु हो । सत्य अर्थात् परमात्मामा पूर्णरुपमा तन र मनलाई स्थापित गरी सांसारिक जीवनबाट विस्थापित हुनु नै सन्न्यासको धर्म हो । यस अवधिमा हामी केवल ईश्वरमा नै आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्दछौँ । ईश्वरको स्मरण गर्दै प्राणको विसर्जन गरौँ भन्ने भावना सन्न्यास जीवनयापन गर्नेहरुमा हुन्छ । यसरी हेर्दा सन्न्यास आश्रम भनेको मृत्युको ईश्वरीय तयारीको समय हो भन्न सकिन्छ ।

हाम्रो कर्तव्य जीवनका यी चार आश्रमलाई पूर्ण अनुशासन र निष्ठाका साथ पालन गर्नु हो । जसको ब्रह्मचर्य जीवन असफल भएको हुन्छ, उसको गृहस्थ जीवन पनि बिग्रिएको हुन्छ । आज मनुष्य सभ्यता यति विकृत हुनुपछाडिको कारण आश्रम धर्मको निष्ठापूर्ण अनुशीलन नगर्नु हो । आज १२–१३ वर्षको उमेरदेखि नै युवाहरु स्खलित हुन सुरू गर्दछन् । उनीहरुमा यौनविकृतिले जरो गाडेको छ । विवाहपूर्व नै युवाहरु हस्तमैथुन र अप्राकृतिक यौन अभ्यासका सिकार भएका हुन्छन् । आजका अधिकांश युवाहरु १२ वा १३ वर्ष उमेरदेखि नै आफ्नो ऊर्जा स्खलित गर्न सुरू गर्दछन् । १२ वर्षको उमेरदेखि आफ्नो वीर्य गुमाउन सुरू गरेका युवा २५ वर्षको उमेरसम्म पुग्दा कस्ता होलान् ? के उनीहरुमा शक्ति, साहस, र शौर्य कायम रहन सक्ला ? त्यसपछि जब उनीहरु विवाहित हुन्छन् र यौन समागमको जीवन आरम्भ हुन्छ, अनि त्यहाँ समस्या पैदा हुन्छ । जसले विवाहपूर्व नै आफ्नो ऊर्जा धेरै नष्ट गरिसकेको छ, उसले आफ्नी पत्नीलाई कसरी सन्तुष्ट तुल्याउन सक्ला ? उसमा नपुंसकता विकसित भएर जान्छ । आजको संसारमा दाम्पत्य जीवन सुखमय नहुनुका पछाडिको कारण ब्रह्मचर्य जीवन विकृत हुनु हो ।

आज हामी समयमै यौन शिक्षाका कुरा त गर्दछौँ, तर त्यसको उचित व्यवस्थापन गर्न नसक्दा हुन सक्ने क्षतिको वास्ता गर्दैनौँ । प्राचीन गुरूकुलमा अध्ययन गर्ने छात्रहरुले अन्य शिक्षा आर्जनका क्रममा यौन कलाको पनि ज्ञान आर्जन गर्दथे । उनीहरुलाई वात्स्यायनको यौन कलाको राम्रो जानकारी हुन्थ्यो, तर उनीहरुले कहिल्यै आफ्नो वीर्यको नाश गर्दैनथे । उनीहरुले पूर्ण नियन्त्रण र निष्ठाका साथ आफ्नो ब्रह्मचर्या जीवन व्यतीत गर्दथे । आपूmले जानेको यौन कलालाई उनीहरुले कहिल्यै दुरूपयोग गरेनन् । जब उनीहरु गृहस्थमा प्रवेश गर्दथे र आफ्नो वैवाहिक जीवन आरम्भ गर्दथे, त्यतिखेर उनीहरुले सिकेको कामकलाको प्रयोगमार्फत दाम्पत्य जीवन सुखमय बनाउन सफल हुन्थे । आजका युवामा न त त्यो विशिष्ट कामविज्ञानको कला थाहा छ, न त ब्रह्मचर्याको विशिष्ट अनुशासनका बारेमा ज्ञान नै । आफ्नो अत्यधिक ऊर्जाशील अनि मह¤वपूर्ण ब्रह्मचर्य जीवनलाई उच्छृङ्खल, उद्दण्ड र भ्रष्ट बनाउनुको दुःखद परिणामस्वरुप नीरस एवम् हीनताग्रस्थ गृहस्थ जीवन बिताउनुबाहेक उनीहरुसँग अर्को कुनै विकल्प छैन ।

आज साइबर संसारको समय छ । रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट र मोबाइललगायत सामग्रीहरु ब्रह्मचर्य जीवनलाई भ्रष्ट र नष्ट बनाउने आजका मुख्य स्रोतहरु हुन् । जीवनका सुन्दर र निकै मह¤वपूर्ण मानिएको ब्रह्मचर्य जीवनका २५ वर्षहरु अनुशासित र व्यवस्थित हुन सके भने समग्र जीवन नै व्यवस्थित हुन सक्छ । आजको मुख्य समस्या नै यही छ । १२–१३ वर्षकै उमेरमा व्यक्ति ब्रह्मचर्य भङ्ग गरी जीवनलाई दुःखद बनाउने कार्यको आरम्भ गर्दछ । हिन्दु सनातन सभ्यतामा पति र पत्नीका बीच पारपाचुके अर्थात् सम्बन्धविच्छेदको घटना नै पाइँदैन भने पनि हुन्छ । त्यो त्यतिबेलाका युवायुवतीको ब्रह्मचर्याको परिणाम थियो । उनीहरुले विवाहपूर्वको समय आजका केटाकेटीको जस्तो अश्लील साहित्यको अध्ययन, त्यस्तै दृश्यको दर्शन र बारम्बारको चिन्तन गरेर बिताउँदैनथे । उनीहरुको मुख्य काम अध्ययन गर्नु, व्यावहारिक ज्ञान पाउनु र सिर्जनामा रमाउनु नै थियो । ब्रह्मचर्यको निष्ठायुक्त परिपालनबाट उनीहरुले अपूर्व शारीरिक सुन्दरता र शक्तिको सङ्ग्रह गर्दथे । त्यसैले, उनीहरु एकअर्कामा पूर्ण सन्तुष्ट र आनन्दित हुन्थे । उनीहरुको गृहस्थ जीवन सफल र सुन्दर हुनको रहस्य नै यही थियो ।

युरोपमा पति र पत्नीको सम्बन्ध २–४ वर्षमै समाप्त हुन्छ । पत्नीलाई अर्को पुरूषसँग भोगको कामना जागेर आउँछ भने पुरूषलाई अर्की स्त्रीसँग भोगको भावना जागेर आउँछ । यो उनीहरुले असमयमै ब्रह्मचर्य भङ्ग गरेर ऊर्जाको अपव्यय गर्नुको परिणाम हो । हामीकहाँ पनि युरोपको संस्कृतिले व्यापकता पाइरहेको छ । हाम्रो वैदिक सभ्यताले सुझाएका हाम्रो जीवनका यी आश्रमहरु र तिनको रहस्यलाई जीवनमा प्रत्यक्ष आत्मसात् गर्न नसक्दासम्म फेरि हामी हाम्रो जीवनलाई हाम्रा पूर्वजले झैँ सुखद, स्वस्थ र आनन्दित पाउन सक्षम हुनेछैनौँ ।

यसप्रकार ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास गरी वैदिक सनातन सभ्यताले व्यवस्था गरेका आश्रमहरु र तिनका धर्मलाई पालन गरेर नै हामीले एउटा सम्पूर्ण अनि सुखद मनुष्य जीवन व्यतीत गर्न सक्दछौँ । आश्रम धर्मको यो जुन विज्ञान छ, यो केवल हाम्रो पूर्वजका लागिमात्र व्यवस्था गरिएको थिएन । न त यो आजका हामीहरुका लागिमात्र हो । यो त भोलिका मान्छेका लागि पनि उत्तिकै मह¤वपूर्ण छ । आश्रम धर्मको यो सभ्यता मनुष्यको सभ्यता हो । त्यसैले, जहिलेसम्म पृथ्वीमा मानिस जीवित रहन्छ, तबसम्म यसको आवश्यता र औचित्य कायम रहन्छ । यो त समयातीत र वैदिक व्यवस्था हो । त्यसैले, हामी पनि आश्रमधर्मको यो मूल्यलाई बोध गरी ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास आश्रमका हर अवधिलाई निष्ठा र अनुशासनका साथ पालन गरी जीवन सफल र सुखद बनाउने प्रयास गरौँ । [[email protected]]

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया