ठेकेदारलाई कोरोनाको बहाना : नमुना सडक निर्माणमा ढिलासुस्ती

अन‌ि यो पनि

भरतपुर । पूर्वाधार तथा सडक निर्माणका दुईभन्दा बढी आयोजनाको ठेक्का लिएर काममा ढिलासुस्ती गर्ने ठेकेदारहरुलाई कोरोना महामारी उपयुक्त बहाना मिलेको छ । भरतपुर महानगरको पहिलो साइकल लेनसहितको नमुना सडक निर्माणको ठेक्का पाएको ठेकेदारले पनि यो महामारीलाई बहाना बनाएको छ ।

भरतपुर महानगरपालिका–७, प्रेमबस्तीमा फुटपाथ, नाला र साइकल लेनसहितको नमुना सडक निर्माण गर्न सुनकोशी मङ्गलदीप जेभी काठमाडौँले जिम्मा पाएको थियो । निर्माण कम्पनीले २०७७ जेठदेखि काम थालेको हो । २०७८ वैशाख मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।

सम्झौताअनुसारको काम सम्पन्न गर्नुपर्ने म्याद सकिसक्दा यसको भौतिक प्रगति भने ६० प्रतिशतको हाराहारीमा छ । यस सडकमा नालाको कामसमेत पूर्णरुपमा सकिएको छैन । सडक पिच गर्ने र फुटपाथ बनाउने काम अझै बाँकी रहेको भरतपुर महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले बताए ।

कोरोनाको निहुँ बनाएर ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेको उनले बताए । यद्यपि ठेकेदारले असार मसान्तसम्मको म्याद थप पाइसकेको छ । ‘ठेकेदारले पनि कोरोनालाई नै निहुँ बनाउने’, उनले भने, ‘अहिलेचाहिँ काम भइरहेको छ, असार मसान्तभित्र सक्छु भनेको छ ।’

१.३०० किमी लामो हेल्थपोस्ट–प्रेमबस्ती चोक सडकमध्ये पहिलोपटकमा एक किमी नाला, ७०० मिटर फुटपाथ र ५०० मिटरमा पिच गर्न ठेकेदार कम्पनीले जिम्मा पाएको हो । तीन करोड ६२ लाख रूपैयाँमा काम सम्पन्न गर्ने गरी महानगर र ठेकेदार कम्पनीबीच सम्झौता भएको हो ।

साइकल लेनसहितको सडकको चौडाइ मुख्य पिच ७ मिटर, साइकल लेन (२.२५/२.२५) मिटर, फुटपाथ (१.२५/१.२५) मिटर, नाला एक/एक मिटर गरी जम्मा १६ मिटर हुनेछ । हेल्थपोस्ट–प्रेमबस्ती चोक सडकको बाँकी खण्डमा काम गर्न महानगरले थप बजेटको व्यवस्था गर्नुपर्ने छ ।

नमुना सडक निर्माण गर्न संघीय सरकारले पठाएको बजेट फ्रिज भएपछि महानगर आफैँले यसका लागि बजेट छुट्टयाएको हो । बाँकी काम गर्नका लागि महानगरले आगामी आवमा बजेट छुट्टयाउनुपर्ने छ । महानगरले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट र नीति तथा कार्यक्रम असार १० गते ल्याउँदै छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया