होमनाथ सापकोटा
रत्ननगर । रत्ननगर–१३ जयमंगलाकी दुर्गा पाण्डे किराना व्यवसायी हुन् । उनलाई आजकल पसलमै भ्याइनभ्याइ छ । ग्राहकको चापले अरुसँग गफ गर्ने फुर्सद उनले पाउँदिनन् । पसलमा ग्राहकको चाप बढेसंगै उनले आम्दानी पनि राम्रै गर्दै आएकी छिन् ।
दुई वर्षअघिसम्म बिहान बेलुका हातमुख जोर्न मुस्किल हुने दुर्गाको परिवारको जीवनशैली किराना पसलले नै फेरिदिएको छ । सरकारीबाट सामान्य व्याजदरमा रु. १० हजार ऋण लिएर गरेको किराना पसलले दुर्गालाई मालामाल बनाएको छ । ‘अहिले घर चलाउन मुस्किलै छैन’, उनले भनिन्, ‘छोराछारी पढाएर पनि दुई÷चार रुपैयाँ बचत गर्न सकेकी छु ।
रत्ननगर–१३ मा रहेको सुकुमबासी बस्तीमा बस्दै आएकी उनले किराना पसलबाटै मासिक रु.३० हजारसम्म आम्दानी गर्ने गरेको सुनाइन् । उनले किरानाको अलवा अतिरिक्त आम्दानीको लागि चिया र चटपट बनाएरसमेत बिक्री गर्दै आएकी छन् ।
आकृति महिला बचत तथा ऋण सहकारी संस्थाबाट १० हजार रुपैयाँ ऋण लिएर बस्तीका अधिकांश महिलाहरुले आयआर्जनको काम गरेका छन् । सहकारीबाट ऋण लिएर गरिएको आयआर्जनको कामले विपन्न समुदाय समृद्धितर्फ उन्मुख भइरहेका छन् ।
समूहमा आबद्ध भएर महिलाहरुले सहकारीबाटै रु.१० हजार ऋण लिएर किराना पसल, बंगुर, बाख्रा, गाईपालन तथा हस्तकलाका सामग्री बनाएर बिक्री गर्दै आएका छन् । त्यही सहकारीबाट लिएको १० हजारले कसैलाई जीवनयापन सहज बनाएको छ भने कसैलाई मालामाल पनि बनाएको छ ।
दुई वर्षअघिसम्म सीप भएर पनि आर्थिक अभावका कारण केही गर्न नसकेकी मिठु नेपालीले सहकारीबाटै १० हजार ऋण लिएर घरमै हस्तकलाका सामग्री बनाएर बिक्री गरी आम्दानी गर्न थालेकी छन् । छोरा प्रजल नेपालीले काठमाडौंमा हस्तकलाका सामग्री बनाउन सिकेर आएपछि मिठुले पनि सीप सिकेकी थिइन ।
‘छोरो तालिम दिन बाहिरी जिल्ला जान्छ, म घरमै बसेर सामग्री बनाउँछु’, मिठुले भनिन् बाबुले पनि कमाउँछ, मैले पनि घरमै बसेर कमाउँछु, जीवन राम्ररी चलेको छ ।’ उनले हस्तकलाका सामग्री बनाएर मासिक २० देखि २५ हजार आम्दानी गर्ने गरेको जानकारी दिइन् ।
त्यस्तै रत्ननगर–७ टिकौलीमा रहेको सुकुमबासी बस्तीमा बस्दै आएकी सावित्री राईको पनि किराना पसलबाटै जीवनशैलीमा परिर्वतन आएको छ । उनले आकृति सहकारीबाटै १० हजार ऋण लिएर दुई वर्षअघि पसल सञ्चालन गरेकी हुन् । ‘पहिला बिहान बेलुकाको गर्जो टार्न मुस्किल थियो’, उनले भनिन्, ‘अहिले पसलको कमाइले घरचलाउन समस्या छैन ।’
लुमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले महिलाहरुको अधिकतम प्रयासले सहकारीबाट लिएको सानो रकमले उनीहरुलाई समृद्धितिर उन्मुख गराएको बताए । उनले लुमन्तीले रत्ननगरका १४ वटा बस्तीमा विभिन्न कार्यक्रम गरेको र ती बस्तीमा बस्ने अधिकांश महिलाहरुले सुरू गरेको आयआर्जनले जीवनयापनमा सहजता ल्याएको बताए ।
लुमन्तीले सुरू गरेको आयआर्जन कार्याक्रममार्फत जीवनयापन सहज बनाउने अभियानमा रत्ननगरका एक हजार बढी महिलाहरु सहभागी रहेको लामाको भनाइ थियो । लुमन्तीले रत्ननगरको लौरीघोलमा रहेको सुकुमबासीबस्तीमा ऋण सहयोग दिएर आवास निर्माण समेत गरिदिएको छ ।
Discussion about this post