आफूले आफूलाई चिन्ने समय !

अन‌ि यो पनि

हरेक मानिसभित्र राम्रोपना पनि छ र नराम्रोपना पनि । तपाईंभित्र अँध्यारो पनि छ अनि उज्यालो पनि । यदि तपाईंले चाहनुभयो भने त्यो उज्यालोलाई, त्यो दियोलाई बालेर आफ्नो जीवनमा एउटा नयाँ प्रकाश ल्याउन सक्नुहुन्छ । हामी जीवनमा सुख, शान्ति र आनन्द चाहन्छौँ तर काम, क्रोध र मोह–मायामा अल्झिएर हामी त्यो आनन्दलाई भुल्न पुग्छौँ । त्यसो त काम, क्रोध र मोह–मायालाई सबैजसोले त्याग्न चाहेका हुन्छन् । तथापि, यी कुरालाई त्याग्ने काम सजिलो हुँदैन भन्ने पनि सबैलाई थाहा छ । तर, यदि तपाईंको जीवनमा शान्ति छ भने तिनीहरु आफैँ हटेर जान्छन् । जसरी प्रकाशको आगमनसँगै अँध्यारो आफैँ हट्छ, त्यसैगरी जीवनमा शान्तिको आगमनसँगै काम, क्रोध, मोह र लोभ पनि आफैँ जान्छन् । तर, शान्तिको अनुभव नभएपछि ती फर्केर फेरि आइहाल्छन् ।

यदि तपाईं आफ्ना लागि जिउन सिक्न चाहनुहुन्छ भने पहिला आफूले आफैँलाई चिन्नुपर्नेछ । अनि, हृदयमा जुन शान्ति प्राप्त गर्ने जिज्ञासा छ, त्यसलाई महसुस गर्नुपर्नेछ । आफ्ना लागि पनि जिउन सिक्नुहोस् भन्नुको अर्थ– “तपाईं असल कर्म नगर्नुहोस्, तिर्खालुलाई पानी नखुवाउनुहोस्” भन्ने पनि होइन । बरु तपाईं आफूले पनि पानी पिउनुहोस् । जसरी तपाईं मानिसहरुलाई हेरचाह गरेर तिनको मुहारमा खुसी देख्न चाहनुहुन्छ, त्यसैगरी आफूलाई पनि ध्यान दिनुहोस् अनि आफ्नो हृदयलाई पनि खुसी राख्नुहोस् । फलतः यो कर्मलाई अभैm राम्रोसँग सम्पन्न गर्न सकियोस् । सृष्टिकर्ताले प्रत्येक श्वासमा जुन अथाह आनन्दको सम्भावना प्रदान गरेका छन्, त्यसको पूर्ण रूपले आनन्द लिन सकियोस् । यो क्षमता तपाईंसँगै छ अनि यो तपाईंको वास्तविक क्षमता हो ।

तपाईंसँग एउटा अर्को क्षमता पनि छ– त्यो हो ‘आफू’ लाई चिन्न सक्ने । किनभने, स्वयम्लाई नचिनेसम्म तपाईं अपरिचित नै रहनुहुनेछ । तपाईं आफूलाई चिन्न र बुझ्न सक्नुहुन्छ किनकि यो एकदमै आधारभूत कुरा हो । यो त आफैँसँग बिताउने समय हो अनि “म के हुँ” भन्ने कुरालाई बुझ्ने समय पनि हो । त्यसपछि तपाईंको जीवनमा भएका सबै लक्ष्यलाई पूरा गर्नुहोस् । यसका साथै “मेरो जीवन सफल हुनुपर्छ” भन्ने लक्ष्य लिएर त्यसलाई पनि पूरा गर्नुहोस् । यो सफलताका बारेमा तपाईंलाई अरू कसैले बताउनेछैन । किनभने, यस कुरालाई तपाईं आफैँले महसुस गर्नुहुनेछ । तपाईंलाई आफ्नो हृदयमा शान्तिको अनुभव भएको दिन तपाईंले “आफ्ना लागि बाँच्नु भनेको के हो” भन्ने कुरालाई बुझ्नुहुनेछ ।

एउटा कथा छ । एकदिनको कुरा हो । एउटा सिंह आफ्नो गुफाबाट बाहिर निस्कियो । “म सिंह हुँ । मभन्दा बलियो त यो संसारमा कोही पनि छैन” भन्ने सोचमा हर्षित हुँदै ऊ गइरहेको थियो । जङ्गलमा जाँदैगर्दा उसले हरिणको बच्चालाई देख्यो । उतिर गएर सोध्यो– “भन, यो जङ्गलको राजा को हो ? यो जङ्गलमा सबैभन्दा बलवान् को छ ?”

त्यो सानो हरिणले भयभित हुँदै भन्यो– “तपाईं नै सबैभन्दा बलवान् हुनुहुन्छ । तपाईं नै यो जङ्गलको राजा हुनुहुन्छ ।” सिंह निकै खुसी भयो । उसले त्यो हरिणलाई छोडिदियो । बाटामा उसले एउटा ब्वाँसोलाई भेट्यो । उसले त्यो ब्वाँसोसँग सोध्यो– “यो जङ्गलमा सबैभन्दा बलवान् को छ ? यो जङ्गलको राजा को हो ?”

बिचरा त्यो ब्वाँसो डराइरहेको थियो । उसले भन्यो, “तपाईं नै सबैभन्दा शक्तिशाली हुनुहुन्छ । तपाईं नै यो जङ्गलको राजा हुनुहुन्छ ।” सिंह मनमनै एकदमै खुसी भयो । अगाडि जाँदै गर्दा बाटामा उसले एउटा खरायोलाई भेट्यो । खरायोसँग पनि उसले त्यही कुरा सोध्यो । खरायोले डराउँदै भन्यो, “तपाईं नै सबैभन्दा बलवान् हुनुहुन्छ । तपाईं नै यो जङ्गलको राजा हुनुहुन्छ ।” आफ्नो प्रशंसा सुनेर सिंह निकै प्रशन्न भयो ।

उसमा अझ केही थप स्फूर्ति बढ्यो । अब त ऊ अझै दम्भका साथ अघि बढ्यो । जाँदा–जाँदा एउटा हात्ती फेला प¥यो । उसले हात्तीका अघि गर्जना गर्दै सोध्यो– “ए हात्ती ! भन, यो जङ्गलको राजा को हो ? यो जङ्गलमा सबैभन्दा बलियो को छ ?”

हात्तीले अचम्म मान्दै सिंहलाई हे¥यो, यो सानो सिंह मलाई यस्तो प्रश्न सोधिरहेको छ ! उसले सिंहलाई आफ्नो सुँडले बेरेर जोडले पछार्न थाल्यो । निकै पटक पछारेपछि उसको अवस्था अत्यन्तै नाजुक भयो । उसले केही समयपश्चात् त्यसलाई छोडिदियो ।
बिचरो सिंह एकदमै विक्षिप्त अवस्थामा पुग्यो । ऊ बिस्तारै उठ्दै हात्तीतिर फर्केर भन्यो– यदि तिमीलाई मेरो प्रश्नको उत्तर थाहा थिएन भने तिमी रिसाउनुपर्ने आवश्यकता नै के थियो र ?”

त्यसपछि पनि ऊ अझै यही नै सोच्दै थियो– “मलाई नै सबै कुरा थाहा छ तर हात्तीलाई मेरो प्रश्नको उत्तर थाहा छैन । त्यसकारण ऊ रिसाइरहेको छ ।” यसरी घमण्डका कारण सिंहले त्यो वास्तविकतालाई स्वीकार गर्न सकेन जुन ऊसँग भइरहेको थियो । हात्तीले उसलाई किन यस्तो ग¥यो भनेर उसले बुझ्नै सकेन !

हाम्रो जीवनमा यही कुरा– माया, मोह, काम, क्रोध, शत्रु बनेर आउँछन् । जसका कारणले हाम्रो जीवन पनि दुःखमय भएर आउँछ । तर, यी कुराभन्दा माथि एउटा चीज छ– जुन तपाईंभित्र छ । त्यसलाई तपाईं चिन्न सक्नुहुन्छ । जुन एकदमै राम्रो छ । चाहे बाहिर जस्तोसुकै परिस्थिति होओस्, दुःख दिने कुरा नै किन नहोओस् तर तपाईंभित्र एउटा चीज छ जुन सुख दिने खालको छ । त्यसलाई सुन्दरता मन पर्छ । त्यो सौन्दर्यलाई अनुभूत गरेपछि मानिस खुसी हुन्छ । अनि, त्यो खुसी दिमागी खुसी होइन, त्यो खुसी हृदयको खुसी हो । त्यो तपाईंभित्रै छ । त्यो सबै मानिसभित्र छ । केवल त्यसलाई चिन्नु र पहिचान गर्नु आवश्यक छ । तपाईंले त्यसलाई चिनेपछि, पहिचान गरेपछि तपाईंको जीवनमा पृथक् किसिमको रौनकता छाउनेछ ।

(यो लेख प्रेम रावतको सन्देशबाट साभार गरी अनुवाद गरिएको हो । उहाँ मानवता र शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागि www.premrawat.com र प्रतिक्रियाका लागि [email protected] लाई प्रयोग गर्न सक्नुहुनेछ ।)

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया