बाँदरमुढेपीडितलाई न्याय खोइ ?

अन‌ि यो पनि

बाँदरमुढे घटना भएको पनि अहिले १६ वर्ष पुगेको छ । विसं २०६२ जेठ २३ गतेका दिन तत्कालीन सशस्त्र माओवादीले ३५ सर्वसाधारणसहित ३८ जनाको ज्यान जाने गरी बसलाई एम्बुसमा पारेका थिए । समयक्रममा अहिले त्यही घटनाबाट ४२ जनाको ज्यान गैसकेको छ । उक्त घटनामा परेर ७२ जना गम्भीररुपमा घाइते पनि भए । सैनिकहरु चढेको आशङ्काका भरमा तत्कालीन सशस्त्र जनयुद्ध लडिरहेको माओवादीले त्यतिबेला गरेको यस्तो आपराधिक घटनाका कारण सम्पूर्ण माडीमात्रै स्तब्ध नभई पूरै चितवन नै शोकाकुल थियो । अहिले पनि त्यो घटनाले दिएको पीडाले विशेषगरी माडी क्षेत्र शोकमग्न अवस्थामा नै देखिन्छ, तर मलमपट्टी भने कतैबाट पनि लगाइएको अवस्था छैन । कतिपय घाइतेहरुले अझै पनि उपचार गराइरहेका कारण बाँदरमुढे घटना कतिसम्म बीभत्स थियो भनेर अनुमान लगाउन गाह्रो छैन ।

बाँदरमुढे घटना घटेको १६ वर्ष बितिसक्दा पनि न पीडितहरुले कुनै आवश्यक क्षतिपूर्ति नै पाएका छन्, न दोषीहरु उपर कारबाही नै भएको छ । माडी घटनाबाट पीडित भएकाहरुसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पटकपटक नभेटेका होइनन् । चाहे गत संसदीय चुनावमै भेट गर्दा होस् वा कही वर्ष पहिला चितवनको फूलबारीमा पुगेर माफी नै माग्दा किन नहोस्, उनले पीडितहरुको व्यवस्थापन गर्ने, घटना घटाउनेहरुलाई सजाय दिने र भदपर्दो क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त नगरेका होइनन्, तर सर्वसुलभरुपमा बाँडिएको त्यस्तो आश्वासनले समेत अहिले काम गर्न छोडेको छ । आधारहीन प्रमाणित हुँदै गएको त्यो आश्वासनको पोको बाँदरमुढेपीडितका लागि थप बोझ बनिरहेको छ । माओवादीका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रसमेत रहेको माडी, बाँदरमुढेका पीडितहरुले आजसम्म न्यायको पर्खाइमा रहन बाध्य हुनुपर्ने स्थितिले देशको न्यायप्रणालीलाई गिज्याइरहेको छ ।

माओवादीकै नेतृत्वमा पटकपटक सरकार गठन नभएको होइन, अध्यक्ष प्रचण्ड त दुई–दुईचोटि प्रधानमन्त्री नै भए । तर, बाँदरमुढेपीडितप्रति न सरकार नै उत्तरदायी हुन सक्यो, न माओवादी पार्टीले नै जिम्मेवारपूर्ण ढङ्गले आफूलाई प्रस्तुत ग¥यो । उक्त घटनाकै प्रतिफलस्वरुप छ जना मानसिक रोगी भएका र अहिले पनि अङ्गभङ्ग भएका सात जनाले औषधि सेवन गरिरहनुपर्ने अवस्था विद्यमान छ । हाल माओवादी पार्टीमा जिम्मेवार पदमा पुगेका घटनाका दोषीहरु खुल्लमखुल्ला हिँडिरहेको देखिए पनि माओवादीले आफ्ना कार्यकर्ताहरु उपर कारबाहीलाई अघि बढाउन नसक्दा न्याय मरेको आभाष हुनथालेको छ । बाँदरमुढे घटनाका कारण माओवादीले नेपाली जनताका नाममा गरेको १० वर्षे जनयुद्ध किन र कसका लागि थियो ? भन्ने गम्भीर प्रश्नसमेत उठ्नु यतिखेर अस्वाभाविक छैन । अब पनि बाँदरमुढे घटना घटाउने दोषीहरु उपर कारबाही नहुने हो र त्यहाँका निर्दोष स्थानीय पीडित जनताहरुले ठोसरुपमा कुनै राहत वा क्षतिपूर्ति नपाउने हो भने केको आधारमा माओवादी पार्टीलाई प्रगतिशील वा क्रान्तिकारी भन्ने ? यस सवाललाई लिएर माओवादीले जनतासामु उत्तर दिन अब ढिला भैसकेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...