वे ग्रुप नेपाललाई शुभकामना !

अन‌ि यो पनि

–सन्तोष पन्त

वे ग्रुप नेपाल नामकरण गरी समाजका सबै तह र तप्काका निस्वार्थ मन र सेवाभावले सक्रिय व्यक्तिहरुलाई समेटी वातावरण संरक्षणको अभियानमा लाग्ने उद्देश्यले २०७३ जेठ २४ गते स्थापित वे ग्रुप नेपाल निरन्तर सेवारत रही आज पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा वे ग्रुप नेपालको शुभचिन्तक तथा समय–समयमा अभियानमा सहभागी हुने सदस्यका नाताले म यो समूहको सेवाभावप्रति नतमस्तक हुँदै प्राप्त गरेका सफलताका लागि हार्दिक बधाई र आगामी दिनमा अझै सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
नौ जना मनैदेखि सेवाभावले ओतप्रोत भएका युवाहरुको समूहवाट सुरू भएको यो वे ग्रुपमा अहिले करिब पाँच सय जना सक्रिय सहभागीहरु रहेका छन् । लामो समयसम्म बिनानेतृत्व स्वतःस्फूर्तरुपमा सञ्चालित यो समूह चितवनको एक गैरराजनीतिक र विशुद्ध समाजसेवी तथा वातावरण संरक्षक समूह हो । स्थापनाको करिब ३ वर्षपछिमात्रै समाजसेवी तथा अभियन्ता भोजनारायण कँडेलको संयोजकत्वमा कार्यकारिणी समिति तथा सल्लाहकारहरु चयन गरेको यो समूहका अभियन्ताहरुको सक्रियता र निस्वार्थ भावलाई कदर गर्दै अन्य संघसंस्थाहरुले पनि चितवनभित्र तथा चितवनबाहिर पनि यस्तै वातावरण संरक्षणलगायतका अभियान सञ्चालन गरेका छन् । चितवनका सचेत र कर्मठ युवाहरुले काठमाडौँमा सुरू भई सफल हुँदै गएको बागमती सफाइ अभियानलगायत अन्य मुलुकहरुको असल अभ्यासबाट प्रभावित भई संगठित गरेको वे ग्रुप नेपालको अभियानले साँच्चै सबैको मन जित्न सफल भएको छ । वे ग्रुप नेपाललाई यिनै शब्दहरुद्वारा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
म २०७३ पौष ६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको प्रमुखको जिम्मेवारीमा सरूवा भएपछि २०७५ जेठ महिनासम्म आफूले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरुमध्येको ‘एक महिनामा एकदिन ट्राफिक व्यवस्थापनलाई’ भन्ने अभियानमा वे ग्रुप नेपालले निभाएको भूमिका मेरो मानसपटलमा अझै ताजा छ र सधैँ ताजा रहिरहनेछ । ट्राफिक व्यवस्थापन, सडक दुर्घटना र क्षति न्यूनीकरण तथा सवारी ऐन, नियमको कार्यान्वयनमा आफूसँग रहेका ३८ जनाको प्रहरी जनशक्तिले कुनै पनि हालतमा सम्भव नभएको र जनसहयोगबिना ट्राफिक प्रहरीको कर्तव्य निर्वाहसमेत नहुने भएकोले आफूले चितवनमा विशेषगरी भरतपुर क्षेत्रमा रहेका संघसंस्थाहरुसँग सहकार्य गर्न आह्वान गर्नासाथ प्रत्येक महिनाको ५ गते वे ग्रुपले ट्राफिक प्रहरीसँग सहकार्य गर्ने सहमति भएबमोजिम वे ग्रुप नेपालका सदस्यहरुको सहयोगमा जेब्रा क्रसिङको प्रयोग, दाहिने मोड्ने तरिका, साइड लाइटको प्रयोग, हेल्मेट र सिट बेल्टको प्रयोग, सवारीको नियन्त्रित र सुरक्षित गति, सडक पार गर्ने तरिका, लेन अनुशासन, सवारीको सरसफाइ र डस्टविनको प्रयोग, फुटपाथ अतिक्रमण नियन्त्रण आदि धेरै विषयमा सचेतनामूलक क्रियाकलापहरु सञ्चालन भएका थिए ।
यसका अतिरिक्त प्रत्येक हप्ताको प्रायः सोमबार वातावरण संरक्षण र सरसफाइमा लागेको यो समूहसँग मैले पनि भ्याएसम्म आफैँ उपस्थित भई समूहका सक्रिय सदस्यसँगै योगदान गरेको स्मरण छ मलाई । सामाजिक सचेतनाका लागि वे ग्रुपले तयार गरेको म्युजिक भिडियोमा भरतपुर महानगरपालिकाका मेयर, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख, उद्योग वाणिज्य संघका अध्यक्ष, भरतपुर महानगरपालिका वडा नम्बर–४ का वडा अध्यक्षसहितको अभियन्ताहरुको ठूलो समूहमा आफू पनि सहभागी भई सन्देश दिन पाएको तथा ट्राफिक प्रहरी र वे ग्रुप नेपालबीचमा स्थापना भएको त्यो सम्बन्ध अझै पनि कायम रहेको देख्दा आफूलाई गर्व लागेर आउने गरेको समेत यसै शुभकामनामार्फत स्पष्ट पार्न उपयुक्त सम्झेको छु ।
सरसफाइ र वातावरण संरक्षणका लागि भरतपुरका विभिन्न चोकहरुमा जम्मा भई प्रत्येक हप्ता कम्तीमा एक घन्टा सरसफाइ गरी सामाजिक जागरण पैदा गरेको वे ग्रुप नेपालले गुट्कामुक्त चितवन अभियानसमेत सञ्चालन गरी केही सफलता हासिल गरेको पनि थियो । तर विडम्बना, सरोकारवाला निकायको बेवास्ताका कारण कार्यक्रमले आशातीत सफलता पाउन सकेन । सरसफाइको पर्यायवाची बनेको वे ग्रुप नेपालले स्वच्छ नारायणी अभियान, हरियाली चितवन अभियानअन्तर्गत वृक्षरोपण र बिरूवा वितरण, विभिन्न औषधिजन्य बिरूवा रोपण तथा वितरण, सार्वजनिक तथा सांस्कृतिक स्थानहरुमा रंगरोगन, असहायको सहारास्वरुप खाद्यान्न, लत्ताकपडा तथा स्वास्थ्य सामग्री वितरण, सडकपेटी तथा सार्वजनिक सवारीहरुमा डस्टविन वितरण, उपचारको अभावमा मृत्युसँग जुधिरहेकालाई उपचार खर्च, सामाजिक सचेतनाका लागि विभिन्न प्रतियोगितात्मक क्रियाकलापहरु, व्यक्तित्व विकासका लागि विभिन्न तालिम तथा गोष्ठीहरु आदि उदाहरणीय समाजसेवाका क्रियाकलापहरु सञ्चालन गरी सबैको मन र मुटुमा बस्न सफल भएको छ ।
आज ठूलो सक्रिय समूहले स्वेच्छिकरुपमा सेवा गर्नुपर्ने सामाजिक सेवाका क्रियाकलापहरु गर्नुपर्ने भएमा वे ग्रुपको नाम लिने गरिएको पाइन्छ । चाहे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ आयोजित धनधान्याचल महायज्ञ सफल बनाउन होस्, चाहे त्यही रङ्गशाला निर्माणमा श्रमदान गर्न होस् । चाहे देवघाट तथा नारायणी नदीकिनारमा लाग्ने माघे सङ्क्रान्ति, छठजस्ता मेला–पर्व होस्, चाहे कुनै मठमन्दिर, पाटीपौवा, चोकचौराहा, अस्पताल आदिको सरसफाइ किन नहोस्, सबै स्थानमा जनजिब्रोमा झुन्डिएको छ वे ग्रुुप नेपाल । सबै सञ्चालक व्यवस्थापकले वे ग्रुप नेपाललाई सम्झने गरेका छन् । हरियो टोपी र हरियो ट्रयाकमा हातमा विभिन्न घरेलु औजार लिएका स्वयंसेवीहरुको समूह कसैले आमन्त्रण गर्दा खुसीले समाजसेवामा लागेका छन् भने कसैले आमन्त्रण नगर्दा पनि स्वेच्छाले साप्ताहिकरुपमा आफ्ना गतिविधिहरु निरन्तर सञ्चालन गरिरहेका छन् । भौतिकरुपमा उपस्थित हुन नसकेको विगतको करिब चार महिना लामो बन्दाबन्दी र निषेधाज्ञा तथा यसपटकको एक महिनाभन्दा लामो निषेधाज्ञाका समयमा पनि जनस्वास्थ्य मापदण्ड तथा निषेधाज्ञाको आदेशको पालन गरेर भौतिकरुपमा उपस्थित भएर वा विभिन्न सञ्चारका माध्यमहरुको प्रयोग गरी कुनै न कुनैरुपमा निरन्तर सञ्चालित भएका छन्, वे ग्रुप नेपालका कार्यक्रमहरु । काम गर्नेभन्दा देखाउने, फोटो खिच्न तथा सामाजिक सञ्जालमा पोस्ट गर्नका निमित्त समाजसेवा गर्नेहरुका लागि नराम्रो प्रहार साबित भएको छ, वे ग्रुप नेपाल । त्यसैले त छातीमा हात राखेर मुक्तकण्ठले भन्न मन लाग्छ ‘जय वे ।’
होहोल्ला र देखावटीभन्दा कर्ममा विश्वास गर्ने, तोकिएको समयमा तोकिएको स्थानमा उपस्थित हुने, आसन ग्रहण तथा भाषण छोडेर राष्ट्रिय झन्डालाई साक्षी राखेर राष्ट्रिय गानपश्चात् तुरून्त निर्दिष्ट कर्ममा तोकिएको समयसम्म दिलोज्यानले लाग्नेहरुको जमात बनेको यो वे ग्रुप नेपाल छैटौँ वर्षमा प्रवेश गरेको यस अवसरमा हृदयदेखि हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा अझै सफलताको शिखर चुम्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछु । वे ग्रुप नेपालले आयोजना गरेका सामाजिक क्रियाकलापहरुमा आफ्नो तन, मन र धनले सहयोग गरी सुन्दर, स्वच्छ र स्वस्थ समाज निर्माणमा समाहित हुन सबैलाई आह्वानसमेत गर्दछु । जय वे । शुभकामना ! शुभकामना !! शुभकामना !!!

[email protected]

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया