बसन्त पराजुली
कसरा । पछिल्ला वर्ष चितवन राष्ट्रिय निकुञ्जमा गँैडा मर्ने र मारिनेक्रम घटेको छ । एकै वर्षमा ३७ वटासम्म चोरी सिकारीले गैँडा मारेको चितवनमा पछिल्लो दुई वर्षमा १७ गैँडा मरेका छन् । जसमध्ये दुईलाई चोरी सिकारीले मारेका हुन् ।
‘अहिले गैँडा मर्ने र मारिनेक्रम घटेको छ’, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरले भन्नुभयो, ‘स्थानीय जनताको संरक्षणप्रति बढ्दो जागरुकताले पनि गैँडा मारिनेक्रम रोकिएको हो ।’
आर्थिक वर्ष २०७०÷७१ मा नौवटा गैँडा मरेका छन् । मरेकामध्ये आठ कालगतिले र एक चोरी सिकारीले मारेका हुन् । अघिल्लो आर्थिक वर्ष २०६९÷७० मा मरेका आठ गैँडामध्ये सातवटा कालगतिले मरेका हुन् भने एउटा चोरी सिकारीले मारेका हुन् ।
विगत १६ वर्षको अवधिमा सबैभन्दा कम गैँडा विगत दुई वर्षयता मरेका हुन् । ‘चितवनमा एकै वर्षमा ३७ वटासम्म चोरी सिकारीले गँैडा मारेका भेटिन्थे’, प्रमुख संरक्षण अधिकृत कुँवरले थपे, ‘कालगतिले पनि एकै वर्षमा २३ वटासम्म गैँडा मरेका उदाहरण छन् ।’ चोरी सिकारीले बढी गैँडा मारेका बेला कालगतिले पनि बढी नै मर्ने गरेको अनुभव उहाँसँग छ ।
निकुञ्जको तथ्याङ्कअनुसार चोरी सिकारबाट सबैभन्दा बढी आर्थिक वर्ष २०५८÷५९ मा ३७ वटा र आर्थिक वर्ष २०५९÷६० मा ३२ वटा गैँडा मारिएका थिए । कालगतिले मर्नेमा भने सबैभन्दा बढी आर्थिक वर्ष २०५५÷५६ मा २३ वटा रहेका छन् ।
२०७० सालमा चोरी सिकारीले एउटा पनि गैँडा नमारेका कारण यसलाई जिरो पोचिङ वर्ष त मनाइयो । तर आर्थिक वर्षलाई नै भने निकुञ्जले जिरो पोचिङ मनाउन सकेन । चोरी सिकार र कालगतिले समेत गैँडा मर्नेक्रम कमी आएसँगै चितवन निकुञ्जमा गैँडाको संख्यासमेत बढेको अनुमान संरक्षणकर्मीहरुको छ ।
हाल निकुञ्ज र यसआसपमासका क्षेत्रमा ६ सयभन्दा बढी गैँडा फेला पर्ने अनुमान संरक्षणकर्मीहरुको छ । सन् २०११ मा गरिएको गैँडा गणनाअनुसार निकुञ्जमा ५०८ गैँडा थिए । त्यतिबेला गैँडाको वृद्धि दर १ दशमलव ६ प्रतिशत थियो ।
‘गैँडा बचाउन सक्नु ठूलो उपलब्धि हो’, प्रमुख संरक्षण अधिकृत कुँवरले भन्नुभयो, ‘यसरी नै बचाउने हो भने गैँडाको संख्या बढाउन गाह्रो छैन ।’ निकुञ्जको कडा सुरक्षा व्यवस्था र चोरी सिकार नियन्त्रणमा सर्वसाधारण नागरिकको सहयोग नै उपलब्धिका कारण मानिएका छन् ।
गँैडाको औषत आयु ४० देखि ७० वर्ष मानिन्छ । आफँै एकआपसमा जुध्नु, बूढो हुनु र बाघले साना बच्चालाई खानु नै प्राकृतिक रुपमा गैँडा मर्नुका कारण हुन् । चोरी सिकारीले भने पासो थापेर तथा गोली हानेर गैँडा मार्ने गरेका छन् । तर पछिल्लो समय मर्ने र मारिनेक्रम रोकिएकाले पनि गैँडाको संरक्षणमा लागेकाहरुमा खुसी थपिएको छ ।
सामुदायिक वनको वृद्धिसँगै बासस्थानमा आएको सुधार, घाँसे मैदानको विकास एवम् कडा सुरक्षा व्यवस्था पनि गैँडा संरक्षण हुनुको प्रमुख कारण हो । मध्यवर्ती क्षेत्र विकास समिति चितवनका संस्थापक अध्यक्ष केशव देवकोटा गैँडाको संरक्षण बढ्नु राष्ट्रको गौरव भएको बताउनुहुन्छ ।
उहाँ थप्नहुन्छ, ‘गैँडाको चोरी सिकारी रोक्ने र प्राकृतिक कारणले मर्नेक्रममा पनि घटाउन सक्ने हो भने सन् २०१५ को गणनामा चितवन निकुञ्जमा गैँडाको संख्या बढेको पाइने छ । यो संरक्षणका क्षेत्रमा लागेकाहरुका लागि खुसीको समाचार हुनेछ ।’
Discussion about this post