निषेधाज्ञाको प्रभाव : देवघाटमा वृद्धवृद्धालाई खाना खुवाउनै समस्या

अन‌ि यो पनि

देवघाट । सरकारी स्वामित्वमा रहेको देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित वृद्धाश्रममा खाद्यान्न अभाव भएको छ । देशको वर्तमान परिस्थितिका कारण दाताहरुको उपस्थिति कमजोर हुँदा यहाँका वृद्धवृद्धालाई खाना खुवाउनै समस्या परेको क्षेत्र विकास समितिले जनाएको छ ।

आश्रममा सरकारी क्षेत्रबाट बजेट नआउने र दाताकै भरमा चल्नुपरेको हुँदा कोरोना भाइरस संक्रमण जोखिमका कारण भएको निषेधाज्ञाको प्रत्यक्ष असर परेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए ।

‘आश्रम चलाउन साह्रै गाह्रो भइरहेको छ । दाताहरुकै भरमा चलिरहेका संस्थामा निषेधाज्ञा भएपछि त्यसको प्रत्यक्ष असर यहाँ पनि परेको छ,’ उनले भने, ‘आजसम्म जेनतेन चलाए पनि अब गाह्रो छ ।’ निषेधाज्ञा बढ्दै जाँदा आश्रमको समस्या पनि थपिँदै गएको उनले बताए । हाल आश्रममा ४० जना वृद्धवृद्धा आश्रित छन् । उनका अनुसार आश्रममा नबस्ने तर, बाहिरबाट थाल थापेर खाने तीन जना वृद्धवृद्धा पनि छन् ।

आश्रमको दैनिक खर्च ११ हजार रुपैयाँ छ । यस्तै मासिक तीनदेखि साढे तीन लाखसम्म खर्च हुने कार्यकारी निर्देशक घिमिरेले बताए । ‘सबै हिसाब जोड्दा वर्षमा ४० देखि ४३ लाख रुपैयाँसम्म खर्च हुन्छ,’ उनले भने, ‘यति ठूलो खर्च हरेक वर्ष दाताकै भरमा चलिरहेको छ ।’

चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट खानाको लागि आएको आठ लाख रुपैयाँबाहेक सरकारी बजेट नआएकोले पनि समस्यामा परेको उनले बताए । ‘केन्द्र सरकारले भौतिक निर्माणका लागि भनेर दिएको १० लाख रुपैयाँले भान्छाघर निर्माण गरेका छौँ,’ उनले भने, ‘त्यसबाहेक केन्द्र सरकारबाट रकम नआएकोले प्रदेश सरकारबाट आएको आठ लाख रुपैयाँले पुग्ने कुरै आएन । त्यसले दाताहरुले दिएको सहयोगमाथि थपथाप मात्रै हो ।’

केन्द्र सरकारबाटै सहयोग नआएपछि स्थानीय सरकारको आश गर्ने ठाउँ नै नरहेको उनले बताए । तर, देवघाट गाउँपालिकाभित्र पर्ने हुँदा गाउँपालिकाले आश्रमको लागि बढी चासो दिनुपर्ने उनको भनाइ छ । यहाँ आश्रित वृद्धवृद्धालाई दैनिक खानपानबाहेकको समस्या नरहेको उनले बताए ।

‘वृद्ध बाआमासँग भइरहेका दीर्घरोगलगायतका समस्याबाहेक वर्तमान परिस्थितिमा आएको भाइरस कसैमा पनि देखिएको छैन,’ उनले भने, ‘हालसम्म सुरक्षित राख्न सकेका छौँ ।’ यहाँ आश्रित वृद्धवृद्धालाई दुवै डोजको कोरोना भाइरसविरुद्धको खोपसमेत लगाइसकिएकोले पनि केही मात्रामा ढुक्क भएको उनले बताए ।

 

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया